पूर्वाधार निर्माणमा जोड दिन मुख्यमन्त्रीको निर्देशन


मुख्यमन्त्री लालबाबु राउतले प्रदेश तथा स्थानीय सहयोग कार्यक्रमका लागि तालीम गोष्ठीका साथै पूर्वाधार निर्माणमा समेत जोड दिन निर्देशन दिनुभएको छ । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको आगामी आर्थिक वर्ष २०७८÷७९ को प्रादेशिक वार्षिक रणनीतिक कार्यान्वयन योजना पूर्वतयारी बैठकमा मुख्यमन्त्री राउतले परम्परागत कार्यक्रमले मात्र प्रदेश तथा स्थानीय शासनमा सहयोग नपुग्ने स्पष्ट पार्नुभयो ।

प्रदेश सरकारले जनमैत्री शासन खोजेको उल्लेख गर्दै उहाँले सो शासनका लागि कार्यालयको व्यवस्थापनका साथै भौतिक पूर्वाधारको निर्माणमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले मुजेलियास्थित ग्रामीण विकास केन्द्रलाई प्रदेशकै अध्ययन अनुसन्धान केन्द्रका रुपमा विकास गर्न अविलम्ब गुरुयोजना बनाउन सम्बन्धित अधिकारीलाई निर्देशन दिनुभयो ।

प्रदेशका प्रमुख सचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा भएको सो कार्यक्रममा मुख्य न्यायधिवक्ता दीपेन्द्र झाले सरकारको प्राथमिकता प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रममा समेटनुपर्ने विषयमा जोड दिनुभयो । कार्यक्रममा प्रदेश सरकारका सचिव र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजीएसपी)का साझेदार संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस