‘अक्षर बनिदिए भावहरु’ कविता तथा गीत सङ्ग्रह सार्वजनिक


काठमाडौँ, १९ वैशाख । हाल अमेरिका निवासी कवि अमर रोकाद्वारा रचित ‘अक्षर बनिदिए भावहरु’ कविता तथा गीत सङ्ग्रह जुम प्रविधिबाट सार्वजनिक भएको छ सिसार साहित्य प्रतिष्ठानले शनिबार बेलुकी जुम प्रविधिमार्फत आयोजना गरेको कार्यक्रममा कविका माता एवं नेपालकी पहिलो जागिर खाने महिला ८४ वर्षीया मीना रोकाले कविता सङ्ग्रह विमोचन गर्नुभएको हो । गीत र कविता गरी ४१ वटा सङ्ग्रह गरिएको पुस्तकमा ७९ पृष्ठ छ । पुस्तकको मूल्य रु ९५ छ । पूजा रोकाले प्रकाशन गर्नुभएको कविता तथा गीत सङ्ग्रहको भाषा सम्पादन उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले गर्नुभएको हो ।

लेखकको यो पहिलो कृति हो । रोकाका कविता र गीतमा मन र जीवनका प्रवाह प्रवाहित भएको छ । कविता सङ्ग्रहका बारेमा समीक्षा गर्नुहुँदै समालोचक प्रा डा ज्ञानु पाण्डेले प्रेम, प्रणय र कोमल भावनाका कविता तथा गीतहरु सङ्ग्रहमा समेटिएको बताउनुभयो । सङ्ग्रहमा ह्रास हुँदै गएको मानवीय संवेदनाका विषयमा पनि मन छुने रचना समेटिएको उहाँले सुनाउनुभयो ।

कार्यक्रममा वरिष्ठ कलाकार उत्तम नेपाली, प्रा डा जङ्गन चौहान, कलाकार गौरी मल्ल, लेखक रोका, डा मधु माधुर्यलगायतले रोजगारीका लागि विदेशिने नेपालीको मर्मलाई गीत र कविताका माध्यमबाट पाठकसमक्ष प्रस्तुत गरिएको बताउनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस