धरहरा अन्तिम चरणमा, यहि बैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै, २२ तला माथिबाट हेर्दा यस्तो देखियो काठमाडौँ (भिडियो)


काठमाडौँ ।  धरहरा चढेर काठमाडौँ शहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताको सपना अब छिट्टै पुरा हुने भएको छ । सबै तलाको ढलान सकिएर अहिले अन्य फिनिसिङका काम भइरहेको छ ।

गोरखा भूकम्पको तीन वर्षपछि मात्रै सो सम्पदाको पुनःनिर्माणको कामले गति लिएको हो । भूकम्पले ढलेको भीमसेनस्तम्भ पुनःनिर्माणको प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत् रुपमा २०७५ पुस १२ गते उद्घाटन गर्नुभएको हो । मुख्तियार भीमसेन थापाले विसं १८८२ मा पत्नी त्रिपुरासुन्दरीको सम्झनामा निर्माण गर्न लगाएको ११ तले धरहरालाई नब्बे सालको भूकम्पले क्षति पारेपछि नौतले बनाइएको थियो ।

बयालीस रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी कक्ष, पुस्तकालय, पार्किङस्थल, रेष्टुराँ र व्यापारिक पसलसमेत हुनेछन् । बाहिरबाट ११ तलाको देखिने भए पनि स्तम्भ २२ तलाको छ । यसको उचाइ ७२ मिटर तथा १४.६३ मिटरको आधार रहने छ । पहिले गोश्वारा हुलाक भएको स्थानमा उद्यान बन्ने छ । उद्यानभित्र बस्ने ठाउँ, ढुङ्गेधारा, हरियाली चौर र चमेनागृह हुनेछ । यहाँ पढ्न, ध्यान गर्न या आरामसँग बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ । यहाँ ३५० गाडी र ६ हजार मोटरसाइकल पार्किङ्ग गर्न मिल्ने बताइएको छ । धरहराको २० औँ तलामा अवलोकन कक्षसहित सङ्ग्रहालय, फोहरा, बगैंँचा र खाजाघर पनि रहने छन् ।

पचास वर्षअघिदेखि हुलाक सेवा दिँदैआएको यहाँको गोश्वारा हुलाक कार्यालयलाई अहिले बबरमहलको आपूर्ति व्यवस्था विभागकै प्राङ्गणमा सारिएको छ । गोश्वारा हुलाकको भवन भएका ठाउँमा तीनतले भूमिगत पार्किङ स्थल बन्ने छ । यहाँस्थित टक्सार विभाग पनि बबलमहलमा स्थानान्तरण भएको छ । टक्सार विभाग रहँदा सुरक्षाका कारण बन्द गरिएको पुरानो बाटोलार्ई स्थानीय जनताको मागअनुसार केही समयअघिदेखि खोलिएको छ ।

अब धरहरा यहि बैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस