विभागद्वारा पाँचखालको ‘जियोफिजिकल सर्वे’मा सहयोगको अपिल


पुरातत्व विभागले पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा ‘जियोफिजिकल सर्वे’ (भू–भौतिकी सर्वेक्षण) गर्न काभ्रेपलाञ्चोकको सरोकारवाला निकायसँग सहयोगको अपिल गरेको छ । विभागले जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रशासन कार्यालय, पाँचखाल नगरपालिकाको कार्यालय, जिल्ला प्रहरी कार्यालय र पाँचखाल नगरपालिका–७ वडा कार्यालयलाई पाँचखालको करिब ६०० रोपनी जमिनमा गरिने सर्वेमा सहयोग गर्न अपिल गरेको हो ।

विभागका पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारीले यही चैत ६ गते पत्राचार गर्दै विभागको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत चैत दोस्रो साताको अन्त्यतिर शुरु हुने सर्वे र ड्रोन क्यामेरामार्फत फोटो लिने कार्यका लागि सहयोग गर्न सरोकारवाला निकायसँग अनुरोध गर्नुभएको हो । पाँचखाललगायत मुलुकका विभिन्न स्थानमा रहेका सम्पदाको सर्वे गर्न बेलायतस्थित दूरहाम विश्वविद्यालयका विज्ञ टोली मार्च पहिलो साता नेपाल आएको थियो । टोलीले कपिलवस्तुबाट सम्पदा खोज–अनुसन्धान थालेको पुरातत्व विभागले जनाएको छ ।

बेलायतबाट आठ जनाको भू–भौतिकी सर्वेक्षणको एक समूह नेपाल आई केही दिनदेखि कपिलवस्तुमा सर्वेक्षण गरिरहेको विभागका निर्देशक दामोदर गौतमले बताउनुभयो । उहाँका अनुसार नेपालका केही स्थानमा खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएपछि जियोफिजिकल सर्वे गर्नु आवश्यक देखिएकाले बेलायतबाट टोली मगाइएको हो । “पहिलो चरणमा जमिनमुनि के–कस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन जियोफिजिकल सर्वे गर्न लागेका हौँ”, उहाँले भन्नुभयो ।

टोलीले कपिलवस्तुको सर्वेक्षणपछि तालिकाअनुसार रुपन्देही, नवलपरासी, जनकपुर, ठोरी, काभ्रेपलाचोकको पाँचखाललगायत स्थानमा भेटिएका पुरातात्विक सम्पदाको सर्वेक्षण गर्ने विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार टोलीले पाँचखालमा बुधबारदेखि सर्वेक्षण गर्नेछ । उक्त क्षेत्रमा करिब दुई वर्षअघि गरिएको खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन सम्पदा भएपछि विभागले जियोफिजिकल सर्वे गर्ने जनाएको हो ।

जियोफिजिकल सर्वे मेसिनले सम्पदा क्षेत्र तथा जमिनमुनि सात मिटरसम्मको भौतिक अवस्था पत्ता लगाउने विभागका महानिर्देशक गौतमले बताउनुभयो । उहाँका अनुसार सर्वेक्षण टोलीका लागि थप नेपाली जनशक्ति तथा आर्थिक व्यवस्थापनको तयारी विभागले गरेको हो । विभागले संयुक्त राष्ट्रसङ्घीय अङ्ग (युनेस्को)लाई गत असार (सन् २०२०, जुन २९)मा पाँचखालको सम्पदाबारे जानकारी गराइसकेको छ ।

काभ्रेपलाञ्चोकको तेमालकोट, बुचाकोट, मेथिनकोट, नगरकोट, काभ्रेकोट, सुलिकोट, अनेकोट, सल्लेकोट र भमरकोटको बीचक्षेत्रमा जमिनमुनिका सम्पदा हेर्न जियोफिजिकल सर्वेको आवश्यकता रहेको जनाइएको छ । पाँचखाल क्षेत्रमा उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको पुष्टि गर्दै उत्खननमा सहभागी विभागका अधिकृत विष्णुप्रसाद पाठक र वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यद्वारा तयार प्रतिवेदनमा पाँचखाल नपा–२ माल्टारमा अवस्थित विभिन्न व्यक्तिको खेतमा भेटिएका प्राचीन दरबारको गारो, २२ सेन्टिमिटर चौडाइ भएको इँटालगायतका सामग्री लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको उल्लेख छ ।

उत्खननका क्रममा भेटिएका अन्य आकारका इँटा र अङ्गारको थप अनुसन्धान गर्न बाँकी रहेको छ । श्रीरामपाटीमा तीन मिटर लम्बाइ र दुई मिटर चौडाइ उत्खनन गर्दा पक्की इँटाको गारोभित्र माटाको डुँडद्वारा पानी पाइपलाइन भेटिएको थियो । साथै स्थानीय प्रस्तर प्रयोग गरी एक मिटर ५० सेन्टिमिटरको आधार बनाई ६० सेन्टिरमिटर सुर मिलाएर गारो बलियो बनाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । खोज अनुसन्धानकर्र्ताले उत्खनन क्षेत्रको संरक्षण र अवैध उत्खनन रोक्नुपर्ने सुझाव दिँदै आएका छन् ।

पुरानो दरबार क्षेत्र रहेको भनिएको स्थानमा २४ इन्चको ढुङ्गाको गारो कोठा–कोठा तथा बाहिरी भागमा पर्खाल रहेको संरचना, माटोका भाँडाका टुक्रा, मसला पिँध्ने ढुङ्गाको खल, शिवलिङ्ग, ढुङ्गेधारा, रानीपोखरी भनिएको स्थानमा जमिनमुनि पाको माटोको डुँडबाट पानी ल्याउन बनाइएको पाइप तथा केही चौडा आकारका इँटा भेटिएको हो । पाँचखाल नगर क्षेत्रमा स्थानीय बूढापाकाले मानदेवको दरबार, रानीपोखरी, रानीपानीको कुवा, ढुङ्गेधारा र रानीपोखरी क्षेत्र करिब १२ रोपनीमा फैलिएको, खेतबारी खनजोत गर्ने क्रममा सयौँ वर्ष पुराना केही इँटा र सिक्का (मानाङ्क), घरको जग, भाँडाका टुक्रा फेला परेकोबारे बताउँदै आएपछि पुरातत्व विभागले उक्त स्थानमा खोज अनुसन्धान थालेको हो ।

पाँचखाल नगर क्षेत्रमा भेटिएका सम्पदा सुरक्षार्थ जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पनि सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाएको छ । विभागको परिपत्रअनुसार स्थानीय प्रशासन कार्यालयले २०७६ मङ्सिर २९ गते नै सम्पदा क्षेत्रमा ‘खनजोत’ नगर्न र गर्नुपरे विगागको स्वीकृति र सहमति गराउन पाँचखाल नपालाई पत्रमार्फत जानकारी गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस