मोरङमा बिहे घरमा आक्रमण र लुटपाट, ४ जना घाइते (भिडियोसहित)


उर्लाबारी । मोरङको केराबारीस्थित एउटा बिहे घरमा शनिबार बिहान मच्चाइएको आक्रमण र लुटपाटको घटनामा बेहुलीका बुवासहित चार जना घाइते भएका छन् । केराबारी गाउँपालिका–७ नर्कटेमा गुण्डागर्दी गर्ने समूहले मदिरा सेवन गरेर साङ्घातिक हमला गरेको हो ।

स्थानीय भगीमान लिम्बूको घरमा आक्रमण गर्दै २०÷२५ जनाको समूह बिहे घरबाट पैसा र सुनचाँदीका गरगहना लुटेर फरार भएको छ । भगीमानकी छोरी २३ वर्षीया सम्झना लिम्बू र नुवाकोट घर भएका सुदीप राईबीच बिहेको कार्यक्रम समापन भइसकेर सबै जना सुतिसकेपछि आएको समूहले एक्कासि आक्रमण गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । उनका अनुसार आक्रमणबाट बेहुलीका बुवा ५९ वर्षीय भागीमान, दिदी ३० वर्षीया सविना लिम्बू ९राई०, कान्छा मामा केराबारी–९ का ४५ वर्षीय भगत याक्खा र बिहेमा बेहुलातर्फबाट जन्ती आएका भोजपुरको भोजपुर नगरपालिका–७ का ३३ वर्षीय रमेश राई घाइते भएका छन् ।

सबैको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये बेहुलीका बुवा भागीमान र मामा भगतको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको टाउको, खुट्टा, हात, अनुहार लगायत शरीरका विभिन्न भागमा गहिरो चोट रहेको एसपी खड्काले बताए । खुकरी प्रहार गरिएका भागीमानको टाउकोमा १३ टाँका लगाइएको छ । दायाँतर्फको करङबाट भालाले रोपिएका भगतको फोक्सोमा पनि चोट लागेको उपचारमा संलग्नले चिकित्सकले बताएको प्रहरीको भनाइ छ । बेहुली, बेहुला लगायत बिहे घरमा रहेका अरु भने भागेर आक्रमणबाट बचेका छन् ।बिहे सकिएकाले बेहुलीका घरका सबै जना र जन्ती आएकाहरु साउण्ड सिस्टम बन्द गरेर सुतिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस