बौद्ध धर्मावलम्बीका आस्थाका केन्द्र ऐतिहासिक चरीघ्याङ गुम्बा पुनःनिर्माण सम्पन्न


भीमेश्वर, ५ माघ । भीमेश्वर नगरपालिका– ३ मा अवस्थित बौद्ध धर्मावलम्बीका आस्थाका केन्द्र ऐतिहासिक चरीघ्याङ गुम्बा पुनःनिर्माण सम्पन्न भएको छ ।

विसं २०७२ को विनाशकारी भूकम्पले गुम्बा भत्किएको थियो । पुरातत्व विभागको दुई करोड ७९ लाखमा रुपैयाँको लागतमा गुम्बा पुनःनिर्माण भएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष पाल्साङ लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गुम्बा तुलसी कन्ट्रक्सन भक्तपुरले निर्माण सम्पन्न गरेको हो । ऐतिहासिक एवं पुरातात्विक महत्वको सूचीमा पर्ने यस गुम्बाको पूर्ण निर्माण पुरानै शैलीमा गरिएको छ । गुम्बा निर्माणमा चुना सुर्ती प्रयोग गरी निर्माण गरेका छन् । सालको काठमा विभिन्न थरीको बुट्टा राखी कलात्माक शैलीमा गुम्बा निर्माण भएका छन् ।

यस गुम्बा १६७८ सालमा तत्कालीन राजाले लालमोहोर प्रदान गरेको स्थानीय वृद्ध बताउँछन् । उहाँका अनुसार १८१८ सालको फागुन ९ गते तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रचीन सूचीमा सूचीकृत गर्न लगाइएको इतिहासमा उल्लेख छ ।

जिल्लासदरमुकाम नजिक रहेकाले गर्दा प्रमुख गन्तव्य तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिने स्थानीय बताउँछन् । यस गुम्बाबाट रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत रहेको गौरीशङ्कर हिमाल, शैलुङडाँडा, तामाकोशी नदी, सिन्धुलीगढी, खरिढुङ्गा, कालिञ्चोकलगायतका अन्य क्षेत्रको अवलोकन गर्न सकिन्छ ।

यसका साथै बिहानीपखमा तीन हजार मिटरभन्दामाथि अग्ला पहाडको अवलोकन गरी मनोरञ्जन लिन सकिन्छ । दोलखा घुम्न आउने पर्यटक एकपटक चरीघ्याङ गुम्बा पुग्ने गरेको होटल व्यवसायी चन्द्रकुमार तामाङ बताउनुहुन्छ ।

गुम्बा निर्माणपछि लामा, स्थानीय, पुजारी सबै खुशी भएका छन् । भीमेश्वर नगरपालिकाले चालू आर्थिक वर्षमा आन्तरिक बजेट खर्चबाट गुम्बालाई तारबार गरेकाले निकै आकर्षित देखिएको नगरपालिका प्रमुख भरत केसीले बताउनुभयो ।

यस गुम्बा जिल्लाकै पहिलो गुम्बा भएको स्थानीयको भनाइ रहेको छ भने लामाको पुस्तक (छोई) अनुसार यस गुम्बामा निकै महत्वपूर्ण लामा पुस्तक तथा मूर्तिको भएको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस