अन्तरराष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगितामा बङ्गलादेशकी बल प्रथम


काठमाडौँ, १९ वैशाख ।अन्तरराष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगितामा बङ्गालादेशकी इभान्जेलिना बल प्रथम हुनुभएको छ । गैरआवासीय नेपाली सङ्घको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समिति र अन्तरराष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास)का आयोजनामा सम्पन्न प्रतियोगितामा जापानका अभिनव गिरी द्वितिय र पोर्चुगलकी मानस्वी खरालले तेस्रो स्थान हासिल गरेका छन् । विजेता बलले एक हजार डलर, द्वितीय गिरीले पाँच सय डलर र तृतीय खरालले तीन सय डलर पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा अङ्ग्रेजी भाषा कविताको विधातर्फ उत्कृष्ट हुँदै अमेरिकाकी ओजस्वी पसछेले दुई सय डलरको पुरस्कार जित्नुभएको छ ।
अनेसासका अध्यक्ष प्रकाश माइलाका कार्यक्रममा अध्यक्षतामा भएको कार्यक्रममा विजेता सबैलाई नेपाल प्रज्ञा –प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बधाई दिँदै दोस्रो पुस्ताका गैरआवासीय नेपालीले नेपाली भाषा, साहित्य र संस्कृतिलाई अनुसरण एवं प्रवद्र्धन गर्न विशिष्ट भूमिका खेल्नुपर्ने बताउनुभयो ।

मूल्याङ्कन समितिका तर्फबाट प्रज्ञा –प्रतिष्ठान, काव्य विभाग प्रमुख प्रा डा हेमनाथ पौडेलले नेपाली भाषाका प्रतियोगी र महेश पौडेलले अङ्ग्रेजी भाषाका प्रतियोगीमध्येबाट पुरस्कृत नामको घोषणा गर्नुभएको थियो । साहित्यकार अशेष मल्ल, दिनेश अधिकारी, प्रकाश सायमी, डा विन्दु शर्मा र केशव सिग्देल (नेपाल), रवीन शर्मा र प्रवीणा बराल (जापान), गोवद्र्धन पूजा र हिमांशुनिभा कुँवर (अमेरिका), तीर्थसङ्गम राई (कतार), गणेश खड्का (अफ्रिका) र इसिका अधिकारी (युरोप)ले पनि आआफ्ना कविता वाचन गर्नुभएको थियो ।

प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला संयोजकत्वको मूल्याङ्कलन समितिका छनोटमा परेका अन्तिम चरणका अंशु सुवाल, आगत खरेल, गङ्गा फुयाँल, सौगात पराजुली, समृद्धि नेपाललगायतले नेपाली र मारिया अधिकारी, प्रेमा पौड्याललगायतले अङ्ग्रेजीमा कविता वाचन गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस