लकडाउनमा परेका समस्त नेपालीहरूको लागि नेपाली मौलिक चलचित्र ‘थात्थलो’ शुक्रबार युट्युबमा सार्वजनिक हुने


काठमाडौँ, दुई बर्ष पहिले निर्माण भएको नेपाली मौलिक चलचित्र ‘थात्थलो’ जेष्ठ-७ गते शुक्रबार युट्युबमा सार्बजनिक हुने निर्माण परिवारबाट जानकारीमा आएकोछ । ‘नेपालका काठमाडौ, पूर्वीय विभिन्न गाउँ-सहर, हङ्कङ लगायत बेलायतमा सफल प्रदर्शन भईसकेको थात्थलो अझै पनि हलहरूमा चलाउन बाँकी रहे पनि अहिलेको अवस्थालाई मध्यनजर गर्दै लकडाउनले सिथिल बनाएका नेपाली दर्शकहरूकोलागि युटयुवमा सार्वजनिक गरिने निर्णय भएको यस चलचित्रका अभिनेता तथा निर्माता समेत रहेका किशोर कुमार पंधाक(लिम्बू)ले जानकारी दिएका छन् ।

खगेन्द्र पन्धाक लिम्बूको लेखन तथा निर्देशन रहेको यस चलचित्रले अत्याधुनिक विश्व जगत सहरी रुपमा परिणत भईरहँदा आदिवासीहरूले सुखद र सुरक्षित जीवनकोलागि आफ्नो थात्थलोलाई कसरी सुरक्षित राख्नु पर्छ भन्ने बारे सन्देश दिएको छ । यस चलचित्रबाट सबैभन्दा सुख र आफ्नो अनुकूल जीवन आफ्नै जन्मभूमि नै हुन्छ र यसका लागि स्थानीय भूमि र पर्यावरणको जगेर्ना महत्वपूर्ण हुन्छ भन्ने सन्देश पाउन सकिन्छ ।

यस चलचित्रमा सुमी लिम्बू, कन्चन थलङ, किशोर कुमार लिम्बू(पंधाक), सिता कुमारी तुम्बापो, नबिन चोङ्बाङ, सञ्जय निङ्लेकु, सज्जन श्रेष्ठ, आयुशा लिम्बुखिम, दुर्ग बहादुर पन्धाक, जयसन लिम्बू आदिको मूख्य भूमिका रहेको छ । रेन्बोरेज म्यूजिक प्रा.लि.को व्यानरमा निर्मित यस चलचित्रमा मूख्य सहायक निर्देशक बिबी लिम्बूले गरेका छन् भने सम्पादन  बिबी लिम्बू, खगेन्द्र पन्धाक लिम्बू र पर्शुराम लिम्बूले गरेका छन् । निर्देशक पन्धाककै गीत रचना तथा सङ्गीत रहेको चलचित्र ‘थात्थलो’ रोमियो फिल्मस युट्युव च्यानलबाट सुक्रबार सार्वजनिक हुनेछ ।

प्रतिक्रिया दिनुहोस