सामाजिक सञ्जाललाई दुरुपयोग बढ्यो,कसैलाई व्यक्तिगत विवरण नदिन आग्रह


विज्ञान र प्रविधिको उपजको रुपमा रहेको सामाजिक सञ्जाल आम मानिसको दैनिकी नै बनेको छ । सकारात्मक काममा लागि बनाइएका त्यस्ता सञ्जाललाई दुरुपयोग गर्नेहरु पनि उत्तिकै छन् । पछिल्ला दिनमा त्यही सामाजिक सञ्जालको दुरुपयोग गरेर अनेकन प्रकारका ठगी धन्दासमेत भइरहेको छ । विशेषगरी सामाजिक तथा आर्थिक अपराध समेत मौलाएको अवस्था छ । जान अन्जानमा हुने त्यस्ता अपराधले मानिसको दिनचर्या समेत समस्यामा परेको छ । कोरोना कहरका कारण नागरिक आर्थिक रुपमा सङ्कटमा परिरहेको बेला सामाजिक सञ्जालको दुरुपयोग गरेर ठगी गरेको भन्ने व्यापक गुनासो आएपछि नेपाल बैंकर्स सङ्घले कुनै पनि व्यक्तिगत विवरण तथा बैंक खाताको सुरक्षा गर्न सबैमा आग्रह गरेको छ । सङ्घले पछिल्ला दिनमा विभिन्न सामाजिक सञ्जालमार्फत अनधिकृत व्यक्तिले सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण माग गर्ने गरेको पाइएको भन्दै नागरिकलाई सचेत गराएको छ ।

सङ्घले आज विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई रकम पठाउनका लागि भन्दै खाता÷व्यक्तिगत विवरण माग गर्ने गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । सङ्घले आफ्नो गोप्य विवरण कोही कसैलाई पनि नदिन अनुरोध गरेको हो । आपराधिक मनोवृत्तिका व्यक्तिले सहयोग गर्ने बहानामा खाताको गोप्य विवरणहरु माग्ने गरेको सङ्घको बुझाइ छ । त्यस्ता व्यक्तिले खाता नं, मोबाइल नं, विद्युतीय कारोवारमा प्रयोग हुने ओटिपी प्राप्त गरी रकमान्तर गर्ने वा गर्न लगाउने जस्ता क्रियाकलाप गरिरहेका छन् । व्यापकरुपमा त्यस्ता गतिविधि भइरहेको जानकारी आएकाले सजग रहन सङ्घले सबैलाई आग्रह गरेको उल्लेख गरेको छ । सहयोगका नाममा आउने त्यस्ता फोन कल वा कारोबारको शङ्का लागेमा नजिकैको बैंक शाखामा तुरुन्त सम्पर्क गर्न पनि सङ्घले अनुरोध गरेको छ । सजगताका साथ डिजिटल बैंकिङमार्फत सुरक्षित कारोबार गर्न ग्राहकलाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ । रासस

यो पनि – लकडाउन खुकुलो भएपछि फेरि बढ्न थाले कोरोना संक्रमित, २४ घण्टामा थप २,८९२ संक्रमण पुष्टि,४१ को मृत्यु – पछिल्लो २४ घण्टामा दुई हजार ८९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार १८७ जनामा गरिएको पिसिआर परीक्षणमा एक हजार ८८९ जना कोरोना सङ्क्रमित भेटिएका छन् । चार हजार ३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार तीन जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमण दर २६ प्रतिशत पुगेको छ ।

जोखिम अझै नहटेकाले जन स्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले आग्रह गर्नुभएको छ । कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । यस अवधिमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन हजार ५९७ छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार ५६१ रहेको छ । तीमध्ये ३० हजार ५४४ जना होम आइसोलेसनमा छन् । तीन हजार १७ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म कोरोना सङ्क्रमणका कारण नौ हजार ११२ जनाको मृत्यु भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लाको सङ्ख्या १७ छ । पछिल्ला दिन कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको तथ्याङ्कले देखाएको छ । मङ्गलबार सङ्क्रमण पुष्टि भएको दुई हजार ६३६ भन्दा आज २५६ जनाले बढी थपिएका छन् । सोमबार दुई हजार ४४४ जना सङ्क्रमित भेटिएका थिए । आइतबार एक हजार ९२० जनामा मात्र कोरोना सङ्क्रमित पुष्टि भएको मन्त्रालयले सार्वजनिक गरेको थियो ।

यो पनि -भारतमा थप ४६ हजार सङ्क्रमित, ८१७ को मृत्यु – नयाँ दिल्ली, १६ असार : भारतमा कोरोनाभाइरसबाट थप झण्डै ४६ हजार मानिस सङ्क्रमित भएका छन् ।  सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४५ हजार ९५१ जना सङ्क्रमित भएका हुन् ।  अघिल्लो दिनको तुलनामा बुधबार सार्वजनिक गरिएको तथ्याङ्कमा केही बढी देखिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।  अघिल्लो दिन ३७ हजार ५६६ जना नयाँ सङ्क्रमित थपिएको विवरण संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको थियो ।

मंगलबार सार्वजनिक गरिएको तथ्याङ्कमा १०२ दिनपछिकै सवैभन्दा कम सङ्क्रमितहरु भएको देखिएको थियो । भारतमा लामो समयदेखि दैनिक ४० हजारभन्दा बढी सङ्क्रमितहरु थपिदै आएका छन् ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६० हजार ७२९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।  थपिएका सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी भएकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पनि कम हुदै गएको छ । अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पाँच लाख ३७ हजार ६४ रहेको छ ।

पछिल्लो एक दिनमा भारतमा कोरोनाकै कारण ८१७ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।  भारतमा अहिलेसम्म कुल तीन करोड तीन लाख ६२ हजार ८४८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये दुई करोड ९४ लाख २७ हजार ३३० जना सङ्क्रमणमुक्त भइसकेका छन् ।  त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म कुल मृतकको सङ्ख्या तीन लाख ९८ हजार ४५४ पुगेको मन्त्रालयले जनाएको छ ।

यो पनि – फ्लोरिडाको भवनमा च्यापिएकामध्ये १२ जनाको मृत्यु, १४९ अझै बेपत्ता –

फ्लोरिडा, १६ असार: संयुक्तराज्य अमेरिकाको फ्लोरिडामा भत्किएको एउटा भवनमा मृत्यु हुनेको संख्या १२ जना पुगेको छ ।  मियामी–डेड काउन्टीका मेयर डानिएला लिभाइन काभाका अनुसार भवनको भग्नावशेषमा पुरिएर अझै १४९ जना बेपत्ता छन् र उनीहरुको खोजी कार्य जारी रहेको छ । मेयर काभाले पछिल्लो पटक मङ्गलबार साँझ दिनु भएको वक्तव्यमा बेपत्ता हुनेको संख्या अझै यकिनका साथ बताउन कठिन भइरहेको जानकारी दिनुभयो ।
उद्धारकर्ताहरुले थप मानिसको खोजीका लागि दिनरात खोजी कार्य जारी राखेका छन् तर वर्षा र भग्नावशेषका कारण खोजी कार्यमा कठिन भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सर्फसाइडमा भएको उक्त दुर्घटना स्थलको बिहीबार निरीक्षण गर्नहुने भएको छ ।  गत बिहीबार मियामी समुद्र किनारामा रहेको एउटा ठूलो भवन एक्कासी भत्किएको थियो । भवन भत्किनुको कारण अझै स्पष्ट भइसकेको छैन । तर, सन् २०१८ मा दिइएको प्रतिवेदनले भवनको संरचनामा कमजोरी रहेको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस