लडेर गम्भीर घाइते पत्रकारको उद्धार हुन सकेन


बाजुराको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–१ बिच्छ्यामा आइतबार घट्टेबगर खोलामा लडेर गम्भीर घाइते भएका पत्रकारको उद्धार हुन सकेको छैन ।

एक सातादेखि उक्त क्षेत्रमा समाचार सङ्कलनका लागि गएका रेडियो नेपाल र नेपाल समाचारपत्र दैनिकमा कार्यरत पत्रकार तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दयाराम पण्डित सोही गाउँपालिकाको घट्टे बगरको खोलामा रहेको काठेपुलको फोटो खिच्ने क्रममा लडेर घाइते भएको नेपाल प्रेस युनियन बाजुराका सचिव प्रशान्तराज जोशीले जानकारी दिनुभयो ।

उहाँले दिएको जानकारीअनुसार दिउँसो काठेपुलको फोटो खिच्ने क्रममा चिप्लिएर करीब २० मिटर तल खसेर टाउको र शरीरका अन्य भागमा चोट लागेको छ । घाइते भएपछि स्थानीय र कुन्ना प्रहरी चौकीले उद्धार गरी बिच्छ्या स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

टाउकामा चोट लागेकाले थप उपचारका लागि जिल्लामा सम्भव नभएकाले बाहिर लैजानुपर्ने स्वास्थ्य चौकीले जनाएको छ । टाउकाको सिटीस्क्यान गर्नुपर्ने भएकाले जिल्लामा उपचार सम्भव नहँुदा अवस्था गम्भीर रहेको स्वास्थ्य चौकीले जानकारी दिएको छ ।

दुर्गममा रहेकाले हेलिकप्टरमार्फत उद्धारका लागि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालय र नेपाल प्रेस युनियन केन्द्रीय समितिलाई पहल गर्न आग्रह गरिएको प्रेस युनियनका अध्यक्ष प्रेमबहादुर रौलेले बताउनुभयो ।

कोल्टीमा बस पुग्यो

जिल्लाको पूर्वीउत्तरी भेगको कोल्टीमा आइतबार बस पुगेको छ । कोल्टी क्षेत्रमा स्थानीयलाई सहजरुपमा यातायातको पहुँचमा पु¥याउन र सुविधाका लागि पहिलो पटक आइतबार मिनी बस सञ्चालनमा ल्याइएको स्थानीयवासी लालबहादुर रोकायाले बताउनुभयो ।

मार्तडी हुँदै कोल्टीमा पहिलोपटक बस पुगेको हो । कोल्टीमा पहिलोपटक बस पुगेपछि त्यहाँका स्थानीयवासी खुशी भएका छन् । कोल्टीमा बस पुगेसँगै नियमितरुपमा कोल्टी हँुदै हुम्लासम्म नियमित यातायात सञ्चालनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस