मोबाइल स्वास्थ्य शुभकामना कार्यक्रम


अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत भोजपुरका नौओटा स्थानीय तहमा गर्भवतीका लागि मोबाइल स्वास्थ्य शुभकामना कार्यक्रम शुरु गरिने भएको छ । करुणा फाउण्डेशन नेपाल, प्रदेश सरकार र स्थानीय तहको सहकार्य तथा मेडिक मोबाइलको प्राविधिक सहयोगमा ‘मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागि मोबाइल स्वास्थ्य शुभकामना कार्यक्रम सञ्चालन हुने भएको हो ।

कार्यक्रम सञ्चालनका लागि गर्भवतीसमक्ष जानकारी प्रदान गर्न मोबाइल सफ्टवेयर सञ्चालनसम्बन्धी स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षक–प्रशिक्षण कार्यक्रम पनि शुरु भएको छ । प्रत्येक पालिकाका लागि छुट्टाछुट्टै सञ्चालन हुने प्रशिक्षणअन्तर्गत पहिलो चरणमा पौवादुङ्मा गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई तीनदिने तालीम दिइएको छ । तालीममा मोबाइल प्रविधिको प्रयोगका बारेमा स्वास्थ्यकर्मीलाई प्रशिक्षण गराइएको फाउण्डेशनको जिल्ला कार्यक्रम प्रमुख राजेन्द्र पराजुलीले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीहरुले प्रशिक्षणपश्चात् आफ्नो वडाभित्र भएका स्वयम्सेविकालाई मोबाइल प्रविधिसम्बन्धी अभिमुखीकरण गराउने छन् ।

अभिमुखीकरणपछि स्वयम्सेविकाहरुले आफ्नो टोल तथा समुदायमा गर्भवती भएका महिलालाई मोबाइल प्रविधिमा दर्ता गराउने र दर्ता भएपश्चात् गर्भावस्थामा लिनुपर्ने सेवा, सुत्केरी अवस्थाका बारेमा सुनिश्चित गराउने र गर्भ अवस्थामा देखिने खतराका लक्षणहरुका विषयमा सम्झना सन्देशमार्फत जानकारी गराउने फाउण्डेशनको १ नं प्रदेशका वरिष्ठ कार्यक्रम अधिकृत मजबुल आलमले जानकारी दिनुभयो । अपाङ्गता रोकथाम पुनःस्थापना कार्यक्रमले जन्मजात तथा जन्मपश्चात् हुने अपाङ्गता न्यूनीकरण गर्ने मातृशिशु मृत्युदर न्यूनीकरण गर्ने र अपाङ्गता भएका व्यक्तिहरुसहितको समावेशी समाजको निर्माण गर्न सहयोग पुग्ने १ नं प्रदेशका वरिष्ठ कार्यक्रम अधिकृत आलमले जानकारी दिनुभयो ।

दुर्गममा निःशुल्क स्वास्थ्य शिविर

आफ्नै ठाउँमा विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वस्थ्य शिविर सञ्चालन गरेपछि भोजपुरको दुर्गम क्षेत्रका स्थानीयवासीलाई लाभ पुगेको छ । पौवादुङमा गाउँपालिकाले आङ खस्ने समस्या भएका महिला र विविध कारणले आपाङ्गता भएका स्थानीयवासीलाई लक्षित गरेर छ दिने शिविरको सञ्चालमा ल्याएको हो । गाउँपालिकाले विगतका वर्षहरुबाट नै स्थानीयवासीलाई लक्षित गरेर यस्ता शिविरको सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि अन्तरराष्ट्रिय महिला दिवस पारेर गाउँपालिकाले शिविरको आयोजना गरेको हो । विविध कारणले स्वास्थ्य परीक्षण गराउन बाहिर जान नपाएका स्थानीयवासी आफ्नै ठाउँमा स्वास्थ्य सेवा पाउँदा हर्षित बनेका छन् ।

