चाटपाडामा ‘नेपाल वंशज सांस्कृतिक भवन’ निर्माण हुने


दुल्लु नगरपालिका– ३ चाटपाडामा ‘नेपाल वंशज साँस्कृतिक भवन’ निर्माण हुने भएको छ ।

यसका लागि स्थानीय समाजसेवी जागेश्वर उपाध्याय नेपालले नेपाल वंशज परिषद्लाई तीन रोपनी जमीन निःशुल्क प्रदान गर्नुभएको छ । परिषद्को हालै यहाँ सम्पन्न बैठकले सो स्थानमा भवन निर्माण गर्ने निर्णयसमेत गरेको हो । बैठकले वंशजका ऐतिहासिक परिचय झल्किने भवन निर्माणार्थ जमीन प्रदान गर्ने जागेश्वरलाई विशेष धन्यवाद तथा अभार व्यक्तसमेत गरेको छ ।

बैठकले प्राप्त जमीनमा छिटोभन्दा छिटो भवन निर्माण शुरुआत गर्ने र यसका लागि दुल्लु नगरपालिकासँग सहकार्य गर्ने निर्णय गरेको परिषद्का महासचिव समीर नेपालले जानकारी दिनुभयो ।

बैठकले परिषद्का रिक्त उपाध्यक्षमा नेपाल वंशज परिषद् झापाका अध्यक्ष हरि नेपाल र दुल्लु नगरपालिकाका कार्यकारी अधिकृत ज्ञानमणि नेपाललाई चयन गर्नाका साथै वंशजको अद्यावधिक वंशावली विसं २०७८ भित्र प्रकाशन गरिसक्ने निर्णय गरेको छ ।

परिषद्का अध्यक्ष अनिलकुमार नेपालका अध्यक्षतामा सम्पन्न सो बैठकमा महासचिव समीर नेपालसहित वरिष्ठ उपाध्यक्षद्वय जनार्दन, रामबाबु तथा केन्द्रीय सदस्य ओम, उत्तम, करुणा, विष्णु, कुबेर, कृष्णप्रसाद, पिरुप्रसाद र घर्नेन्द्र नेपाल उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस