कन्या गुरुकुलमलाई प्राइम बैंकको सहयोग


प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देवघाटस्थित रामजानकी गार्गी कन्या गुरुकुलमलाई सहयोग गरेको छ । गुरुकुलमको योग, ध्यान एवं साधना गर्ने भवन निर्माण सम्पन्न गर्न रु चार लाख सहयोग गरेको हो । बैंकका भरतपुर शाखा प्रबन्धक पदमराज पौडेलले गुरुकुलमका कार्यवाहक अध्यक्ष शान्तप्रसाद पोख्ररेललाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । काठमाडौँको लाजिम्पाट निवासी बिमला मानन्धरले गुरुकुलमा छ क्विन्टल चामल, ६० किलो दाल र ३० लिटर तेल उपलब्ध गराउनु भएको अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।

प्रबन्धक पौडेलका अनुसार बैंकले हरेक वर्ष सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक सङ्घ संस्थालाई सहयोग गर्दै आएको छ । गुरुकुलमको यो महत्वपूर्ण काममा बैंकले साथ दिएको उहाँले जानकारी दिनुभयो । सो गुरुकुलममा हाल ६० जना बालिका रहेका छन् । उनीहरूलाई संस्कृत पढाइँदै आएको छ । संस्थाका सदस्य सिर्जना अर्यालले यो गुरुकुल नेपालकै नमूना भएको बताउनुभयो । उहाँले भन्नुभयो, “छोरीलाई संरक्षणसहित यस ढङ्गले शिक्षा दिएको यो नमूना गुरुकुल हो ।”

चार सहकारी एकीकरण

जिल्लाका चार सहकारी एकीकरण भएका छन् । दिपज्योति अभिवृद्धि, चित्रवन, हाम्रो माइती र मोडल बचत तथा ऋण सहकारी संस्था मिलेर हाम्रो चित्रवन नामक संस्था बनेको हो । भरतपुर महानगरपालिका–११ को दिपज्योति अभिवृद्धि, वडा नं ७ को चित्रवन, वडा नं १२ को हाम्रो माइती र वडा नं १० को मोडल एकीकरण भएर बनेको हाम्रो चित्रवनको भरतपुर महानगर र रत्ननगर नगरपालिका कार्यक्षेत्र भएको छ । यसैगरी इच्छाकामना गाउँपालिका–७ समेत कार्यक्षेत्रमा परेको छ ।

हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत उमेश पौडेलका अनुसार चार सहकारी एकीकरण भएसँगै यसको सदस्य सङ्ख्या १० हजार ४४ पुगेको छ । सदस्य दिनहुँ बढ्ने भन्दै उहाँले माघ मसान्तमा दिपज्योतिको तीन हजार ५६८, चित्रवनको पाँच हजार १५३, हाम्रो माइतीको ८१३ र मोडलको ५११ रहेको जानकारी दिनुभयो ।

चार सहकारी एकीकरणपछि शेयर पूँजी रु १२ करोड, कूल पूँजी रु एक अर्ब २४ करोड पुगेको छ । एकीकरणपछि दिपज्योतिका पूर्व अध्यक्ष तेजेन्द्र खड्काको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति र तीन सदस्यीय लेखासमिति बनेको छ । एकीकरणसँगै दिपज्योतिको केन्द्रीय कार्यालय बनेको छ । संस्थाका अध्यक्ष खड्काले सदस्यको हिसाबले यो सहकारी जिल्लाकै सबैभन्दा ठूलो सहकारी बनेको बताउनुभयो । अन्य तीनवटा सहकारीलाई यसैमा एकीकरणका लागि अनौपचारिक कुराकानी भइरहेको उहाँको भनाइ छ ।

पूँजीको हिसाबले पनि अग्रणी संस्थाको रुपमा विकास गर्न आफू लागिरहेको खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी यस संस्थालाई जिल्लाको अग्रणी संस्थाको रुपमा विकास गर्दैछौँ ।” एक पालिकाभन्दा बढी कार्यक्षेत्र भएको सहकारीको नियमन प्रदेश मन्त्रालयले गर्ने गर्दछ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय वाग्मती प्रदेशबाट हाम्रो चित्रवनले एकीकरण अनुमति प्राप्त गरेको हो । खड्काको भनाइमा चैतबाट एकीकृत कारोवार गर्ने गरी काम अघि बढिरहेको छ ।

भरतपुर महानगरपालिकाको शहरी तथा रोजगार प्रवद्र्धन शाखा प्रमुख रामबाबु पौडेलका अनुसार यहाँका १० सहकारीले एकीकरणका लागि अनुमति लिएका छन् । जिल्लामा ७५० हाराहारी बचत सहकारी रहेका छन् । महानगर अन्तर्गत ३४९ छन् । तीमध्ये ३३ वटा सहकारीको कार्यक्षेत्र एक भन्दा बढी पालिकामा रहेको छ । पछिल्लो समय सहकारी एकीकरण हुने क्रम बढ्दै गएको उहाँले जानकारी दिनुभयो । जिल्लामा रहेका युनिक र स्वर्णलक्ष्मीको कारोवार रु एक अर्ब भन्दा माथिको भएको पौडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस