महासङ्घको निर्यात प्रवद्र्धन समिति विस्तार


नेपाल उद्योग वाणिज्य महासङ्घले निर्यात समिति विस्तार गरेको छ । कार्यकारिणी समितिका सदस्य मनिषलाल प्रधानको सभापतित्वमा गठित निर्यात प्रवद्र्धन समिति आज विस्तार गरिएको हो । समितिको सहसभापतिमा महासङ्घको कार्यकारिणी समितिका सदस्य नरेशलाल श्रेष्ठ र महासङ्घको वाग्मती प्रदेशका उपाध्यक्ष सविन श्रेष्ठ चुनिनुभएको छ ।

त्यसैगरी समितिका सदस्यमा नेपाल अदुवा उत्पादक तथा व्यवसायी सङ्घका सचिव हेमन्तराज बोहरा, नेपाल पश्मिना उद्योग सङ्घका महासचिव अजयसिंह कार्की, नेपाल हस्तकला महासङ्घका उपाध्यक्ष सनम शाक्य, नेपाल अलैँची व्यवसायी सङ्घका अध्यक्ष राजकुमार कार्की, नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक सङ्घका अध्यक्ष अमृत खड्का, नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घका उपाध्यक्ष समीरविक्रम शाह चुनिनुभएको छ ।

त्यस्तै विशेष आमन्त्रित सदस्यमा बझाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष दानबहादुर सुर्मेली, ललितपुर उद्योग वाणिज्य संङ्घका कार्यकारिणी समिति सदस्य सविनलाल प्रधान, नारायण गोपाल श्रेष्ठ, गलैँचा व्यवसायी दावा शेर्पा, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका कार्यकारिणी समिति सदस्य सुसान्त चचान, नेपाल तयारी पोशाक उद्योग सङ्घको महासचिव अशोक अग्रवाल, महिला उद्यमी महासङ्घ नेपालका रुक्मणिदेवी श्रेष्ठ, नेपाल रत्न तथा आभूषण सङ्घका उपाध्यक्ष सुमन ताम्राकार हुनुहुन्छ ।

समितिमा चुनिएका उद्यमी व्यवसायीलाई महासङ्घका तर्फबाट औपचारिक पत्र हस्तान्तरण गर्नुहुँदै महासङ्घका अध्यक्ष शेखर गोल्छाले मुलुकको निर्यात प्रवद्र्धनमा समितिले सक्रियतापूर्वक कार्य गरी सिङ्गो समितिले निर्यात प्रवद्र्धनका विषयमा विज्ञ समूहका रुपमा काम गर्ने विश्वास आफूले गरेको बताउनुभयो ।

महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले समितिले उद्यमी व्यवसायीले निर्यातका क्रममा भोग्नु परेका समस्याको पहिचान गर्दै समाधानतर्फ सरकारमा ठोस सुझाव दिन सक्रियतापूर्वक लाग्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा महासङ्घका उपाध्यक्ष अञ्जन श्रेष्ठले समितिले निर्यात प्रवद्र्धनका हरेक इस्युमा समितिका तर्फबाट ठोस कार्य गर्ने विश्वास प्रकट गर्दै समितिमा चुनिनुभएका सबैलाई बधाईसहित शुभकामना दिनुभयो ।

प्रतिक्रिया दिनुहोस