मकवानपुरगढीबाट सिन्धुलीगढीसम्म साइकलयात्रा


वाग्मती प्रदेशको राजधानी मकवानपुरको हेटौँडामा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने र ऐतिहासिक गढीहरुको संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्यले मकवानपुरगढीबाट सिन्धुलीगढीसम्म साइकल यात्रा शुरु गरिएको छ ।

शनिबार मकवानपुरगढीमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विश्व साइकलयात्री पुस्कर शाहलाई साइकल र राष्ट्रिय झण्डा हस्तान्तरण गरेर साइकलयात्राको शुभारम्भ गर्नुभएको हो । मुख्यमन्त्री पौडेलले साइकलयात्रीलाई उत्साह भर्न केही मिनेट साइकल पनि डो¥याउनुभएको थियो । वाग्मती प्रदेश सरकारको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको संयोजकत्वमा गढीबाट गढीसम्मको साइकलयात्रा आयोजना गरिएको हो ।

चर्चित विश्व साइकलयात्री शाहको अगुवाइमा तीन महिलासहित १२२ साइकलयात्रीले मकवानपुरगढीबाट यात्रा शुरु गरेको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी नवराज पुडासैनीले जानकारी दिनुभयो । मकवानपुरगढीबाट हेटौँडा–फापरबारीको सडकखण्ड हुँदै शनिबार राति सिन्धुलीको हरिहरपुरगढीमा बास बसेको टोलीले आज साइकलयात्री सिन्धुलीगढी पुगेर आफ्नो यात्रा समापन गर्नेछ । मकवानपुरगढीबाट सिन्धुलीगढीको दूरी १३१ किलोमिटर छ । साइकलयात्राका लागि रु ११ ५० हजार लाख खर्च हुने अनुमान गरिएको छ ।

मकवानपुरमा आजदेखि दोस्रो चरणको खोप

वाग्मती प्रदेशको राजधानी हेटौँडाको मकवानपुरमा कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत दोस्रो चरणको खोप अभियान आजबाट शुरु हुने भएको छ । दोस्रो चरणको खोप ५५ वर्ष उमेरभन्दा माथिकालाई लगाइने जिल्ला खोप समन्वय समिति मकवानपुले जनाएको छ । गत महिना माघ १४ गतेदेखि फागुन ९ गतेसम्म पहिलो चरणमा खोप वितरण गरिएको थियो । माघ १४–२४ सम्म प्राथामिकतामा परेका लक्षित ‘क’ वर्ग, माघ २६ देखि २८ सम्म कैदीबन्दी, कर्मचारी सुरक्षाकर्मी तथा वृद्धाआश्रममा रहेका आश्रित एंव कर्मचारी र ‘ख’ वर्गमा परेकालाई फागुन २ देखि ९ गतेसम्म पहिलो चरणको खोप वितरण गरिएको हो ।

स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले समितिले यसअगावै लक्ष्य गरेको पाँच हजार ७१९ मा दुई हजार ७७२ ले मात्रै खोप लगाएको जानकारी दिनुभयो । तिनमा पुरुषतर्फ दुई हजार २७२ छन् भने महिलातर्फ ५२३ रहेको समितिको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्कलाई विश्लेषण गर्दा पहिलो चरण ४८ प्रतिशतले मात्रै खोप लगाएको देखिन्छ ।

खोप निर्धक्क भएर लगाउन जिल्ला प्रमुख अधिकारी गोविन्दप्रसाद रिजालले सबैलाई अनुरोध गर्नुभएको छ । जिल्लाको ४१ खोप केन्द्रबाट खोप लगाइन्छ । हेटौँडा उपमहानगरपालिकाको पाँच स्थान, थाहा नगरपालिकामा छ स्थानमा खोप केन्द्र रहेको छ । त्यस्तै इन्द्रसरोवर गाँउपालिकामा चार, कैलाशमा पाँच, राक्सीराङमा चार, मनहरिमा तीन, भीमफेदीमा चार, मकवानपुरगढीमा तीन, बैकया गाँउपालिकामा चार र वाग्मती गाँउपालिकामा चार स्थानमा खोप केन्द्र रहेको समितिले जानकारी दिएको छ । सन्ताउन्न हजार १०१ जना ५५ वर्षभन्दा माथिकाले र १७ हजार ५०० जना ६५ वर्षभन्दा माथि उमेरकाले खोप लगाउने लक्ष्य समितिले राखेको छ । रासस

प्रतिक्रिया दिनुहोस