स्थानीय भाषा जान्ने गणक खटाउनुपर्ने


राष्ट्रिय जनगणना–२०७८ मा स्थानीय भाषा बोल्ने बाहुल्य भएका क्षेत्रमा सोही भाषीका गणक खटाउनु सहभागीहरुले सुझाव दिएका छन् । जिल्ला जनगणना कार्यालय क र ख द्वारा बिहीबार यहाँ आयोजित जिल्लास्तरीय सचेतना गोष्ठीमा सहभागीले गणकलाई खटाउँदा अनुगमन गर्नुपर्ने, सार्वजनिक सूचना सम्प्रेषण गर्नुपर्ने, विराट राजवंंशीको भाषा, जातिको समूह जनाउने कोलम राख्नुपर्ने र स्वास्थ्य सम्बन्धमा दीर्घरोगीका विषयमा आवश्यक कोलम राख्नुपर्नेजस्ता सुझाव दिनुभएको थियो ।

केन्द्रीय तथ्याङ्क विभागका निर्देशक रामहरि गैरेले राष्ट्रिय जनगणना–२०७८ संक्षिप्त जानकारी एवं तयारी कार्यसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै आउँदो जनगणनामा ७० लाख घरपरिवार र तीन करोड जनसङ्ख्या हुने अनुमान व्यक्त गर्नुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला जनगणना संयोजक कोषहरि निरौलाले जनगणनाले जनसङ्ख्या, धर्म, संस्कृति, भाषालगायतका क्षेत्रका समानुपातिक, समावेशी सिद्धान्तका रूपमा राज्यलाई सही तथ्याङ्कक उपलब्ध हुने विचार व्यक्त गर्नुभयो ।

प्रदेश जनगणना कार्यालयका निर्देशक तीर्थराज बरालले जनगणना विधि, अवधारणा र परिभाषा विषयमा कार्यपत्र प्रस्तुत गर्दै वैज्ञानिक विधिमार्फत गणकको छनोट गरिएको र स्थानीयवासीलाई प्राथमिकता दिइएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष खड्काले मूलघरबाट अन्यत्र बहाल वा कार्यको कारणवश बसेकाका परिवारका सदस्यका सम्बन्धमा गणना दोहोरिने सम्बन्धमा सचेत हुन जरुरी रहेको धारणा राख्नुभयो । गोष्ठीमा निजामती कर्मचारी, विभिन्न सङ्घसङ्गठनका प्रतिनिधि र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

पत्रकार महासङ्घ मोरङमा खनाल विजयी

नेपाल पत्रकार महासङ्घ मोरङको अध्यक्षमा प्रेस चौतारीका सञ्जीव खनाल विजयी हुनुभएको छ । यसैगरी उपाध्यक्षमा मोहन भट्टराई, महिला उपाध्यक्षमा तारा आचार्य र सचिवमा नेत्र पी अधिकारी निर्वाचित हुनुभएको छ । सहसचिवमा पर्शुराम निरौला (प्रशान्त) तथा समावेशी सहसचिवमा अनिल श्रेष्ठ विजयी हुनुभएको छ ।

सदस्यहरुमा दिलीप अग्रवाल, वीरेन्द्र साह, तेजन खड्का, राकेश कर्ण, एलिना दियाली, पवनकुमार साह, पदमकुमार सरदार, दीपा धिमाल, उषाकुमारी सरदार, बबिता साम्पाङ राई, गोपाल पोखरेल र सुरेश अधिकारी विजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस