उपत्यकामा हराएका ३० मोटरसाइकल फेला, चोरीमा संलग्न दुई पक्राउ


ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका ३० मोटरसाइकल फेला पारेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट विभिन्न समयमा हराएका मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको हो । महाशाखाले दुई हप्ताको समयमा १९ मोटरसाइकल र ११ स्कुटर फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले ट्राफिक प्रहरीले सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तीव्रता दिँदै आएको बताउनुभयो । “उपत्यकामा हराएका मोटरसाइकल बरामदका लागि सादा पोशाकमा विशेष ट्राफिक प्रहरी परिचालन गरेका छौँ”, उहाँले भन्नुभयो ।

महाशाखाले मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई पक्राउसमेत गरेको छ । महाशाखाले गोलढुङ्गाका अशोकमानसिंह कुँवरको हराएको बा९२प ९१३३ नंको बुलेट बाइक चोरीमा संलग्न नुवाकोटका ३० वर्षीय बिमल गुरुङ र मोरङका आशिष खत्रीलाई पक्राउ गरेको हो । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले उपत्यकाको भक्तपुर, काँडाघारी, माछापोखरी, गोकर्णेश्वर, टोखा, नयाँबसपार्कबाट हराएको मोटरसाइकल बरामद गरेको जानकारी दिनुभयो । महाशाखाले चालू आर्थिक वर्षमा ३३१ हराएका मोटरसाइकल खोजेर सम्बन्धित धनीलाई बुझाइसकेको छ भने चोरीमा संलग्न ४५ जनालाई पक्राउ गरी प्रहरीका विभिन्न वृत्तमार्फत मुद्दा चलाएको छ ।

रु बीस लाख जरिवानाका फरार पक्राउ

नेपाल प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले २०७७ मङ्सिर ८ को उच्च अदालत पाटनको फैसलाअनुसार १५ दिन कैद सजाय र रु २० लाख जरिवाना ठहर भएपछि फरार रहेका ललितपुरको नखिपोट बस्ने ४१ वर्षीय पूर्ण लामालाई आइतबार ललितपुरको जावलाखेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक गङ्गा पन्तले दुर्गामान मोक्तानलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी झुक्यानमा पारेर सानीमा बैंक लिमिटेडको चेक दिएर बैंकिङ कसूरजन्य अपराध गरेकाले पक्राउ गरिएको जानकारी दिनुभयो । उच्च अदालतले पक्राउ लामालाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम उक्त फैसला गरेको थियो । पक्राउ लामालाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेको प्रवक्ता पन्तले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस