जनगणनाको तयारी तीव्ररुपमाः गणक तथा सुपरीवेक्षकका लागि तीन गुणा बढी आवेदन


–खेमराज गौतम

‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ राष्ट्रिय जनगणना– २०७८ का लागि बागलुङमा आवश्यक तयारी तीव्ररुपमा भइरहेको छ ।

केही हप्ता अगाडि बागलुङमा जिल्ला जनगणना कार्यालय स्थापना भएपछि तयारीलाई तीव्रता दिइएको हो । जनगणनाका लागि आवश्यक गर्ने गणक र सुपरीवेक्षकलाई तालीम दिने तयारी भइरहेको तथ्याङ्क कार्यालय बागलुङले जनाएको छ ।

सङ्घीयता कार्यान्वयनपछि हुन थालेको पहिलो जनगणनाले स्थानीय तह, प्रदेश र सङ्घीय सरकारलाई नीति तथा बजेट निर्माणमा सहयोग पुग्ने विश्वास लिइएको छ । जनगणना गर्न बागलुङमा ४०६ गणक र १०० सुपरीवेक्षक करारमा नियुक्त गर्ने भएको छ । करारमा नियुक्त जनशक्तिले नपुगेमा सार्वजनिक विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीलाई लिन सकिने छ ।

करारमा कर्मचारी भर्नाका लागि आह्वान गरिएको दरखास्तमा तीन गुणा बढी अर्थात् एक हजार ८३६ ले आवेदन दिएको तथ्याङ्क कार्यालय बागलुङका प्रमुख जनगणना अधिकारी मुकुन्दप्रसाद शर्माले जानकारी दिनुभयो । स्नातक तह वा सोसरह उत्तीर्ण गरेको व्यक्तिले सुपरिवेक्षक र गणक दुवै पदका लागि दरखास्त दिन सक्ने व्यवस्था छ । तर भर्ना भने कुनै एक पदका लागि मात्र लिइने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गणकका लागि भने दश जोड दुई वा सो सरह उत्तीर्ण भएको हुनुपर्नेछ ।

सङ्घीयतापछि हुन लागेको पहिलो जनगणनाले स्थानीय सरकारलाई उक्त तथ्याङ्कले ठूलो सहयोग पु¥याउने छ । विसं २०७८ को असार महिनाभित्र हुने गणना नेपालको जनगणनाको इतिहासमा ११० वर्षमा गर्न लागिएको १२औँ शृङ्खला भएको कार्यालयले बताएको छ । बागलुङका १८ प्रशिक्षकले गणक र सुपरीवेक्षकलाई तालीम दिन तयारी भएर बागलुङ आइसकेको गणना अधिकारी शर्माको भनाइ छ । उहाँका अनुसार जनगणनालाई सहज तुल्याउन जिल्लाको चार स्थानमा स्थानीय जनगणना कार्यालयसमेत स्थापना गर्ने तयारीमा रहेको छ ।

नागरिकलाई ८० प्रश्न

अहिलेको जनगणनालाई व्यवहारिक तथा वैज्ञानिक बनाउनका लागि ८० प्रश्न तयार गरिएको छ । जनगणनापछि सबै जानकारी प्राप्त गर्नका लागि ८० प्रश्न सोधिनेछ । जनगणनामा शुरुमा सुपरीवेक्षक घरमै पुगेर २५ प्रश्न सोध्नेछ भने त्यसपछि गणक गएर ५५ प्रश्न सोध्नुपर्नेछ । जनगणना अधिकारी शर्माका अनुसार सुपरीवेक्षकले घरमुली, जग्गा, कृषि र बैंक खाताको विवरणलगायतका प्रश्नको उत्तर ल्याउनेछ भने गणकले व्यक्तिगत खण्ड, पारिवारिक खण्ड र आर्थिक कारोबार खण्डका आधारमा प्रश्न गर्नेछ । यसका लािग सुपरीवेक्षकलाई १० मिनेट र गणकलाई ३० मिनेट समय लाग्नेछ ।

महिलाको सम्पत्ति विवरण आउने

यसपटकको जनगणनामा खाली रहेको घर, गोठको समेत विवरण आउनेछ । नेपालमा महिलाको नाममा सम्पत्ति बनाउने प्रचलन बढ्दै गएको सन्दर्भमा महिलाको नाममा भएको एकल र संयुक्त सम्पत्ति विवरणसमेत जनगणनामा समावेश गरिने भएको छ । सरकारलाई नीति तथा कार्यक्रम ल्याउन सहज गराउने गरी बेरोजगार अवस्था, रोजगारी चाहे÷नचाहेकोलगायतका विवरणसमेत समावेश गरिनेछ ।

भौगोलिक कठिनाइका कारण अनुगमन, सामग्रीको सहजतालगायतलाई ध्यानमा राखेर जिल्लाका १० स्थानीय तह हेर्ने गरी चार स्थानमा स्थानीय जनगणना कार्यालय स्थापना गर्ने तयारीमा कार्यालय रहेको छ । जिल्लाको बरेङ गाउँपालिका र जैमिनी नगरपालिका हेर्ने गरी जैमिनी नगरपालिकामा, काठेखोला गाउँपालिका र बागलुङ नगरपालिका हेर्ने गरी बागलुङ नगरपालिकामा, ताराखोला गाउँपालिका, बडिगाड र गलकोट नगरपालिका हेर्ने गरी गलकोट नगरपालिकामा तथा तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका हेर्ने गरी ढोरपाटान नगरपालिकामा वैशाख १ गतेदेखि जनगणना कार्यालय स्थापना गरिनेछ ।

जनगणनाको प्राथमिक तथ्याङ्क गणना सकेको छ महिनामै आउनेछ । अहिले सरकारले महानगरपालिका र उपमहानगरपालिकामा डिजिटल माध्यमबाटै तथ्याङ्क सङ्कलन गर्नेछ भने नगरपालिका र गाउँपालिकामा कागजी फारम भर्नुपर्ने छ । अहिलेको जनगणनामा जन्म, मृत्यु, बसाइँसराइका साथै मातृ मृत्युदरको विषयमा समेत जानकारी लिइनेछ ।

गणकद्वारा प्रत्येक घरधुरीमा पुगेर मुख्य प्रश्नावलीमार्फत पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु बसाइँसराइलगायत विवरण सङ्कलन गरिनेछ । दोस्रो चरणअन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तरीय सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोत साधन, पहुँच, क्षमता पूर्वाधार र विपद्सम्बन्धी विवरण सङ्कलन गरिनेछ । घर तथा घरपरिवार सूचीकरण फाराम २०७८ वैशाख २६ देखि जेठ १४ र मुख्य प्रश्नावली २०७८ जेठ २५ देखि असार ८ गतेसम्म विवरण भर्ने व्यवस्था छ । २०६८ को जनगणनाअनुसार बागलुङ जिल्लाको जनसङ्ख्या दुई लाख ६८ हजार ६१३ छ । नमूना जनगणनालाई प्रश्नको विषय, समय तथा गणकको सङ्ख्याका आधार मानिएको छ । जनगणनाको मुख्य आधार जन्म, मृत्यु, बसाइँसराइ छ ।रासस

प्रतिक्रिया दिनुहोस