नव संवत्सर आरम्भ, सङ्कल्पमा ‘राक्षस’ उच्चारण हुने


प्रत्येक वर्ष चैत्र शुक्ल प्रतिपदादेखि नयाँ संवत्सर शुरु हुन्छ । आज बिहानदेखि राक्षस नामको संवत्सर शुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । राक्षस नामको संवत्सर ६० संवत्सरमध्ये ४९औँ संवत्सर हो । सोमबारसम्म ४७औँ प्रमादी नामको संवत्सर धार्मिक कर्मको सङ्कल्पमा उच्चारण गरिन्थ्यो । चैत्र शुक्ल प्रतिपदाका दिनमा जुन संवत्सरले भेट्छ वर्षभरका धार्मिक कर्ममा त्यही संवत्सरको उच्चारण गरिन्छ ।

चैत्र शुक्ल प्रतिपदामा ४८औँ आनन्द संवत्सर नभेटेकाले ४९औँ राक्षस संवत्ससर शुरु भएको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । यो तिथि क्षय भएजस्तै अवस्था रहेको समितिले जनाएको छ । समितिका सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेल गणनाअनुसार गत चैत २३ गतेदेखि नै राक्षस नामको संवत्सर शुरु भएको बताउनुहुन्छ । चैत्र शुक्ल प्रतिपदाका दिन जुन संवत्सरले भेट्यो त्यही नाम वर्षभर उल्लेख गरिन्छ । गत वर्ष चैत्र शुक्ल प्रतिपदामा प्रमादी संवत्सर थियो । त्यसपछि आनन्द नामको संवत्सर आएर यस वर्ष चैत्र शुक्ल प्रतिपदा लाग्नुअघि नै राक्षस नामको संवत्सर शुरु भएको उहाँले सुनाउनुभयो ।

यस वर्ष राक्षस नाम गरेको संवत्सर रहेकाले अल्पवृष्टि भई अनाज उत्पादनमा कमी आउनेछ । समाज निर्दयी हुने, रोग, भय र महङ्गीले जनता आक्रान्त हुनेजस्ता फल बृहत्संहिता नामक ज्योतिषशास्त्रलगायत ग्रन्थमा उल्लेख गरिएको छ । धार्मिक कर्ममा सङ्कल्प गर्दा आजैदेखि राक्षस नामको संवत्सरको उच्चारण गरिन्छ । यो उच्चारण अर्को वर्ष चैत्र कृष्ण औँशीसम्म जारी रहन्छ ।

ब्रह्मपुराणले चैत्रशुक्ल पतिपदाबाट सृष्टि आरम्भ भएको उल्लेख गरेको छ । भगवान् ब्रह्माले चैत्र शुक्ल प्रतिपदाबाट नै सृष्टि गरी सत्ययुगको प्रारम्भ भएको शास्त्रीय मान्यता छ । ज्योतिषमा चान्द्रमासको आधारमा चैत्र शुक्ल प्रतिपदाबाट कालगणना गरिन्छ । चान्द्रमासअनुसार चैत्र शुक्ल प्रतिपदाका दिन संवत्सर शुरु हुन्छ । विक्रमादित्यका नामबाट चलेको विक्रम संवत्मा सौरमासका आधारमा वैशाख महिनादेखि नयाँ वर्ष शुरु हुन्छ । यस वर्ष संयोगले संवत्सर आरम्भ र विक्रम संवत्को नयाँ वर्ष आरम्भ अघिल्लो दिन र भोलिपल्टदेखि शुरु हुँदैछ ।

आजका दिन प्रत्येक घरमा ध्वजा सजाउने प्राचीन परम्परा छ । ज्योतिषीको पूजा गरी वर्षफल श्रवण गर्ने, निमको पात खाने गरिन्छ । ऋतु परिवर्तनका बेला रुघाखोकी लाग्ने भएकाले पनि निमको पात खानुपर्ने विधान प्राचीनकालदेखि शुरु गरिएको हो । कोरोनाजस्ता रोगबाट बच्न पनि प्राचीनकालमा यस्तो परम्परा शुरु गरिएको आयुर्वेद शास्त्रीय मत छ । सिद्धान्त शिरोमणि नामको ग्रन्थमा भाष्कराचार्यले चैत्र शुक्ल प्रतिपदाका दिनदेखि संवत्सर आरम्भ भएको उल्लेख गर्नुभएको छ । यसबेला न चिसो न जाडोको अवस्था हुने भएकाले प्राकृतिकरूपमा पनि वसन्त ऋतुबाट नयाँ संवत्सरको आरम्भ भएको विश्वास गरिन्छ ।

विसं अनुसारको नयाँ वर्ष वैशाख १ गते बुधबारदेखि शुरु हुँदैछ । वैशाख महिनाको देवता मधुसूदन, देवी मोहिनी र भानुः नामको सूर्य रहेको छ । नयाँ वर्ष आरम्भका बेला मेष राशिमा सूर्यः, मेष राशिमै चन्द्रमा र कुम्भ राशिमा वृहस्पति (गुरूः) रहने समितिले जनाएको छ । विसं हिन्दू पञ्चाङ्गमा आधारित नेपालको राष्ट्रिय पात्रो हो । यो प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित सौरमासअनुसारको पात्रो हो । यो ग्रेगोरियन पात्रो (अङ्ग्र्रेजी पात्रो) भन्दा ५७ वर्ष आठ महिना १५ दिन छिटो छ । यस पात्रोमा वर्षको शुरूआत वैशाख महिनाको पहिलो दिनदेखि हुन्छ । विसं सूर्यसँग सम्बन्धित भएकाले नक्षत्रका नाम पनि महिनासँग सम्बन्धित छन् । विशाखाबाट वैशाख, ज्येष्ठाबाट जेठ, पूर्वाषाढाबाट आषाढ आदि नाम रहेको हो । भारत वर्षमा राजा विक्रमादित्यले शुरुआत गरेको विक्रम संवत् नेपालमा आधिकारिकरूपमा चन्द्रशम्शेरको पालादेखि लागू भएको हो । रासस

प्रतिक्रिया दिनुहोस