१८ हजार ओखरका बिरुवा ल्याइँदै


यहाँ व्यावसायिक ओखर खेतीका लागि च्यान्दलर, फिन्क्वाइटलगायतका जातका अठार हजार बिरुवा खरिद गरि जहाजमा ढुवानी शुरु गरिएको छ ।

क्षेत्रिय कृषि निर्देशनालय सुर्खेतको रु ९१ लाख ६२ हजार रकम अनुदान कार्यक्रमबाट बिरुवा खरिद गरि आजदेखि जहाजमा ढुवानी शुरु गरिएको हो । आजमात्रै समिट एयरको जहाजमा नेपालगञ्जबाट नौ हजार बिरुवा ढुवानी गरेर जुफाल विमानस्थल झारिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख शरद लामाले जानकारी दिनुभयो ।

सम्पूर्ण बिरुवा ढुवानीको जिम्मा समिट एयरले लिएकाले बाँकी नौ हजार बिरुवा मङ्गलबार आइपुग्ने लामाको भनाइ छ । एउटा ओखरको बिरुवाको टर्कीबाट खरिद गरि समुन्द्रीमार्ग हुँदै डोल्पासम्म ल्याइ पु¥याउँदा रु एक सय नौ परेको कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लाका सम्पुर्ण ओखर पकेट र बल्गमा आवद्ध इच्छुक कृषक तथा समूहका लागि बिरुवा वितरणका लागि आइतबार नै सूचना जारी गरिएको कार्यालयको भनाइ छ । मङ्गलबारदेखि नै बिरुवा वितरण शुरु गरेर तल्लो डोल्पामा पर्ने मुड्केचुला र जगदुल्ला गाउँपालिका पठाइने कृषि कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस