बागलुङको बजार, पधेर्नीलाई दुःख हजार’


पूर्व बग्ने कालिगंगा, पश्चिम काँठेखोला

थाप्लो माथिको बागलुङ्गेले कहिले फेर्ने चोला

बागलुङको बजार, पधेर्नीलाई दुःख हजार

कुखुराको भाले बासो हे पधेर्नी उठ

पधेरामा भइसक्यो पानी लुटालुट

बागलुङको बजार, पधेर्नीलाई दुःख हजार

जनकवि केशरी धर्मराज थापाले २०२३ सालमा तत्कालीन धौलागिरी अञ्चलको अञ्चलाधीसको कार्यालय (हालको जिल्ला प्रशासन कार्यालय) बागलुङको प्राङ्गणमा गाउनुभएको गीत हो यो । जनकवि केशरी धर्मराज थापा बागलुङको जिल्ला भ्रमणमा आएका बेला बागलुङ बजारमा भएको खानेपानीको समस्या र यहाँका महिला (पधेर्नी)को दुःख समेटिएर सृजना गर्नुभएको त्यही गीतले २०२३ सालमा अञ्चालधीसको प्राङ्गणमा आयोजना गरिएको सांस्कृतिक साँझमा उपस्थित धेरैको मन जितेको थियो ।

विसं २०२३ मा त्यो गीतमा ताली बजाउने एकजना हुनुहन्थ्यो बागलुङ नगरपालिका–१ रामरेखाका दुर्गा आचार्य । साथै त्यस कार्यक्रममा पुगेका अधिकांश बागलुङबासीहरुले बागलुङ बजारको खानेपानी दुःख र समस्याका विषयमा तत्तकालै तयार गरिएको गीत सुनेर धेरै खुशी भए भने केहीले कण्ठस्त पनि पारे । गीतका धेरै टुक्कामध्ये दुई टुक्का रामरेखा निवासी ८३ वर्षिय दुर्गा आचार्यलाई अझै सम्झना छ । आफू २८ वर्षको हुँदा सुनेको गीतको अझै सान्दर्भिकता हुनु भनेको निकै दुःखद् रहेको आचार्यको भनाई छ ।

करिब ५५ वर्षअघि धर्मराज थापाले गीत गाएपछि नेपालमा धेरै कुरा परिवर्तन भयो, बागलुङको विकासमा धेरै कुराले फड्को पनि मार्यो तर खानेपानीको समस्या भने उस्तै छ । अहिले पहिलेजस्तो बिहान झिस्मिसेमै पानीको लागि पधेरो धाउनुपर्ने अवस्था त छैन, घरैमा खानेपानीको धारा छ । तर दुःख त यो छ कि ती घरका धारामा पानी भने आउँदैन ।

अझ वर्षायाममा बागलुङमा खानेपानी समस्या र खानेपानीका लागि स्थानीय बजार बाहिर धाउनुपर्ने बाध्यता सामान्य जस्तो भयो । “धेरै कुरा फेरिए पधेराको सट्टामा घरमै धारा आए तर खानेपानीको दुःख हजारौँ नै छन्” दुर्गा आचार्यले भन्नुभयो “बाहिरबाट बागलुङ बजार आउने जो कोहिले पनि खानेपानीको समस्या सहजै अनुमान लगाउन सक्दछन्, गाग्री, भाँडाकुँडा बोकेर हिडेका स्थानीय बागलुङ बजारमा जताततै देखिन्छन् ।” आचार्यका अनुसार अझै गीतमा भनिएजस्तो समस्या जिवितै रहेको छ । अहिले तित्याङको फड्केडाँडा, गैँडाकोट, उपल्लाचौरको हाँडेपाला लगायतको क्षेत्रमा बजारका स्थानीय खानेपानी ल्याउन जानेको बिहान बेलुका भीड नै लाग्ने गरेको छ ।

बागलुङ नगर खानेपानीले वितरण गर्दै आएको खानेपानी अशुद्ध भएको पटक÷पटकको अध्ययनले देखाउदै आएको छ । पानीमा कोलिफर्मको मात्रा देखिएकोले बागलुङ बजारमा आएको पानी अशुद्ध रहेको छ । हिउँदमा आवश्यकता भन्दा थोरै र वर्षामा धमिलो पानी आउने, पहिरोका कारण खानेपानी वितरणमा अनियमितता हुने समान्य समस्या जस्तै बनेको छ ।

दैनिक जसो आफूले खानेपानी तित्याङको फड्के डाँडा बाट ल्याउदै आएको बागलुङ बजारमा डेरा गरी बस्ने माया थापाले बताउनुभयो । “हिउँदमा खानेपानी थोरै आउदा समस्या भएर पानी ल्याउन आउछौ, वर्षामा खानेपानी आउदैन आएपनि खोलाको भल जस्तै आउछ त्यस्तो पानी खान भन्दा दुःख गरेर भए पनि पानी बोक्नुपर्ने आवश्यकता छ ।” उहाँका अनुसार दैनिक एक घण्टाको समय खानेपानी ल्याउन खर्चँदै आएको बताउनुभयो ।

खानेपानीको मुहान रहेको काठेखोला गाउँपालिका भौगोलिक रुपले जटिल हुनु नगरपालिका आउने पाइप लाइन उपयुक्त स्थानबाट नल्याउँदा वर्षा लाग्नासाथ पहिरोले ठाउँ ठाउँमा पाइप बगाउदै लगेपछि वर्षामा खानेपानी वितरणमा समस्या हुँदै आएको बागलुङ बजारमा खानेपानी वितरणको जिम्मा पाएको बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताउनुभयो । अहिले बागलुङ बजारमा नियमित खानेपानीको आपूर्ती नभएको १० दिनभन्दा बढी भयो ।

डेढ दर्जन स्थानमा पहिरोका कारण पाइपलाइनमा क्षति पु¥याउँदा खानेपानीको आपूर्तीमा समस्या भइरहेको प्रबन्धक शर्माले जानकारी दिनुभयो । “जिल्ला सदरमुकाममा तीन मुहानबाट खानेपानी ल्याइन्छ तर अहिले चार दिनको मर्मतपछि रेश मुहानको पानी आपूर्ती भइरहेको छ तर भूदी खोला र रिठेखोलाको पानी ल्याउन मर्मत कार्य चलिरहेको छ” शर्माले भन्नुभयो “विपत्तीसँग त कस्को के लाग्छ र ? अहिले रात्माटाको खानेपानी रिजर्भ ट्याङ्कमा समेत पहिरोका कारण क्षति पु¥याएको छ ।”

नगरवासीलाई प्रयाप्त शुद्ध खानेपानी खुवाउने उद्देश्यले बागलुङ नगरपालिका र खानेपानी तथा ढल निकास विभागको समन्वयमा झण्डै ४५ करोड खर्चेर बागलुङ बजारभन्दा तल काठेखोलाको पानी लिफ्टमार्फत् शुद्धिकरण गरेर वितरण गर्ने योजना तीन वर्षदेखि निर्माणधीन छ । डिजाईन, भौगोलिक जटिलताका कारण निर्माणमा केही समय ढिला भएको छ । शुद्ध खानेपानीका लागि उक्त लिफ्ट आयोजना नै कुनुपर्ने नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले जनाएको छ ।

निषेधाज्ञाले घरमै बस्ने स्थानीयलाई खानेपानीको अभावले भने घर बाहिर ल्याउने गरेको छ । बागलुङ नगर खानेपानीले आवश्यकताभन्दा कम खानेपानीको आपूर्ती गर्दै आएको बागलुङ बजारमा असार पहिलो साता खानेपानीको हाहाकार नै भएको थियो । अहिले नगर खानेपानीले सदरमुकाम ल्याउने पानीकोे पाइप ठाउँ ठाउँमा क्षति पु¥याएको छ । बागलुङ बजारमा रेश खोला मुहान, भुदी खोला मुहान र रिठ्ठेखोला मुहानबाट ल्याइएको पानीको पाइप विभिन्न स्थानमा बाढी पहिरोले क्षति पु¥याएको छ । पहिरोले पाइप बगाउँदा बजार क्षेत्रभित्र पिउने पानी आपूर्ति हुन समस्या छ ।

निरन्तरको प्रयासका बाबजुत रेश खोलाको मुहानको खानेपानी आपूर्ती भएपनि अन्य मुहानको खानेपानीको पाइप मर्मत भइरहेको छ । पहिरोकै कारण बागलुङ नगरपालिका वडा नं ३ सुल्डॉडामा रहेको खानेपानीको रिजर्भ ट्याङ्की समेत जोखिममा परेको छ । बागलुङ बजार क्षेत्रभित्र रिठेखोला मुहान, रेश खोला मुहान र भुदी खोला मुहानबाट पिउनको लागि पानी ल्याइएको छ । अहिले रिठेखोलाबाट ३.५ लिटर प्रति सेकेन्ड, रेशबाट १७ लिटर प्रति सेकेन्ड र भुदीबाट २० लिटर प्रति सेकेन्ड पानी दैनिक आउने गरेको छ । बागलुङ जिल्ला सदरमुकाममा प्रतिसेकेण्ड ४० लिटर खानेपानी आपूर्ती गर्दै आएपनि माग भने प्रतिसेकेण्ड ६० लिटर भन्दा माथि रहेको खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ ।

बागलुङ बजारका बासिन्दा वर्षौँदेखि दूषित पानी पिउन बाध्य छन् । बजारका स्थायी बासिन्दा र बाहिरबाट आएका हजारौं उपभोक्ता अहिले पानी नआउने र आए पनि धमिलो दूषित पानी हेरेर बस्नुपर्ने समस्याबाट आजित छन् ।

पानी नआउने र धमिलो पानी आउने समस्या टार्न बजारवासी आसपासका विभिन्न क्षेत्रमा पुग्ने गरेका छन् तर खानेपानी वितरणको जिम्मेवारी पाएको बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाले भने वर्षा पछिको बाढी र पहिरोले अवरोध पु¥याएको समयमा बाहेक अरु बेला पानीको नियमित आपूर्ति हुने गरेको दावी गर्दै आएको छ । तर आर्थिक अवस्था राम्रो भएकाले जारको शुद्ध पानी खरिद गरेर पिउदै आएको भए पनि कमजोर आर्थिक अवस्था भएका नागरिकलाई भने पानी बोक्न जानुको विकल्प नभएको स्थानीयको गुनासो छ । सामाजिक सञ्जालमा वर्षाको भेल र नगर खानेपानीले वितरण गर्दै आएको पानीमा कुनै फरक नभएको समेत टिप्पणी हुँदै आएको छ ।

स्वास्थ्य कार्यालयले खानेपानीको परीक्षण गर्दा पनि नगरको खानेपानीमा पटक पटक कोलिफर्म भेटिएको थियो । आकाशबाट पानी पर्दासाथ बजारवासीको धारमा सोझै धमिलो पानी आउने गर्दछ । अहिले वितरण गर्दै आएको खानेपानी कुनै शुद्धिकरण नगरी वितरण गरिदै आएको उपभोक्ताको गुनासो छ । खानेपानीले सामान्य रुपमा सुद्धिकरण गर्दै आएको र पूर्ण रुपमा शुद्धिकरण गर्न शुद्धिकरण प्लान्ट विग्रेको बताउदै आएको छ ।

हाल डिभिजन खानेपानी कार्यालय, बागलुङ नगरपालिका र नगर खानेपानी उपभोक्ता संस्थाको रु ४५ करोड को सह–लगानीमा काँठेखोलाको पानी लिफ्टमार्फत् प्रशोधन गरी वितरण गर्ने आयोजना निर्माणको काम भइरहेको र यसको निर्माणपश्चात बागलुङ नगरपालिकामा खानेपानीको समस्याको समाधान हुने बागलुङ नगरपालिकाका प्रमुख जनकाराज पौडेलले बताउनुभयो । “बागलुङमा लामो समयदेखि पानीको चर्को समस्या भएको हामीलाई बोध छ, हामी आएपछि दीर्घकालीन समाधानका लागि जिल्लामै ठूलो लिफ्ट आयोजना बनाइरहेका छौं उक्त आयोजना बनेपछि उपभोक्ताको धारमा चौबीसै घण्टा खानेपानी आउनेछ ।

खानेपानीलाई शुद्ध बनाई वितरण गर्न उच्च अदालत पोखरा बागलुङ इजलासले समेत २०७५ भदौ १८ गते नगर खानेपानी उपभोक्ता संस्थाको नाममा परमादेश जारी गरेको थियो तर अदालतले गरेको परमादेशको समेत अवेज्ञा हुँदै आएको छ । शुद्ध खानेपानी पाउनुपर्ने नागरिकको अधिकार भएपनि बागलुङ बजारबासीले अशुद्ध पानी प्रयोग गर्दै आएका छन् ।

पानी नआउने र धमिलो पानी आउँदा उपभोक्तालाई झाडापखाला जस्ता स्वास्थ्य समस्या देखिने भएकाले उमालेर खानेपानी पिउनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । बागलुङ सदरमुकाममा दैनिक करीब ३२ लाख लिटर खानेपानी आवश्यक पर्ने भए पनि आवश्यकताको आधा मात्र पानीको आपूर्ति हुँदै आएको छ । बागलुङ सदरमुकाम क्षेत्रमा नगर खानेपानी उपभोक्ताबाट झण्डै पाँच हजार खानेपानीका धारा वितरण गरिएको छ । वर्षाको समयमा धमिलो तथा दुषित पानी धारामा आउदा समेत चर्को महशुल तिर्न नागरिक बाध्य रहेका छन् ।

नेपालभर भारी वर्षा जारी छ र कतिपय ठाउँ त डुबानमा पनि परेका छन् । बागलुङमा पनि भारी वर्षा भइरहेको छ । जसका कारण यहाँको बजारको ढल निकास प्रणालीले पनि वर्षाको पानी थेग्न नसकेर बजारभरि भल पसेको देखिन्छ तर खानेपानीको भने यहाँ अभाव हुँदै आएको छ । वर्षात्का कारण बागलुङ, पर्वतको धाइरिङलगायतका क्षेत्रका बस्तीहरु सुरक्षित स्थानमा सारिएको छ । दुःखको कुरा गण्डकी प्रदेशकै धौलागिरीको एक पुरानो बजार बागलुङमा भने पिउने पानीकै दुःख छ । रासस

प्रतिक्रिया दिनुहोस