शिविरबाट छनोटमा परेका कठिन समस्या भएकाहरुलाई गाउँपालिकाले निःशुल्क उपचारको व्यवस्था गरेको छ । अपाङ्गता भएकाहरुलाई चिकित्सकको सिफारिसमा परिचय, सहयोगी उपकरण दिनेसमेत गाउँपालिकाले जनाएको छ । शिविरमार्फत ३०५ जना अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण, परिचयपत्र वितरण तथा सहयोगी उपकरण वितरण गरिने गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिनुभयो । उपाध्यक्ष राईले भन्नुभयो, “गाउँपालिकाबाट स्वास्थ्य शिविरको आयोजना गरिएको छ, यसले अपाङ्गता भएका तथा महिलाहरुका लागि लाभ पुग्ने छ । विगतका वर्षहरुमा पनि हामीले यस्ता जनचासोका कार्यक्रम गर्दै आएका छौँ ।”

स्थानीयवासीलाई सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि गाउँपालिकामा पाँच श्ययाको अस्पतालसमेत सञ्चालन गरिएको छ । विशेषज्ञ चिकित्सकसहित सेवा दिँदै आएको सो अस्पतालले जिल्ला अस्पताल बराबरको सेवा निःशुल्क दिँदै आएको छ । त्यस्तै सबै वडामा पक्की स्वास्थ्य भवनको निर्माणको कामसमेत भइरहेको प्रमुख प्रशासकीय अधिकृत रमेश राईले जानकारी दिनुभयो ।

विकासका सम्पूर्ण सूचकहरुलाई पूरा गराउने लक्ष्यका साथ गतिविधि सञ्चालन भइरहेको गाउँपालिको भनाइ छ । गाउँपालिकालाई समृद्ध बनाउन योजनाबद्ध रुपमा काम भइरहेकाले स्वास्थ्य शिक्षा कृषि, पर्यटन, यातयात, विद्युत् विस्तारसँगै खानेपानी समस्या चाँडै समाधन हुने गाउँपालिका अध्यक्षको भनाइ छ ।

गाउँपालिकाले स्थानीय नागरिकको पक्षमा काम गरिएको बताउँदै उहाँले स्थानीय सरकार सञ्चालनमा आएपछि जनताले धेरै राहत महसुस गर्न पाएको धारणा राख्नुभयो । अध्यक्ष राईले भन्नुभयो, “हामी जनताका सेवामा लागिपरेका छौँ, यहाँका नागरिकलाई स्वस्थ्य, शिक्षालगायतमा सहज पहुँचका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्, हामीले विभिन्न समयमा स्वास्थ्य शिविर सञ्चालन गरेर सेवा प्रदान गर्दै आएका छाँै त्यसको निरन्तरता स्वरुप यस पटक पनि शिविरको आयोजना गरिएको छ ।”

गाउँपालिकालाई समृद्ध बनाउन योजनाबद्धरुपमा काम भइरहेकाले कृषि, पर्यटन, यातयात, विद्युत् विस्तारसँगै खानेपानी समस्या चाँडै समाधन हुने अध्यक्ष राईले बताउनुभयो । “गाउँपालिकाले प्राथमिताकामा राखेका धेरै योजना छन् । योजनाअनुसारका सबै कार्यक्रम सञ्चालन गर्न हामीसँग आएको बजेटले सम्भव छैन, महिनौँ दिनसम्म काठमाडाँैमा धाएर भए पनि हामीले केही बजेटको व्यवस्था गरिरहेका छौँ, विद्युत् विस्तारको काम अघि बढिसकेकोे छ, पिउने पानी यो आर्थिक वर्षमा घरघरमा पु¥याउने लक्ष्यका साथ काम भइरहेको छ भने हामीले डिपिआर गरेको च्याङग्रे पोखरी, अरुण डाँडालगायत पर्यटकीय क्षेत्रको विकासका लागि पनि बजेट व्यवस्था गर्न सफल भएको छौँ, यो हाम्रो लागि खुशीको कुरा हो ।”

गाउँपालिकाले गाउँपालिकाभित्रका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्ससँगै पौष्टिक आहार वितरण गर्दै आएको छ । त्यस्तै महिलामा हुने आङ खस्ने समस्याको अन्त्यका गर्ने लक्ष्यले उनीहरुको समस्यालाई चार भाग विभाजन गरेर निःशुल्क उपचारसमेत गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस