बन्दीपुरको संस्थागत स्वमूल्याङ्कन नतिजा सार्वजनिक


तनहुँको बन्दीपुर गाउँपालिकाको संस्थागत स्वमूल्याङ्कन नतिजा सार्वजनिक भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुको संस्थागत क्षमता मूल्याङ्कनका लागि १० विषयगत क्षेत्रमा तीन स्थितिहरु विभाजन गरी उक्त नतिजा सार्वजनिक गरेको हो ।

समग्र, प्रक्रियागत र परिमाणात्मक स्थिति विभाजन गरी १०० सूचकमा रही स्थानीय तहले अनलाइनमै सूचक अङ्क आवश्यक कागजात र प्रमाण पेश गरी दाबी गर्ने व्यवस्था गरिएको थियो । स्वमूल्याङ्कन नतिजा प्रकाशन गर्ने बन्दीपुर गाउँपालिका गण्डकी प्रदेशमै पहिलो स्थानीय तह हो । बन्दीपुर गाउँपालिकाको स्वमूल्याङ्कन गर्दा ६५ प्रतिशत नतिजा प्राप्त भएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले समग्र स्थितिमा ७३.८१, प्रक्रियागत स्थितिमा ५५.८८ र परिमाणात्मक स्थितिमा ६७.७८ प्रतिशत अङ्क हासिल गरेको छ ।

शासकीय प्रबन्धतर्फ ७५, सङ्गठन तथा प्रशासनतर्फ ५६.२५, वार्षिक बजेट तथा योजना व्यवस्थापनतर्फ ५९.०९, वित्तीय एवं आर्थिक व्यवस्थापन ७२.७३, सेवा प्रवाहतर्फ ७१.८८, न्यायिक कार्य सम्पादनतर्फ ७१.४३, भौतिक पूर्वाधारतर्फ ७३.०८, सामाजिक समावेशीकरणतर्फ ५२.५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनतर्फ ६६.६७ र सहकार्य र समन्वयतर्फ ३३.३३ प्रतिशत अङ्क प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।

स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिहरुका बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमीकमजोरीको जानकारी लिन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न र गाउँपालिका तथा नगरपालिकाको बीचमा तुलनायोग्य सूचक तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८० को प्रयोजनका लागि मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि बनाएको थियो ।

मन्त्रालयको कार्यविधिअनुसार शासकीय प्रबन्धतर्फ नौ, सङ्गठन तथा प्रशासनतर्फ आठ, वार्षिक बजेट तथा योजना व्यवस्थापनतर्फ ११, वित्तीय एवं आर्थिक व्यवस्थापन ११, सेवा प्रवाहतर्फ १६, न्यायिक कार्य सम्पादतर्फ सात, भौतिक पूर्वाधारतर्फ सात, सामाजिक समावेशीकरणतर्फ १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनतर्फ नौ र सहकार्य र समन्वयतर्फ छ कूल भार निर्धारण गरिएको छ ।

सूर्य नेपालद्वारा म्याग्दे गाउँपालिकालाई एम्बुलेन्स सहयोग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले तनहुँको म्याग्दे गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व वहनअन्तर्गत सूर्य नेपालले गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको हो । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित चुरोट कारखानाका व्यवस्थापक बाबुराम कार्कीले गाउँपालिकाका अध्यक्ष मायादेवी राना र उपाध्यक्ष बालकृष्ण घिमिरेलाई बिहीबार एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभएको छ ।

कारखानाका व्यवस्थापक कार्कीले सामाजिक उत्तरदायित्व वहनअन्तर्गत कम्पनीले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभयो । उहाँले यस क्षेत्रको समग्र विकासका लागि स्थानीयवासीसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो । गाउँपालिकाका अध्यक्ष रानाले कम्पनीले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै एम्बुलेन्सले सर्वसाधारणलाई सहजरूपमा स्वास्थ्य सेवा प्रवाह गर्न सहज हुने बताउनुभयो । रानाले सूर्य नेपालबाट यस क्षेत्रमा भइरहेको सहयोगको उच्च मूल्याङ्कन गर्दै भविष्यमा समेत यस्तै सहयोगको अपेक्षा गर्नुभयो ।

अब म्याग्दे गाउँपालिकामा दुईवटा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । यस अगाडि गाउँपालिकाले आफैँले पनि एम्बुलेन्स खरिद गरेको थियो । दुईवटा एम्बुलेन्स भएसँगै गाउँपालिकाका ग्रामीण भेगका सर्वसाधारणले सहजरूपमा सेवा पाउने गाउँपालिकाका प्रशासन शाखा प्रमुख प्रदीप न्यौपानेले जानकारी दिनुभयो ।

सूर्य नेपालले विसं २०७७ असोज १४ गते शुक्लागण्डकी नगरपालिकालाई पनि एम्बुलेन्स हस्तान्तरण गरेको थियो । सूर्य नेपालले विगत लामो समयदेखि शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार तथा अन्य सामाजिक विकासका विभिन्न क्षेत्रमा थुप्रै सहयोग गर्दै आइरहेको छ । सूर्य नेपालले विसं २०४३ देखि सिमरामा चुरोट उत्पादन गर्दै आएको छ । तराईमा असुरक्षा महसुस गर्दै कम्पनीले छ वर्ष अगाडि तनहुँको शुक्लागण्डकी नगरपालिकामा उद्योग स्थापना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस