‘सूचना प्रविधि लगानी सम्मेलन’ आयोजना गरिने


सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले डिजिटल नेपाल फ्रेमवर्कलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्रालयद्वारा यहाँ आज आयोजित डिजिटल नेपाल फ्रेमवर्कसम्बन्धी अन्तरक्रियामा सरकारका प्रवक्ता गुरुङले नेपाललाई विकसित र शक्तिशाली राष्ट्रसँग प्रतिस्पर्धा गरेर अघि बढ्नका लागि डिजिटल नेपाल फ्रेमवर्कलाई सफल र प्रभावकारी ढंगले अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले डिजिटल नेपाल फ्रेमवर्क रुपान्तरणकारी कार्यक्रम भएको उल्लेख गर्दै त्यसलाई सफल बनाउने गरी सरकारलाई सहयोग गर्न सरोकार निकायलाई आग्रह गर्नुभयो । मन्त्री गुरुङले भन्नुभयो,“सूचना र प्रविधिका क्षेत्रमा पनि विकसित र शक्तिशाली राष्ट्रसँग प्रतिस्पर्धा गरेर अघि बढ्नाको विकल्प छैन, सूचना र प्रविधिको विकासका लागि सरकारलाई सहयोग गर्न सरोकारवाला सबैलाई आग्रह गर्दछु ।”

मन्त्री गुरुङले डिजिटल नेपाल फ्रेमवर्कलाई सफल बनाउन सरोकार निकायसँगको सहकार्यमा जोड दिइने नीति लिएको बताउँदै सरकारले सूचना र प्रविधि क्षेत्रको विकासका लागि अन्तरराष्ट्रियस्तरको ‘सूचना प्रविधि लगानी सम्मेलन’ आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । मन्त्री गुरुङले विज्ञको रायसुझाव ग्रहण गरेर सूचनाप्रविधिको विकासको कामलाई तीव्रता दिन मन्त्रालयले विज्ञको रोष्टर बनाउने कामलाई अन्तिम चरणमा पुु¥याएको पनि जानकारी दिनुभयो ।
सो अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनको कामलाई प्रभावकारी बनाउन सरोकार निकायसँग सहकार्य गरेर अघि बढ्न मन्त्रालय तयार रहेको बताउनुभयो । विज्ञले सूचना प्रविधिको विकासका लागि कानूनी, नीतिगत र लगानीमैत्री वातावरण निर्माण गरिदिन मन्त्री गुरुङको ध्यानाकर्षण गराउनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस