जडीबुटीबाट प्रदेशको समृद्धि सम्भव छ ः प्रदेश प्रमुख कलौनी


कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कर्णालीमा पाइने बहुमूल्य जडीबुटीको सङ्कलन, प्रशोधन र व्यापारबाटै प्रदेशले आर्थिक समृद्धि हासिल गर्न सक्ने बताउनुभएको छ । राष्ट्रिय योग दिवसका अवसरमा प्रदेश आयुर्वेद औषधालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले योग, ध्यान तथा आयुर्वेदका लागि कर्णाली प्रदेश उपयुक्त रहेको बताउनुभयो ।

प्रदेश प्रमुख कलौनीले यार्सागुम्बा, शिलाजित, पखानवेद, चिराइतो, दालचिनी, शिलटिमुर, हर्रो, बर्रो, गुर्जो, लेकतीतो जस्ता यहाँका मूल्यवान जडीबुटीको सङ्कलन, प्रशोधन र व्यापारका माध्यमबाट कर्णालीवासीले आर्थिक उन्नति हासिल गर्नसक्ने धारणा राख्नुभयो ।
बहुमूल्य जडीबुटी सडेर खेर गइरहेकोतर्फ सङ्केत गर्दैै उहाँले भन्नुभयो, “यसका लागि तीन वटै तहका सरकारले जडीबुटीलाई आर्थिक उपार्जनसँग जोड्ने योजना ल्याउनुपर्छ, तबमात्रजनताको जीवनस्तरमा केही सुधार आउन सक्छ ।”

उहाँले योग र ध्यानका लागि नेपाल पवित्र तपोभूमि रहेको भन्दै यही भूमिमा ऋषिमुनि तथा वैद्यले जप, तप, ध्यानका माध्यमबाट नयाँ ज्ञान प्राप्त गरेको ऐतिहासिक सन्दर्भ उल्लेख गर्नुभयो । “योगले शरीर स्वस्थ राखी रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले नियमित योगाभ्यासबाट विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस–१९ र अन्य रोगविरुद्ध लड्न मद्दत गर्छ”, उहाँले भन्नुभयो, “योग र ध्यानका माध्यमले शरीरलाई स्वस्थ बनाउने हाम्रा पूर्वजको खोज, अनुसन्धान र व्यवहारबाट प्रमाणित भइसकेको तथ्य हो, यसलाई आधुनिक चिकित्सा पद्धतिले पनि स्वीकार गरिसकेको छ ।”

प्रदेश आयुर्वेद औषधालयका अध्यक्ष विनोद ढकालले कर्णालीमा योग र ध्यान कार्यलाई उत्पे्ररित गर्न यससम्बन्धी शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । कार्यक्रममा प्रदेश प्रमुखको कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देल, सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, स्वास्थ्य निर्देशनालयका निर्देशक डा रविन खड्कालगायतले योग, ध्यान र आयुर्वेदसँग सम्बन्धित विषयमा आआफ्ना धारणा व्यक्त गर्नुभएको थियो । नेपालमा विसं २०७२ देखि राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । यस वर्ष ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । रासस

प्रतिक्रिया दिनुहोस