क्यान्सरपीडित २३ वर्षीया सविताले गरिन उपचारमा सहयोग गर्न अपिल


हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारकी २३ वर्षीया सविता थापाले क्यान्सरको उपचारका लागि सहयोगको याचना गर्नुभएको छ ।

शिक्षण अस्पताल काठमाडौँले निधारमा भएको क्यान्सरको उपचारका लागि कम्तीमा रु १० लाख खर्च लाग्ने बताएपछि सविताले सहयोगको याचना गर्नुभएको हो ।

करिब सात महिनाअघि क्यान्सर पहिचान भएको पीडित सविताको हाल शिक्षण अस्पताल काठमाडौँमै उपचार भइरहेको छ । क्यान्सर निदानका लागि सवितालाई किमो दिने तयारी भइरहेको पीडित सविताका आफन्त सन्तोष राईले बताउनुभयो ।

क्यान्सर रोगले पीडित बनेकी हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारकी २३ वर्षीया सविता थापा । निधारमा भएको क्यान्सर उपचार गर्न शिक्षण अस्पताल काठमाडौँले रु दश लाख खर्च लाग्ने बताएपछि सविताले सबैसँग आर्थिक सहयोगको याचना गर्नुभएको छ । तस्वीर ः केदार मगर÷रासस

गत भदौमा निधारभन्दा केहीमाथि निस्किएको फोका बढ्दै गएपछि परीक्षणका क्रममा सवितालाई क्यान्सर भएको पुष्टि भएको थियो । निधारमाथि निस्किएको मासुको फोका क्रमशः बढ्न थालेपछि उनी गत मङ्सिरमा १४ हजार ऋण काढेर उपचारका लागि काठमाडौँ पुग्नुभएको थियो ।

काठमाडौँमै रहनुभएकी दिदीसँग अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराउन पुग्नुभएकी सवितालाई शल्यक्रिया गर्न रु तीन लाख खर्च लाग्ने बताएपछि खर्च जम्मा गर्न नसक्ने भन्दै कोठा फर्किनुभएको थियो । क्यान्सर भएको पुष्टि भएपछि सविता गत फागुन ११ गतेदेखि शिक्षण अस्पतालमै बसिरहनुभएको छ । आर्थिक अवस्था कमजोर भएका सविताको उपचारका क्रममा हालसम्म रु डेढ लाखभन्दा बढी खर्च भइसकेको छ ।

घरमा छ वर्षकी छोरी र चार वर्षका छोरालाई छाडेर उपचारका लागि काठमाडौँ जानुभएकी सवितालाई क्यान्सरको उपचारसँगै आफ्ना छोराछोरीको लालनपालनको निकै चिन्ता लागेको छ ।

“ऋण खोजेर उपचारका लागि काठमाडौँ पुगेको र अहिलेसम्म उपचारका लागि रु डेढ लाख ऋण लिइसक्यो”, उहाँले भन्नुभयो, “उपचार गर्दा रु १० लाख खर्च लाग्छ भनेको छ । अब मेरो जीवन या मरण शुभेच्छुकको साथ र सहयोगमा निर्भर छ । आफूले मरिन्थ्यो ! छोराछोरीको बिजोग हुनेभयो ।”

क्यान्सर पीडित सविताको उपचारका लागि रकम जुटाउन आफन्तले सहयोग अभियान थालेका छन् । क्यान्सरको उपचारका क्रममा लाग्ने खर्च आफै जुटाउन सक्ने अवस्था नभएकाले आफन्तले ‘सविता थापा उपचार सहयोग अभियान’ थालेका हुन् । रासस

प्रतिक्रिया दिनुहोस