नेपालमा कोरोनासँग जुध्न बेलायतमा रहेका नेपाली एकजुट


– कृष्णप्रसाद शर्मा

गैरआवसीय नेपाली युकेले नेपालमा बढ्दै गइरहेको कोरोनाको नियन्त्रण र रोकथामका लागि बेलायतबाट सक्दो सहयोग गर्न यहाँका नेपालीहरूलाई एकजुट गराउने कामको थालनी गरेको छ । एनआरएनए युकेकी अध्यक्ष श्रीमती पुन गुरुङको सक्रियतामा बुधबार लण्डनस्थित नेपाली दूतावास, एनआरएनए युकेको संरक्षक परिषद् र बेलायतका विभिन्न स्थानीय तहमा निर्वाचित नेपालीमूलका मेयर, उपमेयर, काउन्सिलरसहितका प्रतिनिधिबीच गम्भीर छलफल भएको छ ।

उक्त छलफल खासगरी नेपालमा बेलायतबाट के–कस्तो सहयोग गर्न सकिन्छ भन्नेमा केन्द्रित रहेको अध्यक्ष गुरुङले बताउनुभयो । बेलायतमा धेरै नेपाली सङ्घसंस्था रहेको र ती संस्थाले एकमुष्ट सहयोग गर्न सके नेपालमा केही राहत हुने देखिएकाले अब छिट्टै सबै नेपाली समुदायलाई एकजुट गराई सकेको सहयोग गरिने गैरआवासीय नेपाली युकेका महासचिव फणिन्द्र भट्टराईले बताउनुभयो ।

यसका साथै बेलायतको राजनीतिमा बढ्दै गइरहेका नेपालीमूलका नेपालीको पहुँच र पहलबाट पनि नेपालमा थप केही सहयोग हुने भएकाले नेपालीमूलका स्थानीय जनप्रतिनिको समेत बैठकमा उपस्थिति रहेको गैरआवासीय नेपाली युकेका पूर्वअध्यक्ष एवं समाजसेवी सूर्य गुरूङले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायत सरकारसँग नेपाल सरकारको प्रतिनिधिका रूपमा आफूले कोरोनाको खोपको माग गरिसकेको र उच्च तहबाट सकारात्मक प्रतिक्रिया आएको बताउनुभयो । बेलायतको नेपाली समुदायबाट आइसीयू, भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिण्डर, टेस्ट कीटजस्ता अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल सरकारलाई उपलब्ध गराउन सके प्रभावकारी हुने राजदूत रेग्मीको भनाइ थियो । साथै यहाँको नेपाली समुदायले गरेको सहयोग सम्बन्धित ठाउँमा पु¥याउन दूतावास सदैव तयार रहेकोसमेत उहाँले बताउनुभयो ।

कार्यक्रममा एनआरएनए युके पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक डम्मर घले, संरक्षक सूर्य गुरुङ, संरक्षक तथा आइसिसी सल्लाहकार कुल आचार्य र निर्वतमान अध्यक्ष योगकुमार फगामीले दूतावास र एनआरएन मिलेर नेपालको सहयोगमा जुटाए राम्रो हुने बताउनुभयो । कार्यक्रममा बेलायतमा नवनियुक्त एवं पूर्वकाउन्सिलरहरु जीव बेल्वासे, नेम थापा, डा जगन्नाथ शर्मा प्रवेश केसी, नवीन सेवा, दिनेश खड्का, डेपुटी मेयर लक्ष गुरुङ र नवनिर्वाचित मेयर विष्णुबहादुर गुरुङले आ–आफ्नो धारणा राख्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस