निर्यात सहजीकरणका लागि ‘नेपाल ट्रेड इन्फरमेसन पोर्टल’


व्यवसायसम्बन्धी सम्पूर्ण आवश्यक सूचना सहज तथा सरलरुपमा एकै थलोबाट उपलब्ध गराउने उद्देश्यले ‘नेपाल ट्रेड इन्फरमेसन पोर्टल’को शुभारम्भ गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहान आयोजनाअन्तर्गत विश्व बैंकको सहयोगमा उक्त पोर्टल सञ्चालनमा ल्याइएको हो । पोर्टलको आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शुभारम्भ गर्नुभयो । नेपालको निर्यात व्यवसायसम्बन्धी सम्पूर्ण जानकारीलाई एकद्वार प्रणालीबाट सम्प्रेषण गर्न व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले उक्त पोर्टलको शुरु गरेको हो ।

सम्पूर्ण व्यवसायी तथा व्यवसायसँग सरोकार राख्ने निजी सङ्घ, संस्था तथा सरकारी निकायलाई सूचना उपलब्ध गराउन उक्त पोर्टल सञ्चालनमा ल्याइएको केन्द्रले जनाएको छ । nepaltradeportal.gov.np तथा एनटिआइपी मोबाइल एपबाट सहजरुपमा सेवाग्राहीले प्रयोग गर्न सक्ने केन्द्रले जनाएको छ । पोर्टलबाट व्यापार व्यवासय गर्न चाहनेलाई अपनाउनुपर्ने विधि र प्रक्रियाका बारेमा जानकारी प्रवाह हुने, विश्वको कुनै पनि कुनामा बस्ने सेवाग्राहीले नेपाली निर्यातयोग्य वस्तुको माग र पोर्टलमा प्रविष्ट भएका वस्तु एवं व्यावसायिक प्रोफाइल सहजरुपमा प्राप्त गर्न सक्नेछन् ।

यसबाट नीति निर्माता, सरकारी एवं निजी क्षेत्र तथा वाणिज्य क्षेत्रको अध्ययन तथा अध्यापन गर्नेलाई सहयोग पुग्ने केन्द्रले विश्वास लिएको छ । विश्व व्यापार सङ्गठनको व्यापार सहजीकरण ऐनको दफा १ र २ मा सूचनाको पारदर्शिता उल्लेख भएबमोजिम यसमा समावेश गरिएको केन्द्रले जनाएको छ ।

यस पोर्टलमा निर्यात व्यापारसँग सम्बन्धित व्यवासय शुरु गर्न साधारण सूचनादेखि निर्यातका लागि वस्तु बजार र त्यसका लागि आवश्यक पर्ने नीति, नियम, प्रावधान, निर्यातकर्ता एवं सेवा प्रदायकको विवरण, निर्यातयोग्य वस्तुको विवरणका साथै व्यापारसँग सम्बन्धित सूचना, नेपालको वैदेशिक व्यापारका करिब एक दशक अघिदेखिको तथ्याङ्क समावेश गरिएको छ ।

निर्यातकर्ताले निर्यात गरिएको वस्तुको विवरण, सेवा प्रदायकको विवरण आफँै पोर्टमा प्रविष्ट गर्ने व्यवस्थासमेत रहेकाले भविष्यमा व्यापार अभिवृद्धिमा सहयोग पुग्ने केन्द्रले विश्वास लिएको छ । पोर्टलबाट व्यापारसँग सम्बन्धित विषयको प्रचारप्रसार तथा बजारीकरणका लागि समेत कार्य गर्नेछ ।

पोर्टलको शुभारम्भ गर्दै मन्त्री भट्टले निजी क्षेत्रलाई सहजीकरण गर्नेमा सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो । उहाँले आयात निर्यातमा देखिएको समस्यासँगै समस्या समाधानको उपाय पनि ल्याउन निजी क्षेत्रसँग आग्रह गर्नुभयो । वाणिज्यसम्बन्धी नीति निर्माणमा भएका कमीकमजोरीका बारेमा सरकारलाई सुझाव दिन आग्रह गर्दै उहाँले निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

वाणिज्य सचिव डा वैकुण्ड अर्यालले व्यापारमा सहजीकरण गर्ने उद्देश्यले सरकारले उक्त पोर्टल सञ्चालनमा ल्याएको र यसबाट अधिकतम लाभ लिन आग्रह गर्नुभयो । “यो प्रयोग गर्न निकै सजिलो छ, इन्टरनेटको पहुँचमा भएका व्यक्तिले सहजै प्रयोग गर्न सक्छन्”, उहाँले भन्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले व्यापार सहजीकरणमा प्रविधिको प्रयोगले सघाउ पुग्ने बताउनुभयो । मुलुकको व्यापार घाटा न्यूनीकरण गर्न निर्यात प्रवद्र्धनका साथै आयात प्रतिस्थापनमा सबै व्यवसायीको ध्यान जानुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले पोर्टल सञ्चालनमा आएसँगै निकासी प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुगेको बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस