देश समृद्धितर्फ लागेको छ : मन्त्री गुरुङ


सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा साकार अघिबढेको बताउनुभएको छ । दोलखाको शैलुङ गाउँपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटनमा उहाँले सरकार समृद्ध नेपाल निर्माण अभियानमा सरकार लागिपरेको बताउनुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले पछिल्लो राजनीतिक घटनाक्रमले अभियान अघि बढाउन सहयोग पुगेको तर्क गर्नुभयो ।

नेपाली नागरिकले स्थायी सरकार चाहेको र त्यसका लागि आफूहरूलाई दुई तिहाइको बहुमत दिएर सरकारमा पठाएको हुँदा यो सरकारको विकल्प नभएको उहाँले बताउनुभयो । जनताले आफ्ना पक्षमा काम गर्न बहुमतसहित सरकारमा पठाएको उल्लेख गर्दै उहाँले कोही व्यक्तिले चाहँदैमा सरकार परिवर्तन नहुने स्पष्ट पार्नुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, “सरकार परिवर्तनका लागि सबै शक्ति लागिपरेको भए पनि यो सरकारले नेपालीलाई सुखी र समृद्ध बनाउन धमाधम गरिरहेको छ ।” उहाँले राजनीतिक कारणबाट नागरिकलाई निरास नहुन आग्रहसमेत गर्नुभयो । मन्त्री गुरुङले डिजिटल नेपालको अवधारणाअनुसार दोलखाबाट शुरुआत गरेको स्मार्ट दोलखा निर्माणका लागि भौतिक पूर्वाधारको काम धमाधम भइरहेको र एफटिटिएचको काम शुरुआत भएको बताउनुभयो ।

सरकार डिजिटल नेपाल निर्माणको अभियानमा रहेको र स्थानीय तह तथा सबै सामुदायिक विद्यालयमा इन्टरनेटको विस्तार तथा प्रविधिको विकास गराई प्रविधिमार्फत विश्वको जुनसुकै ठाउँमा हुने सिकाइ ग्रामीण तहको विद्यालयमा बसेरसमेत सहज तरिकाले अध्ययन गर्न सकिने व्यवस्था मिलाउने योजनामा आफू रहेको उहाँले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालले स्थानीय सरकारको गठनपश्चात् आफूहरूले शून्य लेवलबाट विकासको काम शुरुआत गरेको र हाल हरेक क्षेत्रमा सम्मान तरिकाले विकासको काम गरिरहेको उल्लेख गर्नुभयो । अन्य क्षत्रमा जस्तै खेलकूदका क्षेत्रमा पनि विगतका वर्षदेखि नै बजेट विनियोजन गर्दै उहाँले खेलकूदका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । शैलुङ गाउँपालिकाले शैलुङ रङ्गशालामा आजदेखि शुरु भएको प्रतियोगितामा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस