कोरोनाबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन


काभ्रेपलाञ्चोक, ५ असार। कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन गर्न थालिएको छ । काठमाडौको पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा घण्टौँ पालो कुर्नुपर्ने अवस्था आएपछि वैकल्पिक शव व्यवस्थापनस्वरुप काभ्रेपलाञ्चोकमै व्यवस्थापन शुरु गरिएको जनाइएको छ ।

जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले कोरोना सङ्क्रमणबाट मृत्युदर बढ्दै गएपछि जिल्लामै शव व्यवस्थापन गर्न गत महिना वैकल्पिक तयारीको निर्णयसमेत गरेको थियो । “काठमाडौको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा पालो कुर्नुपर्ने अवस्था आएपछि जिल्लामै वैकल्पिक व्यवस्थापन थालिएको हो”, केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भन्नुभयो ।

पोखरेलका अनुसार हाल जिल्लाका कोरोना सङ्क्रमितको शव जिल्लाका स्थानीय घाटमा जलाउन थालिएको हो भने अन्य जिल्लाका कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्न काठमाडौ लैजाने गरिएको छ । जिल्लास्थित अस्पतालमा उपचाररत कोरोनाको बिरामीको मृत्यु भएकाको काभ्रेपलाञ्चोकमै ब्यवस्थापन गर्नसमेत थप तयारी गरिनेछ । वैकल्पिक शव व्यवस्थापन तयारीले पछिल्लो समयका विभिन्न रिपोर्टमा जनाइएअनुसार ‘तेस्रो भेरियन्ट’को सम्भावना र त्यसको सम्भावित क्षतिको अवस्थामा निकै सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

हाल पाँचखाल नगरपालिकाले भुम्लु गाउँपालिकाको सिमानामा पर्ने दोलालघाट बगर, रोशी गाउँपालिकाले स्थानीय भ्याकुरे खोला, चतुरेफेदी घाट र चरुङ्गेफेदी घाट, पनौती नगरपालिकाको भालेश्वर मन्दिर घाटमा कोरोना सङ्क्रमितको शव ब्यवस्थान थालिएको पोखरेलले जानकारी दिनुभयो । “मृतकका आफन्तले शव ब्यवस्थापनमा सहभागी हुन चाहेमा स्वास्थ्यका मापदण्ड अनुसार दिन सकिने योजनामा पनि छौँ”, उहाँले भन्नुभयो । सदरमुकाम धुलिखेल र आसपासको बनेपा र पनौती नगरले कोरोना सङ्क्रमितको शव ब्यवस्थापनमा साझा स्थानको खोजी भइरहेको जनाएका छन् ।

काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव ब्यवस्थापन गर्न धुलिखेलस्थित कालीजङ्ग गणका नेपाली सेनाद्वारा काठमाडौको पशुपतिस्थित शवदाह गृह लैजाने गरिएको थियो । पनौती नगरले भने स्थानीय छ घाटमा कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्न सकिने जनाएको छ । नगरप्रमुख भिमप्रसाद न्यौपानेले होम आइसोलेशनमा मृत्यु भएकाको शव ब्यवस्थापन गर्न चार थान पिपिई–सेट तथा शव–बाकस ब्यवस्थापन गर्न सकिने बताउनुभयो । केन्द्रद्वारा स्थानीय तहलाई कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन स्थल पहिचान गरी पठाउन आग्रह गरेअनुसार जेठ पहिलोसाता स्थानीय तहबाट पहिचान भई आएको छ स्थानमा शव व्यवस्थापन गर्न सकिने जनाइएको छ ।

कोशीपूर्वस्थित चौंरीदेउराली गाउँपालिकाले गतसाता कोरोनाको दोस्रो लहर सुरु भएयता पहिलोपटक स्थानीय एकको मृत्यु भएपछि स्थानीयस्तरमै शव व्यवस्थापन गरेको थियो । सदरमुकामभन्दा टाढा रहेका पाँचखाल, मण्डनदेउपुर, चौंरीदेउराली, भुम्लु, खानीखोला र रोशीले मात्रै शव ब्यवस्थापन गर्न सकिने स्थान पहिचान गरी पठाएको केन्द्रले जनायो । “सदरमुकामभन्दा टाढाका स्थानीय तहले मात्रै स्थान पहिचान गरी पठाएकाले टाढा लैजान थप जनशक्ति र खर्च लाग्ने भएकाले नजिकको स्थान पहिचानमासमेत लागेका छौँ”, पोखरेलले भन्नुभयो । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । यसैबीच, काभे्रपलाञ्चोकमा पछिल्लो हप्तादेखि सङ्क्रमणदर घटेको र सङक्रमणमुक्त हुनेको सङ्ख्या बढेको केन्द्रको तथ्याङ्कले देखाएको छ । पछिल्लो २४ घण्टामा ३८ मा कोरोना सङ्क्रमण पुष्टि भयो भने १२७ सङ्क्रमणमुक्त भएका छन् । अघिल्लो दिन ४० मा कोरोना सङ्क्रमण देखियो भने २६३ सङ्क्रमणमुक्त भएका थिए ।

पछिल्लो केही दिनदेखि जिल्लामा मृत्युदर सङ्ख्या शून्यमा ओर्लिरहेको केन्द्रको तथ्याङ्कले देखाएको छ । हालसम्म काभ्रेपलाञ्चोकको १५९ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
हाल जिल्लामा एक हजार ५६ सक्रिय सङ्क्रमितमध्ये बनेपा नगरमा २३४, पाँचखालमा ७६, धुलिखेलमा १८७, पनौतीमा १३०, नमोबुद्धमा ७३, मण्डनदेउपुरमा ३८ तथा चौंरीदेउरालीमा ५०, रोशीमा ६५, तेमालमा १४, भुम्लु ५७, खानीखोलामा ११, बेथानचोकमा १७ र महाभारत गाउँपालिकामा १०४ रहेको केन्द्रले जनायो । रासस

प्रतिक्रिया दिनुहोस