पुनःनिर्मित घरमा संरचना विस्तारका लागि कार्यविधि तयार


भूकम्पपछि पुनःनिर्माण भएका ‘लोड वियरिङ’ घरहरुमा कोठा तथा तला थप्न चाहने लाभग्राहीलाई बाटो खुलेको छ । यस्ता लाभग्राहीलाई मध्यनजर राखेर तयार गरिएको कार्यविधिमाथि सोमबार बृहत् अन्तरक्रिया गरिएको छ ।

कार्यविधिमाथि विभिन्न सरकारी निकायका अधिकारी, राष्ट्रिय–अन्तर्राष्ट्रिय विज्ञ, स्थानीय जनप्रतिनिधि, पुनःनिर्माणमा खटिएका प्राविधिक एवं विकास साझेदार प्रतिनिधिबीच अन्तरक्रिया भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) को प्राविधिक सहयोगमा कार्यविधि तयार पारेको हो ।

कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कार्यविधि कार्यान्वयनको केन्द्रविन्दु स्थानीय तहलाई बनाउनुपर्ने उल्लेख गर्नुभयो । सम्बन्धित केन्द्रीय निकायले मेरुदण्डका रूपमा काम गर्नुपर्ने उहाँले बताउनुभयो । मूलघरको क्रमशः विस्तार मूलतः ग्रामीण क्षेत्रमा संस्कृति नै रहेको उल्लेख गर्दै ज्ञवालीले थपिएको हिस्सा पनि भूकम्प प्रतिरोधी होस् भन्ने उद्देश्यले कार्यविधि निर्माणमा अग्रसरता लिइएको जानकारी दिनुभयो ।

केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का उपनिर्देशक झप्परसिंह विश्वकर्मा र एनसेटका बलियो घर कार्यक्रम व्यवस्थापक रञ्जन ढुङ्गेलले मस्यौदा कार्यविधि तथा १० बुँदे पुस्तिकाका बारेमा प्रस्तुतीकरण दिनुभयो । सो प्रस्तुतिमाथि प्राधिकरणका कार्यकारी समिति सदस्य डा हरिराम पराजुली, न्यूजिल्याण्डमा बसोबास गर्ने विज्ञ जितेन्द्र बोथरा र भारतका विज्ञ विवेक रावलले टिप्पणी गर्नुभएको थियो ।

इञ्जिनीयर एवं निर्माण प्राविधिकलाई उपयोगी हुनेगरी विस्तृत इञ्जिनीयरिङ ड्रइङ र डिजाइनसहित कार्यविधिको मस्यौदा तयार गरिएको छ । त्यस्तै घरधनी एवं निर्माणकर्मीले बुझ्नेगरी नेपाली भाषामा १० बुँदे सरल पुस्तिका पनि तयार भएको छ । कार्यविधिले ढुङ्गामाटो तथा सिमेन्टको जोडाइ भएका घरमा दायाँ–बायाँ वा अगाडि–पछाडि भूकम्प प्रतिरोधी ढङ्गले विस्तार गर्न सकिनेबारे विस्तृत उल्लेख गरेको छ । तला थप्नका लागि भने यसअघि तयार भइसकेको ‘हाइव्रिड स्ट्रक्चर म्यानुअल’ उपयोगी हुनेछ ।

प्राधिकरणका कार्यकारी समिति सदस्य डा चन्द्रबहादुर श्रेष्ठले कार्यविधिलाई अन्तिम रूप दिइएपछि प्राधिकरणको कार्यकारी समितिबाट पारित गरी कार्यान्वयनमा लगिने र प्राधिकरणपछि स्थानीय सरकारका साथै शहरी विकास तथा भवन निर्माण विभाग मुख्य कार्यान्वयनकर्ता हुने बताउनुभयो । विभागका महानिर्देशक नवराज प्याकुरेलले आगामी दिनमा बन्ने घरहरु विस्तारका लागि पनि यो कार्यविधि उपयोगी हुने विश्वास व्यक्त गर्दै यसलाई कार्यान्वयन गर्न विभाग तत्पर रहेको बताउनुभयो ।

आगामी दिनमा सम्बन्धित निकायबाट प्राप्त सुझावका आधारमा कार्यविधिलाई छिट्टै अन्तिम रूप दिइने केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहले जानकारी दिनुभयो । प्राधिकरणका सहसचिव एवं प्रवक्ता गोपालप्रसाद अर्यालले सम्भव भएसम्म पालिका नभए जिल्लास्तरमा एक–एकवटा घरमा नमूना विस्तार गरी कार्यान्वयनमा लैजाँदा प्रभावकारी हुनसक्ने राय राख्नुभयो ।

अमेरिकी सहायता नियोग (युएसएड) का सन्तोष ज्ञवालीले कार्यविधि पुनर्निर्माण भएका घरका लागि मात्र नभएर आगामी दिनमा बन्ने घरहरुका लागि पनि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । प्राधिकरणले माउघर अर्थात् ‘कोर हाउजिङ युनिट’ पुनःनिर्माणका लागि रु तीन लाख अनुदान तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस