निर्वाचन : मतदानस्थल तथा मतदान केन्द्र व्यवस्थापन तयारी


प्रतिनिधिसभाको घोषित निर्वाचनका लागि भक्तपुरमा मतदानस्थल तथा मतदान केन्द्र व्यवस्थापनको तयारी शुरु भएको छ । जिल्ला मतदानस्थल तथा मतदान केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा आइतबार बैठक बसी निर्वाचनको तयारी शुरु गरेको हो ।

बैठकले भक्तपुर नगरपालिका–६ का दुई मतदानस्थललाई एकै स्थानमा सार्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ । साविक वडा नं ५ कार्यालय र बालबोध शान्ति माध्यामिक विद्यालय चोछेंको भवन सानो भएकाले दुईवटै मतदानस्थलका मतदातालाई पायक पर्ने स्थान भक्तपुर नगरपालिका–६ स्थित ख्वप कलेजलाई नयाँ मतदानस्थल कायम गर्न सिफारिस गरेको हो ।

त्यस्तै भक्तपुर नगरपालिका–२ को मतदानस्थल शारदा मावि यालाछेंको स्थान साँघुरो भएको हुँदा भक्तपुर नगरपालिकाको भवनलाई नयाँ मतदानस्थल कायम गर्ने सिफारिस गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर जिसीले जानकारी दिनुभयो । बैठकले भक्तपुर नगरपालिकाकै वडा नं ५ को मतदानस्थल बरदायणी मावि भवगतीस्थानको भवन साँघुरो भएको हुँदा सोही वडाको आदर्श आजाद मावि भेलुखेललाई नयाँ मतदानस्थलका रुपमा कायम गर्न आयोगमा सिफारिस गरेको छ ।

त्यस्तै सूर्यविनायक नगरपालिका–५ को मतदानस्थल महेन्द्र माध्यामिक विद्यालय भवन साँघुरो भएकोले सोही वडाको कटुञ्जे आधारभूत विद्यालयलाई नयाँ मतदानस्थल कायम गर्न सिफारिस गरेको छ । बैठकले मध्यपुरथिमिका पनि दुई मतदानस्थललाई स्थानान्तरण गर्न आयोगमा सिफारिस गरेको छ ।

मध्यपुरथिमि वडा नं ९ स्थित हेल्थपोष्ट थिमि मतदानस्थल साँघुरो भएको हुँदा सोही वडामाको कृषि विकास बैंकको तालीम केन्द्र र वडा नं ३ को मतदानस्थल जनप्रेमी आधारभूत विद्यालय कौशलटारको भवन साँघुरो भएको हुँदा सोही वडामा रहेको आदर्श जनप्रेमी कलेजलाई नयाँ मतदानस्थल कायम गर्न सिफारिस गरेको छ ।

यसैगरी भक्तपुरमा करीब सात हजार ५०० मतदाता थपिने भएको छ । भक्तपुरमा साविकमा एक लाख ७८ हजार ९९ मतदाता रहेकोमा आगामी निर्वाचनमा एक लाख ८५ हजार ५९१ पुग्ने अनुमान गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

एक मतदान केन्द्रमा बढीमा एक हजार मतदाता हुनुपर्ने मापदण्डका कारण भक्तपुरमा आगामी निर्वाचनमा मतदान केन्द्र थपिने भएको छ । साविकमा भक्तपुरमा २०९ मतदान केन्द्र रहेकोमा आगामी निर्वाचनमा ६ केन्द्र थपिने छ । भक्तपुरमा मतदानस्थल भने घट्नेछ । भक्तपुरमा यसअघि ७८ मतदानस्थल रहेकोमा भक्तपुर नगरपालिका– ६ को दुई वटा मतदानस्थललाई एउटै कायम गर्ने निर्णयसँगै मतदानस्थल घट्ने जिसीले बताउनुभयो ।

भक्तपुरमा सबैभन्दा बढी मतदाता मध्यपुरथिमि–३ कौशलटारस्थित जनप्रेमी आधारभूत विद्यालय मतदानस्थलमा छ । त्यहाँ पाँच हजार १७८ मतदाता छन् । त्यसैगरी सबैभन्दा कम चाँगुनारायण नगरपालिका वडा नं २ स्थित आजाद मावि नाप्लामा ९४७ मतदाता छन् ।

मतदाता अद्यावधिक शुरु

चितवन– सरकारले निर्वाचनको मिति तोकेसँगै जिल्ला तहमा निर्वाचनको तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनले जिल्लामा निर्वाचनका लागि मतदाता नामावली अद्यावधिकको काम शुरु गरेको छ ।

कार्यालयले आज यहाँ राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तक्र्रिया कार्यक्रममा अद्यावधिकको काम शुरु भएको जनाएको छ । मतदाता नामावली अद्यावधिक गर्न सातै स्थानीय तहमा कर्मचारी परिचालन गरिएको कार्यालयका प्रमुख जनार्दन अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार माघ १५ देखि २१ गतेसम्म नामावलीमा अद्यावधिकको काम गरिने छ । यसका लागि कर्मचारीलाई तालीम दिइसकिएको छ । जिल्लामा पुस ५ गतेसम्म १८ वर्ष पुगेका तीन लाख ६८ हजार ७४९ जनाको नाम दर्ता भएको छ । ती नामको अद्यावधिक गर्न राजनीतिक दल र स्थानीय निकायलाई सहजीकरणका लागि आग्रह गरिएको छ ।

विसं २०७४ को मतदाताको सङ्ख्यामा अहिले १४ हजार ७१४ जना मतदाता थपिएको छ । सो निर्वाचनमा तीन लाख ५४ हजार ३५ मतदाता थिए । थपिएकाको नामावली अद्यावधिकको कामका लागि सबैले सहयोग गर्न आवश्यक छ । अध्यावधिकका क्रममा नाम दोहोरिएको, मृत्यु भएको र नामावलीमा त्रुटी भएको सच्याइने छ ।

सहायक नाम दर्ता अधिकारी तालीम

सिमकोट– जिल्ला निर्वाचन कार्यालय हुम्लाले आगामी निर्वाचनका लागि सहायक नाम दर्ता अधिकारीलाई तालीम दिएको छ । पहिलो कार्यक्रमका रुपमा मतदाता अद्यावधिक गर्नका लागि अभिमुखीकरण तालिम सम्पन्न पश्चात आइतरबार नै उनीहरुलाई सातवटै गाउँपालिकामा पठाइएको छ । सार्वजनिक कार्य तालिका अनुसार काम अगाडि बढाउन प्रत्येक गाउँपालिकाबाट एक एक जना गरेर सात वटै गाउँपालिकाबाट सिमकोट पुगेका सात कर्मचारीलाई जानकारी गराएर गाउँ फिर्ता भएको निर्वाचन कार्यालय हुम्लाका प्रमुख महेश कुमार थापाले जानकारी दिनुभयो ।

कार्यक्रम अनुसार माघ १६ र १७ गते मतदाता नामावली अद्यावधिक गर्ने, नाम हटाउने, नाम सच्याउने, दाबी विरोध गर्ने छ । सबै गाउँपालिकाका एक सहायक नाम दर्ता अधिकारीलाई तालीम दिइएको जिल्ला निर्वाचन अधिकारी थापाले जानकारी दिनुभयो ।

लहान– जिल्ला निर्वाचन कार्यालय सिरहाले निर्वाचनको तयारी थालेको छ । आयोगको तालिका अनुसार मतदाता नामावली अद्यावधिक कार्य अगाडि बढाइएको जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख इन्दिरा यादवले जानकारी दिनुभयो । सिरहामा मतदाता नामावली अद्यावधिक माघ १५ देखि २१ गतेसम्म गरिने छ ।

माघ १५ गते प्रत्येक स्थानीय तहमा मतदाता नामावली प्रकाशन गरिने, माघ १६ र १७ गते त्रुटि सच्याउन निवेदन दिने, झुठा विरणविरुद्ध उजुरी दिने, दोहोरो नामावली हटाउन निवेदन दिने, मृत्यु वा नागरिकता परित्याग गरेको मतदाताको स्थानीय पञ्जिकरणबाट नामावली सङ्कलन गरिने, माघ १८ र १९ गते उजुरीउपर सफाइको मौका दिइने कार्यतालिका छ ।

यस्तै माघ १८ देखि २० गतेभित्र निवेदनका आधारमा त्रुटि सच्याउने, दोहोरो नामावली हटाउने, स्थानीय पञ्जिकरणबाट प्राप्त मृतक मतदाताको नामावली निर्वाचन आयोगमा पठाउने, माघ २० गते दाबी विरोध उजुरी उपर कारवाही गरिने र माघ २१ गते मतदाताको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम तय भएको छ ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला निर्वाचन कार्यक्रम व्यवस्थापन तथा अनुगमन समितिको बैठकले निर्धारित कार्यक्रमलाई सफल बनाउन सिरहाको १७ वटै स्थानीय तहमा एक÷एक सहायक निर्वाचन अधिकृत छनोट गरी खटाइनेछ । सो समितिले जिल्लामा मतदाता केन्द्र र मतदानस्थलको निर्धारण गर्ने छ । जिल्ला निर्वाचन कार्यालय सिरहाका अनुसार गत २०७४ मङ्सिरमा भएको निर्वाचनमा कूल तीन लाख ४४ हजार ३७० मतदाता रहेका थिए ।

डोटीमा मतदाता थप

डोटी– जिल्लामा कम्तीमा दश प्रतिशत मतदाता थपिने भएका छन् । निर्वाचनका लागि कार्यालयले तयारी थालेको छ । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार विसं २०७४ मा भएको निर्वाचनभन्दा आगामी हुने निर्वाचनमा १० प्रतिशत बढी मतदाता थपिने भएका हुन् ।

विसं २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा ५७ हजार ४०० महिला र ४९ हजार १४३ पुरुष गरी एक लाख छ हजार ५४३ मतदाता थिए । आगामी निर्वाचनमा मतदाता सङ्ख्या एक लाख १७ हजार ६१७ रहने अनुमान कार्यालयको छ ।

प्रतिक्रिया दिनुहोस