भर्चुअल शिक्षण विधि प्रभावकारी बनाउन आधुनिक प्रविधि आवश्यक


काठमाडौँ, २५ वैशाख । नयाँ भेरियन्टसहितको कोभिड–१९ तीव्र रुपमा फैलिएपछि भर्चुअल माध्यमबाट जारी शिक्षण सिकाइ विधिलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि उपयोग गरिनुपर्नेमा जोड दिइएको छ ।

सुशील कोइराला मेमोरियल फाउन्डेशनले आज यहाँ जुम प्रविधिका माध्यमबाट आयोजना गरेको शिक्षाका लागि डिजिटल रुपान्तरण विषयक अन्तरक्रिया कार्यक्रममा त्रिभुवन विश्वविद्यालय दूर शिक्षा केन्द्रका उपनिर्देशक डा वेदप्रसाद ढकालले हाल अनलाइनका नाममा प्रविधिबाट दिइएको शिक्षा त्यति धेरै प्रभावकारी हुन नसकेको बताउनुभयो ।

अनलाइनबाट शिक्षण सिकाइका लागि शिक्षकशिक्षिकालाई प्रशिक्षित नगरेको र अनलाइन माध्यमबाट भइरहेको कक्षामा व्यवस्थित रुपमा आधुनिक प्रविधिको प्रयोगसमेत नगरी सामाजिक सञ्जाल चलाएको शैलीमा औपचारिकताका लागिमात्र शिक्षा दिएजस्तो भएको उहाँको प्रस्तुतिमा उल्लेख थियो । कक्षाकोठामा मात्र नभई जहाँसुकै जतिसुकै बेला शिक्षा लिनुपर्ने भएकाले त्यसै अनुरुप तयारी गरिनुपर्नेमा सो अवसर जोड दिइएको थियो ।

“साना उमेरका बालबालिकाले कम अन्तरक्रिया गर्न चाहन्छन्, विषयमा केन्द्रित गर्न अप्ठ्यारो छ, शिक्षकले अनुहार देखाऊ भनिरहेका हुन्छन्, एक घण्टाको कक्षामा आधा घण्टा विद्यार्थीलाई यसो गर, उसो गर भनेर बित्छ, आधुनिक प्रविधि उपयोग नगर्दा अनलाइन सिकाइ प्रभावकारी हुन सकेको छैन”, उहाँले भन्नुभयो ।

हाल २१औँ शताब्दीको पेडागोजी प्रयोग गरेर भर्चुअल शिक्षा दिनुपर्ने र डिजिटल पेडागोजीलाई समेत शिक्षण सिकाइमा उपयोग गरिनुपर्नेमा कार्यक्रमका विज्ञले जोड दिनुभएको थियो । विद्यार्थीलाई भर्चुअल माध्यमबाट दिएको सामग्री हेरे नहेरेको शिक्षकले हेर्न सकिने प्राविधिक प्रणाली समावेश गर्न सके अनलाइन शिक्षण सिकाइ प्रभावकारी हुने ढकालको भनाइ थियो ।

कक्षामा आएका र नआएका विद्यार्थीलाई समानुपातिक रुपमा सिकाउने प्रणाली, शिक्षकले धेरै बोलेर धेरै सिकाइ हुने नभई एक घण्टाको कक्षामा दुई पटक र डेढ घण्टाको कक्षामा तीन पटक शिक्षक बोले पुग्ने विधि अनलाइनबाट नै उपयोग गर्न सकिने जनाइएको छ । अरू समय विद्यार्थी पढाएको विषयमा केन्द्रित गराउनुपर्छ ।

अनलाइन शिक्षण सिकाइका बारेमा प्रस्तुति गर्दै प्रा डा हिमलाल घिमिरेले नेपालमा १२ प्रतिशत विद्यालयमा मात्र इन्टरनेट सुविधा दिन मिल्ने भन्ने प्रतिवेदन आर्थिक सर्वेक्षणमै उल्लेख भई आएकाले पूर्वाधार विकासमा गरिनुपर्नेमा जोड दिनुभयो । इन्टरनेट पूर्वाधार विकासका लागि सरकारले नीतिगत रुपमा पहुँच बढाउने गरी कार्यक्रम अघि सार्नुपर्ने उहाँको भनाइ थियो ।

फाउन्डेशनका सदस्यसचिव अतुल कोइरालाले शिक्षा र सूचनाको अधिकारका लागि पनि सबै नेपालीको पहुँचमा इन्टरनेट पूर्वाधार पुग्नुपर्ने बताउनुभयो । नेपलामा शिक्षालाई प्रविधिसँग जोड्न फाउन्डेसनले माइक्रोसफ्ट कम्पनीसँग मिलेर काम गर्न लागेको जानकारी पनि उहाँले सो अवसरमा दिनुभयो । समसामयिक विषयमा अन्वेषण यात्रा कार्यक्रमअन्तर्गत साप्ताहिक रुपमा कार्यक्रम आयोजना गरिने फाउन्डेशनले जनाएको छ ।

कार्यक्रममा नेपालस्थित माइक्रोसफ्ट कम्पनीका लेखा कार्यकारी दीपेन्द्र बज्राचार्यले शिक्षालाई प्रविधिसँग जोडी कोरोना महामारीजस्ता जटिल परिस्थितिमा उपयोग हुने गरी सहयोग गरिएको आगामी दिनमा पनि यसलाई नियमितता दिइने बताउनुभयो ।

कार्यक्रमका सहभागीले भर्चुअल शिक्षा भिडियो सम्मेलनमा मात्र सीमित भएको, विद्यार्थीको उपस्थिति प्रविधिको प्रणालीबाट नै लिन सकिने भए पनि त्यसको उपयोग गर्न नसकिएको, सबै विद्यार्थीलाई एकैपटक गृहकार्य पठाउन सकिने प्रविधि भए पनि शिक्षकलाई तालीम, प्रक्षिशण नदिएकाले प्रभावकारी हुन नसकेको विषय राख्नुभएको थियो ।

कार्यक्रममा रत्नराज्यलक्ष्मी क्याम्पस पत्रकारिता विषयका उपप्राध्यापक जगत नेपाल, अभिभावक रामचन्द्र घिमिरेलगायतले अनलाइन शिक्षा पद्धतिलाई प्रभावकारी बनाउन इन्टरनेट, विद्युत्लगायत पूर्वाधारको विकास देशका ग्रामीण भेगसम्म गरिनुपर्नेमा जोड दिनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस