‘नेपाललाई गैँडाको देश भनेर चिनाउन सकिने’


पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना शुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा एकै पटक १९ वटा ब्लक बनाएर आजदेखि गणना शुरु गरिएको हो । वन तथा वातावरणमन्त्री प्रेम आलेले आज बिहान सिट्ठी फुकेर गैँडा गणनाको शुभारम्भ गर्नुभएको हो ।

गैँडा गणनाको शुभारम्भका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री आलेले नेपाललाई गैँडाको देश भनेर चिनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले गैँडाको संरक्षण गरेर नेपाललाई गैँडाको देशका रुपमा परिचित गराउन आवश्यक रहेकामा जोड दिंदै उहाँले भन्नुभयो, “दुर्लभ एक सिङ्गे गैँडा नेपाल र भारतमा मात्रै पाइने भएकाले यसलाई संरक्षण गर्न जरुरी रहेको छ ।”

राष्ट्रिय गैंडा गणना सोमबारदेखि सुरु भएको छ । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरमा वन तथा वातावरण मन्त्री प्रेम आलेबाट उक्त गणनाको शुभारम्भ । तस्वीरः नारायण अधिकारी, रासस

चारी–शिकारी हुने क्षेत्रमा कडाइ गर्न आवश्यक रहेको भन्दै उहाँले चोरी–शिकारीमा संलग्नलाई कडा कारवाही गर्न निकुञ्ज कर्मचारीहरुलाई निर्देशन दिनुभयो । मन्त्री आलेले भन्नुभयो, “विभिन्न तस्करहरुबाट खागका लागि गैँडा मारिने गरेको छ । यस्ता नाकाहरुमा कडाइ गर्दै जानुपर्छ ।” पहिराका कारण गैँडा विस्थापित हुने खतरा बढेको उहाँको भनाइ थियो । संरक्षणमा देखिएका समस्याहरुलाई न्यूनीकरण गर्दै जानुपर्ने उहाँले बताउनुभयो । मन्त्री आलेले आन्तरिक पर्यटक मात्र नभएर बाह्य पर्यटकहरु पनि गैँडा हेर्नकै लागि नेपाल आउने गरेका छन् भन्नुभयो ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, वन मन्त्रालयका सचिव डा विश्वनाथ ओली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा दीपककुमार खराल, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, राप्ती नगरपालिका प्रमुख प्रभा बराल, वाग्मती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव सूर्यप्रसाद ढुङ्गाना, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, क्षेत्रीय होटेल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईलगायतले बोल्नुभएको थियो ।

सरकारले सोमबारदेखि शुरु गरेको राष्ट्रिय गैंडा गणनाका क्रममा पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरमा तयार गरिएका हात्तीमा माउतेको टोली । तस्वीरः टेकराज पोखरेल, रासस

कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले सन् २०१५ को गणनायता १६१ गैँडा मृतावस्थामा भेटिएको जानकारी दिनुभयो । उहाँका अनुसार मृतावस्थामा भेटिएका गैँडामध्ये १५५ गैँडा प्राकृतिक कारण र छ वटा गैँडा चोरी–शिकारीका कारण मरेका थिए । सोही समयमा चोरी–शिकारीमा संलग्न २३ जनालाई पक्राउ गरिएको छ । बरालका अनुसार चालु आर्थिक वर्षको साउनयता मात्रै निकुञ्जमा २६ गैँडा मरेका छन् । यसमध्ये चारवटा चोरी–शिकारीले मारेको उहाँले बताउनुभयो ।

गणनाका लागि चितवनमा ४२, बर्दियामा नौ र शुक्लाफाँटामा पाँच गरी ५६ हात्ती र चितवनमा २००, बर्दियामा ६० र शुक्लाफाँटामा ४० जना गणक परिचालन भएका छन् । व्यवस्थापन सहयोग एवं हात्तीसारका कर्मचारी छुट्टै परिचालन गरिएको छ । दुई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती गणनामा प्रयोग गरिएका छन् ।

कोशीमा दरबन्दी रहेर यहाँ रहेका हात्ती र मध्यवर्ती क्षेत्रमा केही निजी हात्तीलाई पनि गणनामा प्रयोग गरिएको छ । यसका अतिरिक्त हात्तीको दरबन्दीमा रहेका कर्मचारीहरु खटिएका छन् । दुई निकुञ्जमा गैँडा गणना गर्न २० दिन हाराहारी लाग्नेछ । गैँडा रहेका अन्य दुई निकुञ्ज बर्दियामा चैत १७ र शुक्लाफाँटामा १९ गतेदेखि गणना शुरु गरिँदैछ । चैत्र २९ गतेसम्ममा चारवटै निकुञ्जमा गैँडा गणना सकेर वैशाख पहिलो साता नतीजा सार्वजनिक गर्ने गरी तयारी गरिएको छ ।

हरेक पाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ । यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कूल ६४५ गैँडा थिए । तथ्याङ्क अनुसार चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस