नगरपालिकाले बनायो ‘बिजुली घर’ स्थापित उद्योगबाट बल्ब उत्पादन शुरु


ओखलढुङ्गा, २५ वैशाख । विद्युत्को बल्ब उत्पादक उद्योग सञ्चालनमा आएको छ । सिद्धिचरण नगरपालिका र स्थानीय उद्यमीको सहकार्यमा बल्ब उत्पादनका लागि ग्रामीण बिजुली घर सञ्चालनमा आएको हो । वडा नं ७ बिगुटारमा एलइडी बल्ब उत्पादन उद्योग स्थापना गरिएको छ । स्थापित उद्योगबाट बल्ब उत्पादन शुरु गरिएको छ । नगरपालिकाको अनुदान सहयोग र ७ नं वडा कार्यालयको पहलमा स्थानीयवासी यदुनाथ दाहालले बल्ब उत्पादन शुरु गर्नुभएको हो ।

वडा कार्यालयको पहलमा नगरपालिकाको रु एक लाख अनुदान र दाहालको रु दुई लाख लगानीमा ग्रामीण बिजुली घर उद्योग सञ्चालनमा आएको छ । परीक्षणका रुपमा उद्योगमा दैनिक ५० बल्ब उत्पादन भइरहेका छन् । उद्योगको क्षमता बढाउने र बजारीकरण गर्न वडा कार्यालयले सहजीकरण गर्ने वडाध्यक्ष बमबहादुर राईले जानकारी दिनुभयो । उद्योगमा प्याकेजिङ खोल नभएका कारण बजारमा लैजान समस्या छ । बल्बको खोल निर्माण पनि थालिसकिएको वडाध्यक्ष राईले बताउनुभयो । जिल्लालाई बिजुलीको बल्बमा आत्मनिर्भर बनाउन उद्योग स्थापना गरिएको वडाध्यक्ष राईको भनाइ छ ।

जिल्लामा बिजुलीको बल्ब आयात मात्रै हुने भएकाले स्थानीयस्तरमै उत्पादन भएपछि लागत कम पर्ने व्यवसायीको भनाइ छ । हाल बल्ब उत्पादनका लागि एउटा मात्रै मेशिन खरीद गरिएको छ । जनशक्ति र बजार व्यवस्थापनको काम अघि बढेपछि थप मेशिन राखेर उत्पादन बढाउन सकिने उद्योग सञ्चालक दाहालको भनाइ छ ।

ग्रामीण बिजुली घर नगरपालिकाको सहकार्यमा सञ्चालनमा आएको पहिलो स्थानीय उद्योग हो । उद्योगमा काम गर्ने कामदारलाई तालीममा पठाएर तालीम लिएर आएका कामदारबाट उत्पादन शुरु गरिएकाले यसको दिगोपनामा शङ्का नरहेको उद्योग सञ्चालकको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस