प्रोवीगाउँमा केन्द्रीय बिजुली पुग्दा स्थानीयवासी हर्षित


जिल्लाकै विकट गाउँमध्ये एक प्रोवीगाउँमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनको बिजुली पुग्दा स्थानीयवासी हर्षित भएका छन् । गण्डकी प्रदेश सरकार र मस्र्याङदी गाउँपालिकाको आर्थिक सहयोगमा ३१ घरधुरी रहेको वडा नं २ प्रोवीगाउँमा पहिलोपटक शनिबार पुग्दा यहाँका स्थानीयवासी हर्षित भएका हुन् ।

गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दबाडीले प्रसारण लाइनको उद्घाटन कार्यक्रममा शनिबार गण्डकी प्रदेशले प्रदेशका सबै गाउँठाउँलाई उज्यालो बनाउने उद्देश्यका साथ तीव्रगतिमा काम गरेको बताउनुभयो । यसअघिका सरकारले गर्न नसकेको काम केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकार आएपछि ठूला–ठूला विकासले गति पाउन थालेको उहाँको भनाइ छ । जनताको अत्यावश्यकतालाई मध्यनजर गरी विकासको गति बढाएकाले ढिलो चाँडो सबै जनताले विकासको अनुभूति गर्न पाउने भएकाले सबैलाई आशावादी हुन आग्रह गर्नुभयो ।

गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले नागरिकको आवश्यकता पूरा गर्नका लागि तीनवटै तहको सरकार लागिपरेकाले विकासले गति लिन थालेको बताउनुभयो । वर्तमान सरकारका कारण नै यस गाउँका स्थानीयवासीले वर्षौँवर्षदेखिको उज्यालो गाउँ देख्ने सपना पूरा भएको उहाँको भनाइ छ ।

अन्धकारमा जीवनयापन गर्दै आएका यहाँका स्थानीयवासी घरघरमा बिजुली पुगेपछि धेरै खुशी भएका छन् । यसअघि टुकीको भरमा जीवनयापन गर्नुपर्दा रातिको समयमा गाउँमा कोही दुःख बिमार हुँदा, कुनै कार्यक्रमका बेला र बालबच्चाको पठनपाठनमा समेत समस्या हुँदै आएको स्थानीयवासीको भनाइ छ । अबदेखि भने मोबाइल चार्ज गर्न, टिभी, रेडियो बजाउन तथा सुन्नदेखि सूचना प्रवाह गर्नलाई समेत सहज भएको स्थानीयवासी राममाया गुरुङले बताउनुभयो ।

गाउँमा बिजुली पुर्याउन दुई वर्षअघिबाट काम शुरु गरे पनि विविध कारणले यतिका समय लागेको थियो बताउनुभयो । यस वडामा रु ४५ लाख ५० हजारमा राष्ट्रिय बिजुली पुगेको छ । सो रकममध्ये प्रदेश सरकारको रु ३५ लाख ५० हजार र गाउँपालिकाको रु १० लाख रहेको बताइएको छ ।

त्यस्तै वडा नं ३ जिम्दोगाउँमा समेत शुक्रबार बिजुली पुगेको छ । तामाङ समुदाय मात्र रहेको यस गाउँमा रु २९ लाख ५० हजार लागतमा बिजुली पुगेको वडाध्यक्ष प्रेमबहादुर बस्नेतले बताउनुभयो । उहाँका अनुसार गण्डकी प्रदेश सरकारको उज्यालो प्रदेश कार्यक्रमअन्तर्गतको रु २० लाख र गाउँपालिकाको रु साढे नौ लाख रहेको थियो ।

प्रतिक्रिया दिनुहोस