भक्तपुरका मासु पसल सुध्रिएनन् ः झिङ्गा भन्केको, मापदण्डविपरीत फोहर


भक्तपुरका अधिकांश मासु पसल झिङ्गा भन्केको, फोहर र मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ । भक्तपुर नगरपालिकाले आज गरेको मासु पसल अनुगमनमा अधिकांश पसलमा झिङ्गा भन्किएका, फोहर र मापदण्डविपरीतका सञ्चालन भइरहेको पाइएको हो ।

भक्तपुर नगरपालिकाले यसअघि गरेको मासु पसल अनुगमनमा पनि यस्तै अवस्था देखिएको र पटक–पटक सुझाव दिँदा पनि अटेर गरेको भन्दै अनुगमन टोलीले मासु पसलमा सुधार नगरेकाले अब पनि अटेर गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा कमलविनायक क्षेत्रका विकास मिटसपमा बधस्थल पर्याप्त सफा नभएको, मासु खुला राखेर बिक्री गर्दा झिङ्गा भन्केको, धुलो परेको र फोहर भएको भन्दै सुधार्न निर्देशन दिएको छ ।

त्यस्तै कमलविनायक मिटसप अर्केको नाममा दर्ता गरेको, मूल्यसूची नराखेको, फोहर रहेको, तराजु नापतौल विभागमा नवीकरण नगरेको, मासुमा धुलो, धुँवा र झिङ्गा नजान जाली तथा सिसाको प्रयोग नगरेको पाइएको छ । सुरेन्द्र मिटसप, सरज मिटसप, मूलढोका ब्रोइलर हाउसलगायतमा मासु धुलो, धुँवा र झिङ्गा नभन्किने गरी व्यवस्था गर्न जालीले छोप्ने वा सिसाको बाकस बनाई व्यवस्था गर्न, एप्रोन सेतो प्रयोग गर्न, सरसफाइमा ध्यान दिन निर्देशन दिएको निरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो । अधिकांश मासु पसलमा सेतो एप्रोन प्रयोग नगरको, दर्ता तथा नवीकरण नगरेको पाइएकाले त्यस्तालाई तीन दिनभित्र दर्ता नवीकरण गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस