प्रतिनिधिसभा विघटनले प्राप्त उपलब्धिमाथि गम्भीर चुनौती थप्यो ः नेपाल


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल –नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनबाट नेपाली कम्युनिष्ट आन्दोलन, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि गम्भीर चुनौती थपिएको बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक तथा भेलालाई सम्बोधन गर्दै उहाँले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धि रक्षा गर्दै प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध लड्ने आँट, साहस र हिम्मत अगाडि बढाउनुपर्ने बताउनुभयो । “अहिले अग्निपरीक्षा शुरु भएको छ, जो सङ्कटका बेला खुट्टा कमाउँछ, त्यसले मुलुक र जनताको हित गर्न सक्दैन”, उहाँले भन्नुभयो, “चुनौती सामान गर्न उच्च मनोबल र दृढ आत्मविश्वास हुनुपर्छ ।”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाल सोमबार अखिल नेपाल महिला सङ्घद्वारा काठमाडौँमा आयोजित केन्द्रीय समितिको पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै । तस्बिर ः रोशन सापकोटा÷रासस

नेपालमा कम्युनिष्ट आन्दोलन जन्माउने, हुर्काउने र अगाडि बढाउनेमा महिलाको सशक्त भूमिका रहेको स्मरण गर्दै उहाँले जनताले प्राप्त गरेको अधिकार कुण्ठित हुँदा चुप लागेर बस्न नहुने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विधान र पद्धति उल्लङ्घन गर्दा पार्टीभित्र समस्या देखिएको उहाँको भनाइ थियो । “प्रधानमन्त्रीले पार्टी विधान उल्लङ्घन गर्नुभयो, पार्टीले उहाँलाई अध्यक्षबाट हटाएको छ, पटकपटक पार्टी अनुशासन उल्लङ्घन गरेकाले उहाँ (ओली) लाई अन्तिम स्पष्टीकरणको पत्र पठाएका छौँ”, उहाँले भन्नुभयो ।

‘बहुमतको निर्णय नमान्दा यो अवस्था’

कार्यक्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त उपलिब्धको रक्षा गर्न फेरि एकजुट भएर सङ्घर्षमा उत्रनुपर्ने बताउनुभयो । उहाँले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धि गुम्न नदिन आन्दोलनमा उत्रनाको विकल्प नभएको स्पष्ट गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “जनताले ७० वर्ष लडेर ल्याएको उपलब्धि रक्षाका लागि सङ्घर्षमा होमिनुको अहिलेको आवश्यकता हो ।” उहाँले प्रधानमन्त्री ओलीका कारण अहिलेसम्म प्राप्त उपलब्धि खतरामा परेको टिप्पणी गर्नुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले पार्टीभित्रको विवाद लिएर पदसँग जोडेर हेर्ने गरिएकामा आपत्ति जनाउँदै पार्टीभित्र विधि र विधानको मात्र विवाद भएको बताउनुभयो । “प्रधानमन्त्री ओलीले पार्टीको निर्णय नमानेर सङ्कटको अवस्था आएको हो”, उहाँले भन्नुभयो । उहाँले पार्टीभित्रको समस्याको विषयमा छलफल नै नगर्ने र बहुमतको निर्णय पनि नमानेको कारण अहिलेको स्थिति आएको बताउनुभयो । पार्टी एकता हुँदा जारी राजनीतिक प्रतिवेदन नै एकताको आधार भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “ नियम र विधि नमान्दा पार्टी विभाजित भयो ।”

अनेमसङ्घका सहइञ्चार्ज कमला रोकाले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षतालगायत उपलब्धि ल्याउन महिलाको भूमिका उल्लेख्य रहेको बताउँदै सरकारको कदमविरुद्ध लड्न फेरि पनि महिला तयार हुनुपर्नेमा जोड दिनुभयो ।
भेलाले अनेमसङ्घका संयोजकमा अमृता थापा र सहसंयोजकमा जयन्ती राईलाई चयन गरेको छ । अनेमङ्घले प्रतिनिधिसभा विघटनविरुद्ध मङ्गलबार राजधानीमा ¥याली निकाल्ने तयारी गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस