जुम्लाको कनकासुन्दरीमा सञ्चारको पहुँच


जुम्लाको कनकासुन्दरीमा सञ्चारको पहुँच पुगेको छ । जुम्ला सदरमुकाम खलङ्गा पुग्न झण्डै एक दिन लाग्ने कनकासुन्दरी गाउँपालिकाका ग्रामीण बस्ती मालिकाबोला, लेकपुर, नेटा, चौथा, न्याउरीगाडलगायतका गाउँ स्थानीयवासी सञ्चारको पहुँचमा पुगेका छन् । मालिकाबोता र मर्फान्नामा नेपाल टेलिकमको टावर बनेपछि डाँडा चढेर फोन गर्नुपर्ने बाध्यता हटेको स्थानीयवासी रुपा बुढाले बताउनुभयो । पहिला आफन्तसँग कुराकानी गर्न घण्टौं हिँडेर डाँडाकाँडा चढ्नुपथ्र्यो । अहिले घरदैलोमै टेलिफोनको टावर आउँछ । लेखपढ गर्न शहर पुगेका, रोजगारीका लागि कालापहाड हानिएका र अन्य सिलसिलामा घर छाडेकासँग कुरा गर्न सहज भएको स्थानीयवासी गोविन्द बुढाले बताउनुभयो ।

विगतमा गाउँमा पढेलेखेका कमै हुुन्थे, कसैलाई सूचना र खबर गर्न गाउँबाट मौखिक जानकारी लिएर रैवारे पठाउनुपथ्र्यो पछि विस्तारै चिठ्ठीको प्रयोग हुन थाल्यो, अहिले भने सबैका हातहातमा मोबाइल छ, आवश्यक परेको बेला सहजै कुराकानी गर्न सकिन्छ । कनकासुन्दरी गाउँपालिका–२ का अध्यक्ष शेरबहादुर रावतले भन्नुभयो, “ हिउँद्को समयमा जाडो हुने भएकाले यहाँका धेरैजसो स्थानीयवासी तराई र परदेश जाने हालखबर बुझ्न र कुराकानी गर्ने सहज हुने छ ।’’

गाउँपालिका–१ र २ का दर्जनौं गाउँ यो आर्थिक वर्षमा मात्रै सञ्चारको पहुँचमा पुगेका हुन् । विसं २०६४ मा कनकासुन्दरीको चौथामा टावर निर्माणका लागि सर्भे भयो तर एक दशकसम्म पनि निर्माण भएन । निरन्तर कनकासुन्दीका स्थानीयवासीले खबरदारी गरेपछि गत वर्षको कात्तिकदेखि स्थानीयवासीले फोनको सुविधा लिन पाएको वडा सचिव हरिबहादुर बुढाले बताउनुभयो । अझै पनि जिल्लाको तातोपानी, तिला, पातारासी, हिमा गाउँपालिकालगायतका स्थानीय तहका ग्रामीण बस्ती सञ्चारको पहुँचमा छैनन् । रासस

यो पनि – ढोरपाटनको प्रचारका लागि ‘मिडिया –

पर्यटकीयस्थलको प्रचारप्रसार र आर्थिक गतिविधि सञ्चालनमा सहयोग गर्न बागलुङको ढोरपाटन नगरपालिकाले मिडिया मिसन शुरु गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि ढोरपाटन नगरपालिका क्षेत्रमा रहेका सञ्चारमाध्यमको सहायता लिएर पर्यटकीय क्षेत्रको प्रचार थालिने भएको हो । पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धनका लागि ‘मिडिया मिसन, गन्तव्य ढोरपाटन’ कार्यक्रम सञ्चालन गर्न थालिएको नगरप्रमुख देवकुमार नेपालीले बताउनुभयो । “पर्यटकीय क्षेत्रको प्रचार र सञ्चारमाध्यमको सबलीकरण दुवै लक्ष्य राखेका छौँ”, नेपाली भन्नुहुन्छ, “हाम्रो विकासको आधार कृषि र पर्यटन नै हो ।” नगरभित्रका पर्यटकीयस्थल र क्षेत्रको पहिचान, खोज तथा प्रचारप्रसारका लागि स्थानीय सञ्चारमाध्यमसँग आवश्यक सहकार्य गरिने उहाँले बताउनुभयो । नगरका महत्वपूर्ण पर्यटकीय क्षेत्रको नगरपालिकाले वृत्तचित्र तयार गर्ने योजना बनाएको छ ।

आगामी आर्थिक वर्षको नीति कार्यक्रममा पर्यटनको पूर्वाधार विकासमा स्थानीय सङ्घसंस्था, समुदाय तथा निजी क्षेत्रको नेतृत्व तथा सहभागितालाई प्रोत्साहन गर्ने नीतिलाई निरन्तरता दिइने उल्लेख छ । नेपालका विभिन्न पर्यटकीय स्थलमध्ये महत्वपूर्ण गन्तव्य रहेको ढोरपाटन क्षेत्रको इतिहास, भूगोल, धर्म, संस्कृति झल्किने खालका कार्यक्रम कार्यान्वयनमा ल्याइने नेपालीले बताउनुभयो ।

यस्तै कोभिड–१९ को महामारी रोकथाम भएमा उद्योग तथा व्यापारसँग प्रत्येक वर्ष हुँदै आएको कोजाग्रत पूर्णिमा मेला र जनैपूर्णिमा मेलाको सञ्चालनलाई निरन्तरता दिने नीति नगरले बनाएको छ । सांस्कृतिक हिसाबले महत्वपूर्ण मानिएका मेलाले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास नगरको छ । पर्यटन प्रवद्र्धनसँग जोडिएका ढोरपाटन क्षेत्रमा रहेका महत्वपूर्णस्थल ताल, हिमाल, गुम्बा, मन्दिर जोड्ने पर्यटकीय पैदलमार्ग निर्माण गरिने व्यवस्था नीति कार्यक्रममा उल्लेख छ ।

ढोरपाटन नगरपालिकामा पर्यटन क्षेत्रलाई रोजगारी एवं आयआर्जनसँग जोड्न विभिन्न वडामा सञ्चालित घरबास (होमस्टे) लाई व्यवस्थित बनाउँदै लगिने तथा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालनमा ल्याइने भनिएको छ । ढोरपाटन उपत्यका ढोरबराह मन्दिर, रुद्र ताल, धोर्जेको धुरी, अर्नाकोट बयचौर क्षेत्र तथा वडा नं ४ स्थित रिखुवा, महखोला झरनालगायतका विभिन्न पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा संरक्षणमा जोड दिइने भनिएको छ । नगर क्षेत्रभित्रका विभिन्न पर्यटकीय स्थानमा पर्यटकीय पदमार्ग निर्माण गर्ने, सम्भाव्यता अध्ययन गरिने नगरले जनाएको छ । रासस

यो पनि– स्वास्थ्यकर्मीको मनोबल बढाउँदै हिलिहाङ-

जिल्लाको हिलिहाङ गाउँपालिकाले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने कार्यक्रम ल्याएको छ । कोभिड–१९ सङ्क्रमणको महामारीविरुद्ध अग्रभागमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्दै गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन हौसला बढाउने उद्देश्यसहित गाउँपालिकाले स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको सुविधा बढाएको छ ।

गाउँपालिकाले करार सेवामा काम गर्दै आएका स्वास्थ्यकर्मीहरुको तलब एकैसाथ रु सात हजारका दरले वृद्धि गरेको छ । सामुदायिक स्वास्थ्य एकाइहरुमा कार्यरत करार सेवाका स्वास्थ्यकर्मीहरुले हाल मासिक रु १८ हजार तलब पाउँदै आएकामा गाउँपालिकाले उक्त तलब वृद्धि गरी रु २५ हजार पु¥याएको छ । यस्तै स्वास्थ्य संस्थाहरुमा करारमा कार्यरत कार्यालय सहयोगीहरुको तलब रु नौ हजार ६०० बाट वृद्धि गरी मासिक रु १५ हजार पु¥याइएको छ ।

गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई समुदायमा परिचालित हुन उत्प्रेरित गर्न खाजा तथा पोशाक खर्चका रूपमा वार्षिक रु २४ हजार दरले सुविधा उपलब्ध गराउने विषयलाई समेत नीति तथा कार्यक्रममा समेटेको छ । हिलिहाङले गत वर्षदेखि नै महिला स्वास्थ्य स्वयंसेविकालाई बढी सुविधा दिई उत्प्रेरित गरेको भनी प्रसंशा हुने गरेको छ ।

गाउँपालिकाले अन्य स्वास्थ्यकर्मी तथा कर्मचारीलाई भने विगतदेखि नै दिँइदै आएको प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । गाउँपालिकाले स्वास्थ्य बीमा कार्यक्रमको पहुँच विस्तारका लागि रु तीन लाख बजेट छुट्याएको छ । स्वास्थ्य बीमा कार्यक्रममा सामेल हुन चाहने तर दर्ता शुल्क बुझाउन नसक्ने गाउँपालिकावासीका लागि उक्त बजेट छुट्याइएको हो ।

हिलिहाङले आगामी वर्ष आवश्यकतानुसार वडाहरुमा स्वास्थ्य शिविर सञ्चालन गर्नसमेत बजेट विनियोजन गरेको छ । सङ्क्रमितको पहिचान, कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार र यस्तै प्रकारका महामारीविरुद्ध लड्न गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा रु ८५ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङ्देनले जानकारी दिनुभयो । यस्तै यस गाउँपालिकाले महामारीका समयमा दीर्घरोगीहरुलाई अत्यावश्यक औषधिहरुको निःशुल्क वितरणका लागि समेत बजेटको प्रबन्ध गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस