चुनावी गतिविधि बढाउँदै जिल्ला निर्वाचन कार्यालय इलाम


इलाम, ६ फागुन । सरकारले आउँदो वैशाखको १७ र २७ लाई प्रतिनिधिसभाको चुनाव तोकेको छ । यसका लागि जिल्ला निर्वाचन कार्यालयले चुनावी गतिविधिबारे बुझ्न थालेको छ । केही दिनअघि नै मतदान केन्द्र र मतदानस्थल बारेमा अनुगमन गरेको कार्यालयले अहिले सरोकारवाला निकायसँग परामर्श थालेको छ । कार्यालयले सरोकारवालासँग चुनावी आचारसंहिता, चुनावी गतिविधिबारे जानकारी लिन÷दिन थालेको छ ।

अब बन्ने आचारसंहिताको मस्यौदामा सामाजिक सञ्जालमार्फत गरिने चुनावी प्रचारप्रसारदेखि भोट माग्न जाने उम्मेदवारले प्रयोग गर्ने सवारीसाधनको सङ्ख्यालगायतमा विभिन्न व्यवस्था गरिँदैछ । राजनीतिक दल र उम्मेदवारले प्रयोग गर्ने निर्वाचन प्रचारका सामग्रीमा पनि यसअघि भन्दा केही संशोधन गरी आचारसंहिता तयार हुँदैछ । चुनाव प्रचारमा नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री, स्थानीय तहका जनप्रतिनिधि संलग्न हुन नहुने, उनीहरूले चुनावी प्रचारका लागि सार्वजनिक तथा निजी यातायातका साधनसमेत प्रयोग गर्न नपाउनेलगायतको व्यवस्था आचारसंहितामा गरिँदैछ । यसअघि उम्मेदवारले चारपाङ्ग्रे हलुका सवारी साधन बढीमा चार वटासम्म प्रयोग गर्नसक्ने व्यवस्था रहेकामा अब दुई वटामात्रै प्रयोग गर्न पाउने प्रस्ताव मस्यौदामा छ ।

यसअघि जारी आचारसंहिताभन्दा केही फरक व्यवस्थासहित नयाँ आचारसंहिता तयार गर्न आयोग जुटेको जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले बताउनुभयो । -रासस

प्रतिक्रिया दिनुहोस