राष्ट्रवादी शक्ति एकढिक्का हुनुपर्ने ः अध्यक्ष थापा


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भ्रष्टाचार, धर्म परिवर्तन र सर्वसत्तावादलाई सधैँका लागि अन्त्य गर्न मुलुकमा राष्ट्रवादी शक्ति दलगत स्वार्थ त्यागेर अब एकढिक्का हुनुपर्नेमा जोड दिनुभएको छ । राप्रपा मकवानपुरद्वारा आज हेटौँडामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष थापाले राष्ट्रियता, प्रजातन्त्र र सनातन धर्म संस्कृतिको संरक्षण र सवद्र्धन गर्दै सबल र समृद्ध नेपाल निर्माणका निम्ति अबको विकल्प भनेकै राप्रपा भएको दाबी गर्नुभयो ।

उहाँले गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयताले मुलुकको राष्ट्रिय हित नहुने बताउनुभयो । प्रमुख दलले सत्ता र शक्तिको निमित्त मात्रै प्रतिस्पर्धा गर्ने होडबाजीले देशमा राजनीतिक दुर्घटना निम्तिने खतरा बढेको उहाँको भनाइ थियो । प्रशिक्षण कार्यक्रममा नवनिर्वाचित वडा तहदेखि जिल्ला कार्यसमितिका पदाधिकारीको सहभागिता रहेको राप्रपा जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस