अस्पतालमा स्वास्थ्यकर्मीको अभाव


जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएको छ । अस्पतालमा कार्यरत ४० स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएर आइसोलेशनमा बसेका कारण दैनिक उपचारमा समेत समस्या आएको छ ।

नौ दिनसम्म लगातार २४ घण्टाको डिउटी गर्दा थकित भए पनि काम नरोकेको अस्पतालका स्वास्थ्य सहायक कृष्णलाल उप्रेतीले बताउनुभयो । पालोदिने स्वास्थ्यकर्मी नभएकाले नौ दिनसम्म २४ घण्टा खटिनुपरेको उप्रेतीको भनाइ छ ।

अस्पतालमा हाल दुई स्वास्थ्यकर्मीले नौ दिनदेखि लगातार बिरामीको उपचार गरिरहेका छन् । सङ्क्रमित स्वास्थ्यकर्मीसमेत आइसोलेशनमा भएकाले आइसोलेशनमा भने सङ्क्रमित स्वास्थ्यकर्मीले सेवा दिइरहेको अस्पतालले जनाएको छ । यस्तै आइसोलेशनमा एकजनाको मृत्यु भएको छ ।

अस्पतालबाट सञ्चालित कोभिड–१९ अस्थायी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको मृत्यु भएको हो । निलकण्ठ नगरपालिका–२ का ७५ वर्षीय वृद्धको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट त्रिभुवनचन्द्र झाले बताउनुभयो । एकसाताअघि आइसोलेशनमा श्वासप्रश्वासमा समस्या आएपछि उनलाई भर्ना गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस