काबुलस्थित अमेरिकी दूतावासमा कोभिड–१९ बाट ११४ सङ्क्रमित, एकको मृत्यु


अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी दूतावासमा अत्यधिक व्यक्तिमा कोभिड–१९ सङ्क्रमणपछि दूताबास क्षेत्रलाई लकडाउन गरिएको छ ।

दूताबासका एक कर्मचारीको मृत्यु भएको र ११४ कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको युएसए टुडेले दूताबास अधिकारीलाई उद्धृत गरी जानकारी गराएको छ । धेरै कर्मचारी सङ्क्रमित भएपछि अमेरिकी अधिकारीहरुले अस्थायी कार्यस्थल बनाई प्रशासनिक कामलाई निरन्तरता दिइएको बताइएको छ ।

दूतावासको स्वास्थ्य एकाईका कर्मचारी शेन पियर्सद्वारा जारी सूचनामाभनिएको छ, “कोभिड–१९ को सङ्क्रमण काबुलस्थित अमेरिकी नियोगमा समेत देखिएको छ । शुक्रबारसम्म दूताबासका ११४ जना सङ्क्रमित भेटिएका छन् भने एकको मृत्यु भएको छ ।”

दूताबास स्रोतका अनुसार अमेरिकी सैनिक अस्पतालमा सघन उपचार एकाइ तयार गरी अक्सिजन चाहिने कर्मचारीहरूलाई सेवा दिइएको छ ।

भाइरसको पछिल्लो प्रकोपले विभिन्न देशमा रहेका अमेरिकी वैदेशिक सेवा संघ (एएफएसए) लाई प्रभाब पारेको छ । अमेरिकी राष्ट्रपति जो बिडेनलाई विदेशमा रहेका सबै सरकारी कर्मचारीहरूलाई केही अपवादको साथ खोप लगाउन पनि आग्रह गर्नुभएको छ ।

एएफएसएका प्रमुख एरिक रुबिनले भन्नुभयो, “हाम्रो बुझाइ यो छ कि विश्वका प्रत्येक नियोग तथा दूतावासका लागि पर्याप्त खोप रहेको छ यसलाई समयमै लगाउन प्रशासनले आग्रह गर्दछ ।”

अफगानिस्तानमा देशब्यापी सङ्क्रमणपछि गत हप्ता, अफगानिस्तानका अमेरिकी कूटनीतिक नियोगले दूतावासको कन्सुलर सेक्सनमा भिसा सञ्चालनलाई स्थगित गरेको थियो ।

दूताबासमासमेत प्रकोपको असर भेटिएपछि दूतावासको कन्सुलर सेक्शनले जुन १३ देखि अनिश्चित समयका लागि अतिआबश्यकबाहेकका काम स्थगित गरिरहेको छ ।”

जोन्स हकिन्स विश्वविद्यालयका अनुसार अफगानिस्तानमा हालसम्म ९६ हजार ५३१ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको छ भने सङ्क्रमितमध्ये तीन हजार ८४२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस