जग्गाधनी पुर्जा पाउँदा औधि खुशी


पुस्तौँदेखि भोगचलन गर्दै आएको जमिनको लालपुर्जा पाएपछि सिरहाको गोलबजार नगरपालिका–१२ बेतौना स्थानीयवासी औधी खुशी भएका छन् । भोगचलनमा रहेको गाउँब्लक जमिनको नापी कार्यालयले गाउँमै पुगेर लालपुर्जा बाँडेपछि स्थानीयवासी खुशी भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले स्थानीयवासीलाई लालपुर्जा हस्तान्तरण गर्दै नापीका कर्मचारीले लामो समयको नाँपजाँचपश्चात तयार पारेको पुर्जा स्थानीयवासीलाई वितरण गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

वर्षौँदेखि बस्दै आएको जमिनको धनीपुर्जा पाएपछि आफूलाई औधी खुशी लागेको स्थानीयवासी साहिद हुसैनको भनाइ छ । “बस्दै आएको गाउँब्लक जग्गामा ठूलो रकम खर्च गरेर घर निर्माण गरेको छु”, उहाँले भन्नुभयो, “त्यो जग्गाको अहिले मालिक बन्न पाउँदा असाध्यै खुशी छुँ ।”

वडाका ३७० घरधुरीलाई जग्गाधनी प्रमाण पुर्जा प्रदान गरिने वडाध्यक्ष गणेश मुखियाले जानकारी दिनुभयो । अझै केही विवादित अवस्थाका जमिनको लागि पनि पहल भइरहेको उहाँले बताउनुभयो । नापी कार्यालयका प्रमुख सुभानन्द चौधरीले ६० दिनसम्म उजुरबाजुर दिन सक्ने समय रहेकाले पुर्जामा कुनै समस्या देखापरेमा नापी कार्यालयमा सम्र्पक गरी आफ्नो काम सहजपूर्वक गराउन सबैसँग आग्रह गर्नुभयो । प्राप्त गरेको ६० दिनपछि मात्र यो प्रमाण पुर्जा अन्य प्रयोजनमा प्रयोग गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

पूर्वपश्चिम राजमार्गको स्तरोन्नति तीव्र

पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति कार्यले तीव्रता पाएको छ । राजमार्गमा बढ्दो सवारी चापलाई दृष्टिगत पूर्वपश्चिम राजमार्गलाई स्तरोन्नति गरी ६ र ४ लेनको सडक निर्माण गर्न लागिएको हो ।

सप्तरीको कञ्चनरुप नगरपालिकाबाट सिरहाको कमला नदीसम्मको सडकलाई चार र छ लेनमा स्तरोन्नति गर्ने काम अघि बढाइएको कञ्चनपुर–कमला सडक आयोजनाले जनाएको छ । सडक स्तरोन्नतिअन्तर्गत पहिलो चरणमा सिरहाको लहान नगरपालिका–११ बाट धनगढीमाई नगरपालिकासम्म सडकमा काम तीव्ररूपमा अघि बढ्दा सिरहावासी खुशी छन् ।

“साँघुरो सडकमा सवारी साधनको चाप बढ्दै जाँदा दैनिक सवारी दुर्घटना बढी हुने गरेको छ”, सिरहाको लहान नगरपालिका–११ का राजेन्द्र चौधरीले भन्नुभयो, “सडक विस्तारपछि सवारी दुर्घटनामा कमी आउँछ र सडक पनि फराकिलो हुन्छ ।” सडक विस्तारले पूर्व–पश्चिम राजमार्गमा हुने सवारी जामसमेत घट्ने उहाँको विश्वास छ । हाल दुई लेनको र पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति कार्यअन्तर्गत बजार क्षेत्रमा छ लेन र बाहिर क्षेत्रमा चार लेनको सडक निर्माण गरिने कञ्चनपुर–कमला सडक आयोजना सिरहाका इञ्जिनीयर मनोजकुमार मण्डलले जानकारी दिनुभयो ।

पूर्व सप्तरीको कञ्चनपुरबाट सिरहाको कमलासम्म ८७ किलो मिटरको सडक स्तरोन्नति गर्न चिनियाँ रेल्बे नम्बर–२ इञ्जिनीयर ग्रुप कम्पनी लिमिटेडलाई ठेक्का दिएको हो । अगामी तीन वर्षभित्र एशिएन हाइवे स्तरको निर्माण सम्पन्न गरिने सो सडक निर्माणका लागि नेपाल सरकार र चिनियाँ रेल्बे नम्बर–२ इञ्जिनीयर ग्रुपबीच सन् २०२० जुन २५ मा सम्झौता भएको थियो ।

सम्झौता भएसँगै निर्माण तीव्ररूपमा अघि बढाइएको निर्माण कम्पनीले जनाएको छ । सडक स्तरोन्नतिअन्तर्गत ५४ नयाँ पुल र सिरहाको लहान तथा मिर्चैयामा गरी दुई स्थानमा आकाशे पुलसमेत निर्माण गरिने इञ्जिनीयर मण्डलले बताउनुभयो । यसका साथै विभिन्न आठ स्थानमा अण्डरपाससमेत बनाइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस