छोटा कविताको सँगालो ‘सम्बोधि’ बजारमा


–प्रकृति अधिकारी

मैले हेरेँ

‘सानो कविताको झ्यालबाट सानो संसार ।’

साहित्यकार नरेश शाक्यको नयाँ काव्यकृति ‘सम्बोधि’ बजारमा आएको छ । प्रकृति, प्रेम, राजनीति, दर्शन आदि विषयका ४१९ वटा कविता सो कृतिमा समाविष्ट छन् । ती कविता कुनै तीन, कुनै चार र कुनै पाँच हरफका छन् । हाइकू, तान्का शैलीका छोटा यस्ता कवितामा ठूलो भाव र विचार कविले दिन खोजेका छन् ।

सम्बोधिमा समावेश भएका लघुकविता गोलढुङ्गाको पुरानो गुजेश्वरीको बसाइमा लेखिएका हुन् । उहाँ त्यहाँ बस्दा गम्भीर बिरामी भएर मोडेल अस्पतालमा उपचार गराएर फर्किएपछि लेखिएको काव्य हो । आकृतिप्रकृति प्रकाशक रहेको यस कृतिको भूमिकामा लेखक सहप्राध्यापक एवम् समालोचक डा हरिप्रसाद सिलवालले कृतिमा असमानताका असरल्ल अनुहारलाई कविताको कला र विचारको बाढीले बगाउँदै र पाइलापाइलामा फुत्किन खोजेका जिन्दगीका धागाहरूमा आशाका रेखाहरू कोरिएको जनाउनुभयो ।

प्रस्तुत लघुकवितामा सशक्त सौन्दर्य चिन्तन झुल्केको छ । मानवलाई मानव भएर बाँच्न दिनुपर्छ अनि वर्गीय उत्पीडनको अन्त्य हुनुपर्छ भन्ने प्रगतिवादी विचारलाई कवि शाक्यले आफ्ना कवितामा आलोकित गर्नुभएको छ । समाजमा रहेका अँध्यारा र उज्याला पक्षहरूको चिरफार गरी जीवनका वास्तविक अनुभूतिलाई सङ्ग्रहमा प्रस्तुत गरिएको उहाँको टिप्पणी छ ।

प्रकाशकका तर्फबाट वैरागी जेठाले कवि शाक्यको सग्लो जीवन अध्ययन गर्दा मानवहृदय पग्लने जनाउनुभएको छ । विसं २०२२ मा बिए उत्तीर्ण कवि जागिरको शिलसिलामा पूर्वी पहाडको विकट गाउँमा पुग्नुभयो । वैचारिक धरातलमा उभिनुभएका कवि राजनैतिक दृष्टिकोणले नेकपा (माले)सँग आबद्ध हुनुहुन्थ्यो । पार्टी सङ्गठनको क्रियाकलापमा पनि सक्रिय रहनुभएका उहाँको वामपन्थी सर्जकहरूसँग घुलमिल भइरह्यो । मानसिक रोगले ग्रस्त हुनुभएपछि पार्टीका साथीसँग उहाँको सम्बन्ध विच्छेद भयो । समकालीन साथीहरूसँग टाढा हुन पुग्नुभएका कवि शाक्यले उपचारका क्रममा धेरै दुःख भोग्नुभएको छ । काठमाडौँ आएपछि पाटन मङ्गलबजारमा रहेको पुरानो प्राइभेट स्कूलमा शिक्षण पेशामा लाग्नुभएका उहाँ निकै बिरामी भएपछि अध्यापन गराउन छाड्नुभयो ।

कविका हात गोडाहरू लुगलुग काम्छन् । कविको जीवन अवस्था हेरेर कृतिका रूप दिने र उहाँको मनको चाहनालाई उद्धार गर्ने उद्देश्यले आफूले यो कृति प्रकाशन गरिएको साहित्यकार जेठाले जानकारी दिनुभयो । कृति पढेपछि पाठकलाई नयाँ स्वाद दिने उहाँले जिकिर गर्नुभयो ।

कृतिकार शाक्यले सानासाना कविताबाट आफूले संसारलाई चियाउन खोजेको बताउनुभयो । यसअघि प्रगतिशील साहित्यकार शाक्यका सात वटा कृति प्रकाशन भइसकेका छन् । सम्बोधि आठौँ कृति हो । कवि शाक्यका कवितामा दशर्न भेटिन्छन् । कवितामा उहाँ थोरै शब्दबाट धेरै मानवता बोध गराउने शक्ति प्रदर्शन गराउनुहुन्छ ।

‘सूर्यले आफ्नो तप्त अधरले

वसुधालाई चुमिदियो

उसको योवनाङ्गमा

प्रेमको स्पर्श गरिदियो’

सोइनाले रचिन् इतिहास

बाल वाङ्गमय तथा अनुसन्धान केन्द्रको यही फागुन ८ गते भएको साधारणसभामा १० वर्षीया सोइना दाहालले लेखेको कृति ‘मेरा दृष्टिमा एक्काइस बालकथाहरू’को विमोचन गरिएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्य, बालसाहित्य समाजका अध्यक्ष ध्रुव घिमिरे र उपाध्यक्ष प्रमोद प्रधान, विजयराज आचार्यलगायतले संयुक्तरूपमा कृति विमोचन गर्नुभएको थियो । कृतिमा २१ बालकथाको समीक्षा गरिएको छ । नेपाली बालसमीक्षाको इतिहासमै यस्तो कृति हालसम्मकै पहिलो भएको आयोजक संस्थाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस