निजी अस्पतालमा पनि कोभिड–१९ का बिरामीको उपचार


वाग्मती प्रदेशको राजधानी हेटौँडामा निजी क्षेत्रबाट सञ्चालित दुई वटा अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने तयारी गरिएको छ । मकवानपुरमा रहेको चुरेहिल अस्पतालमा आइसियूसहितको १० शैया र मकवानपुर सहकारी संस्थाद्वारा सञ्चालित मकवानपुर सहकारी अस्पतालमा २५ शय्याको कोभिड अस्पताल सञ्चालनको तयारी गरिएको हो ।

जिल्ला कोभिड­१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकको निर्णयअनुसार ती दुबै निजी क्षेत्रबाट सञ्चालित अस्पताललाई तत्कालका लागि कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने तयारी गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिनुभयो ।

हाल हेटौँडा अस्पतालमा कोभिड–१९ का बिरामीको उपचार हँुदै आएको छ । हेटौँडा अस्पतालमा दिन प्रतिदिन बिरामीको सङ्ख्या बढ्दै गएकाले उपचारका लागि शय्या अभाव हुन सक्ने भएकाले आवश्यकता महशुस गरी निजी अस्पतालमा समेत कोभिडका बिरामी उपचार गर्ने गरी व्यवस्था मिलाइएको हो ।

मकवानपुर जिल्लाअन्तर्गत हेटौँडा उपमहानगरपालिकामा गौरीटार आइसोलेसनमा अक्सिजन र मेडिकल टोलीसहित १२० शय्या रहेको छ । यसैगरी जिल्लाका सबै पालिकामा न्यूनतम् १० देखि अधिकतम २५ शय्याको आइसोलेसन सेन्टर सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा १० पालिका रहेका छन् । मकवानपुरका दशवटै स्थानीय तहको पहलमा कोभिड­१९ भाइरसको पिसिआर परीक्षणको दायरा बढाउने तयारी गरिएको छ ।

मकवानपुरको कोभिड सङ्क्रमित तथा मृत्य र सङ्क्रमण मुक्त भएको तथ्याङ्कबारे सूचना एकद्धार प्रणालीमा दिनलाई आवश्यक समन्वय गर्न सबै निकायमा जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको जनाएको छ ।

बैठक तथा भेला तत्काल रोक्न आग्रह

वाग्मती प्रदेशको राजधानी हेटौँडासहित नजिक रहेका गाउँपालिका क्षेत्रमा विभिन्न लघुवित्त तथा फाइनान्सलगायतका वित्तीय संस्थाहरुले समूह गठन गर्दै आएको भन्ने सूचनाका आधारमा त्यस्ता बैठक तथा भेला तत्काल रोक्न आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लामा पनि कोभिड­१९ को जोखिम तीव्र रुपमा फैलिदै गएको जनाउँदै तत्कालका लागिग लघुवित्त तथा फाइनान्स संस्थाहरुले समूह गठन, बैठक तथा भेला तत्काल रोक्न आग्रह गरेको हो ।

हेटौंडा अस्पतालका डा श्रेष्ठद्वारा राजीनामा

वाग्मती प्रदेश सरकारको स्वामित्वमा रहेको हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट ९मेसु० डा प्रवीण श्रेष्ठले आफ्नो पदमा राजीनामा दिनुभएको छ । आफूलाई आफ्नो पदीय जिम्मेवारीअनुसार काम गर्न असहज भएको भन्दै उहाँले वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव यज्ञप्रसाद ढुङ्गेललाई राजीनामा पत्र बुझाउनुभएको हो ।

मन्त्रालयका सचिव ढुङ्गेलले हेटौंडा अस्पतालका मेसु श्रेष्ठको राजीनामा दिनुभएको पुष्टि गर्नुभयो । मेसु श्रेष्ठको नियुक्ति सङ्घीय सरकारबाट भएकाले उहाँको राजीनामालाई सङ्घीय स्वास्थ्य मन्त्रालयमा पठाइएको जानकारी दिनुभयो ।

विगतमा सङ्घीय सरकारअन्तर्गत रहेको हेटँौंडा अस्पताललाई सङ्घले वाग्मती प्रदेश सरकारलाई अस्पतालको जिम्मेवारी केही समयअघि हस्तान्तरण गरेको थियो । प्रदेश सरकारले पनि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अस्पतालको व्यवस्थापनको जिम्मेवारी दिएको थियो ।

मेसु श्रेष्ठले हेटौँडा अस्पताल विकास समितिको खातामा भएको रकम प्रतिष्ठानअन्तर्गतको अस्पताल विकास समितिको खातामा जम्मा गर्न नसक्ने भन्दै राजीनामा दिनुभएको बताउनु भएको छ । उहाँले आफूलाई काम गर्न जोखिम बढ्ने भएकाले मेसु पदबाट राजीनामा दिएको दाबी गर्नुभयो । प्रतिष्ठानले आफूलाई अस्पताल विकास समितिको रकम झिकेर प्रतिष्ठानकै अस्पताल विकास समितिको खातामा जम्मा गर्न र अस्पतालको लोगो परिवर्तन गर्न भनेपछि आफूले त्यसो गर्न नसक्ने भएकाले मेसुको जिम्मेवारीबाट राजीनामा दिनुपरेको उहाँको भनाइ छ ।

यसअघि अस्पताल विकास समितिको खातामा मेसु र लेखापालको हस्ताक्षर चल्ने गरेको थियो । गएको चैत्र २७ गते अस्पतालको बोर्डले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकूलपति, रजिष्ट्रार र लेखापालको हस्ताक्षर चल्ने निर्णय गरेको उहाँको भनाइ छ । प्रतिष्ठानको सोही निर्णयको आधारमा उनीहरुलाई नै झिक्न सुझाव दिएको भन्दै आफूले सो रकम झिक्न नमिल्ने बताएको डा श्रेष्ठले जानकारी दिनुभयो । अहिले अस्पताल विकास समितिको खातामा करीब एक करोड रुपैयाँ छ भने स्वास्थ्य बिमा बोर्डबाट साढे चार करोड रुपैयाँ आउन बाँकी छ । रासस

प्रतिक्रिया दिनुहोस