सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा १५ दिनदेखि टेलिफोन सेवा अबरुद्ध


किमाथाङ्का, २९ जेठ । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अबरुद्ध भएको छ । उत्तरी क्षेत्र भोटखोलामा १५ दिनदेखि टेलिफोन सेवा अबरुद्ध भएको हो । भोटखोला वडा नं २ र ४ को सिमानामा रहेको माक्पालुङ रहेको नेपाल टेलिकमको टावरमा खराबी आइपछि टेलिफोन सेवा अबरुद्ध भएको दूरसञ्चार शाखा कार्यालय खाँदबारीका सूचना अधिकारी चित्र मोक्तानले जानकारी दिनुभयो ।

टेलिफोन सेवा अबरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट बञ्चित भएका छन् । टेलिफोन सेवा अबरुद्ध भएको १५ दिन भइसक्दा पनि सरोकारवाला निकायले चासो नदेखाउँदा सञ्चार सेवाबाट बञ्चित हुनुपरेको भोटखोला गाउँपालिकाका वडासचिव दावा लामाले जानकारी दिनुभयो । टेलिफोन सेवा अबरुद्ध हुँदा गाउँपालिका नै सञ्चार सेवाबाट बञ्चित भएको सचिव लामाले बताउनुभयो । सञ्चार सेवा अबरुद्ध भएको जानकारी गराउँदा पनि दूरसञ्चार कार्यालयले बेवास्ता गरेको स्थानीयवासीको गुनासो छ ।

टेलिफोन सेवा अबरुद्ध हुँदा गाउँबाट टाढा रहेका आफन्तसँग सम्पर्क हुन नसकेको वडा नं २ च्याम्ताङ आङजुङ भोटेले गुनासो गर्नुभयो । दूरसञ्चार कार्यालयका सूचना अधिकारी मोक्तानका अनुसार उच्च हिमाल क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएका कारण टावरमा समस्या आउने गरेको बताउनुभयो । अबरुद्ध टेलिफोन सेवा कहिले सञ्चालन हुन्छ भन्ने यकिन भइनसकेको मोक्तानले बताउनुभयो ।

मकालु गाउँपालिकाको भाटभोटेनीमा रहेको टावरमा समेत समस्या देखिएका कारण माक्पालुङको टावरमालिङ्क पठाउन नसक्दा समस्या आएको र मर्मतका लागि चाँडै प्राविधिक टोली त्यस क्षेत्रमा पठाइने सूचना अधिकारी मोक्तानले बताउनुभयो । टेलिफोन सेवा अबरुद्ध हुँदा भोटखोलाको हटिया, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाकलगायत दर्जनौँ गाउँका बासिन्दा टेलिफोन सेवाबाट बञ्चित भएका छन् ।

विद्युत् विस्तार नभएका दुर्गम भोटखोलाको टेलिफोन सेवा घाम अस्ताएसँगै बन्द हुने गरेका छन् । विद्यत् नभएका कारण बर्खायाममा भोटखोलाको टेलिफोन सेवा घामसँगै अस्ताउने गरेका छन् । विद्युत् सेवा नपुगेका दुर्गम गाउँमा बिटिएस टावर अझै सोलारपावरको भरमा चल्ने गरेका छन् । विद्युत् विस्तार नहुँदा नेपाल टेलिकमका मोबाइल प्रयोग गर्ने भोटखोलाका नागरिकले मौसमको भरमा सेवा पाउने गरेका छन् ।

चिचिला गाउँपालिकाको छ्याङकुटी, मकालु गाउँपालिकाको भाटभोटेनी, भोटखोला गाउँपालिकाको बाक्ले, भोटखोलाको गाउँपालिकाको माक्पालुङ र सिलिचुङ गाउँपालिकालगायत स्थानमा सोलार पावरको भरमा बिटिएस प्रणालीमार्फत मोबाइल नेटवर्क सञ्चालन गरिँदै आएको छ । सङ्खुवासभाका छ स्थानका बिटिएस टावर सोलरपावरको भरमा मात्र सञ्चालन छन् । रासस

प्रतिक्रिया दिनुहोस