राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी प्रधानमन्त्रीको भेटवार्ता


–विशेष प्रतिनिधि प्रकाश सिलवाल

बङ्गलादेशको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएको छ ।
आजै यहाँका विदेशमन्त्री डा मोमेनले राष्ट्रपति भण्डारीसँग अलग्गै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा आयोजित विशेष समारोहमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी आज यहाँ आइपुग्नुभएको हो ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विशेष विमानबाट यहाँ आइपुग्नुभएका राष्ट्रपति भण्डारीलाई बङ्गलादेशका राष्ट्रपति हमिदले ढाकास्थित हजरत सहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । राष्ट्रपति भण्डारी आजै बङ्गलादेशका राष्ट्रपति हमिदसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ भने द्विपक्षीय सम्झौता समारोहमा सहभागी हुनुहुनेछ । दुई देशबीच पर्यटन, कृषि र संस्कृतिका क्षेत्रमा आपसी सम्झौता हुने तयारी छ । राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपतिकी सुपुत्री उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री ज्ञवालीलगायत उच्च सरकारी अधिकारी सम्मिलित हुनुहुन्छ । भ्रमण टोलीमा १९ कलाकर्मी र तीन सञ्चारकर्मीसहित ५४ जना सदस्य छन् । रासस

प्रतिक्रिया दिनुहोस