राष्ट्रपतिबाट कविता महोत्सवका विजयीलाई पुरस्कार प्रदान


काठमाडौँ, ३० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–प्रज्ञा प्रतिष्ठानद्वारा पछिल्ला दुई वर्षमा आयोजित राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविहरूलाई आज पुुरस्कार प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा ती पुरस्कार प्रदान गरिएको हो । प्रथम पुरस्कृत हुनेमा कविता महोत्सव–२०७७ मा ‘नेपालको गीत’ शीर्षकबाट नुवाकोटकी भैरवी भूगोल र यस वर्ष ‘देशको नक्सा’ शीर्षकमा भोजपुरकी कविता राईलगायत हुनुहुन्छ ।

विसं २०७७ मा लमजुङका प्रज्वल अधिकारीको कविता ‘सङ्कल्प’ द्वितीय, सोलुखुम्बुका गणेशप्रसाद खतिवडाको ‘आमाको आदेश’, दोलखाकी देवकी अभिलाषीको ‘आमा एक विश्वविद्यालय’ र तेह्रथुमकी रेजिना आपगाईंको ‘समृद्ध नेपालको सपना’ शीर्षकका कविता तृतीय भएको थियो । यस वर्ष धादिङकी अमृता स्मृतिको ‘डढेलोपछि पनि वसन्त आउँछ’ द्वितीय तथा बर्दियाकी निरञ्जनाकुमारी चन्दको ‘युगीन प्रतिध्वनि’, ताप्लेजुङकी सविता बरालको ‘आमा म आएँ अब’ र नुवाकोटका प्रकाश सिलवालको ‘बोधिसत्वको खोप’ शीर्षकका कविता तृतीय भएको थियो ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु ४० हजार र तृतीयलाई रु ३० हजार प्रदान गरिएको छ । प्रतिष्ठानले स्थापना दिवसका दिन हरेक असार ९ गते महोत्सव आयोजना गर्दै आएको छ । विसं २०१४ मा नेपाली साहित्य, कला एकेडेमीका नाममा स्थापित प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, सामाजिकशास्त्र र दर्शनशास्त्रमा कार्य गर्दै आएको छ । रासस

योप  पनि – टोखाका सिकाइ केन्द्रमा ‘निःशुल्क इन्टरनेट सेवा’

टोखा नगरपालिकाले विद्यार्थीको सिकाइ सहज बनाउनका लागि ‘निःशुल्क इन्टरनेट सेवा’ प्रदान गरेको छ । विश्वका विभिन्न मुलुकसँगै नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द रहेको अवस्थामा इन्टरनेटको माध्यमबाट पठनपाठन गराउनका लागि टोखाले ‘निःशुल्क इन्टरनेट सेवा’ प्रदान गरेको हो ।

नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले जालुपा पुस्तकालय बानियाटार, नुज्ज पुस्तकालय टोखा, झोर–महाङ्काल सामुदायिक सिकाइ केन्द्र झोर, जनचेतना महिला विद्यालय टोखा–९ र बुद्ध नमूना वैकल्पिक विद्यालय टोखा–१० मा निःशुल्क इन्टरनेट सेवा प्रदान गरिएको राससलाई जानकारी दिनुभयो । “इन्टरनेट जडानसँगै घरमा इन्टरनेट सेवाको पहुँच नभएका विद्यार्थीलाई अध्ययनका लागि सहज हुने गरेको छ”, उहाँले भन्नुभयो,“टोखाले आगामी वर्षको लागि शैक्षिक क्यालेण्डरसमेत प्रकाशनमा ल्याएको छ ।

यस्तै, टोखाले आगामी आर्थिक वर्षमा प्राविधिक विद्यालय स्थापनका लागि पहल गर्ने बताएको छ । नगरपालिकाले आव २०७८÷७९ नीति, कार्यक्रम तथा बजेटमा नगरपालिकाभित्रका सामुदायिक विद्यालयलाई कलेज तहसम्म स्तरोन्नति गर्ने बताइएको छ । टोखाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको लागि ‘मेयर दिवा खाजा कार्यक्रम’ लाई निरन्तरता दिने बताएको छ । ‘सबैका लागि गुणस्तरीय शिक्षा’ नीति अवलम्बन गरेको टोखाले एक वडा एक सामुदायिक विद्यालय स्थापना गर्ने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत सबै किशोरीलाई सेनेटरी प्याड निःशुल्क उपलब्ध गराउने समेत जनाएको छ ।

वाग्मती प्रदेश सरकारले गत आवदेखि नै शुरु गरेको ‘एक विद्यालय, एक नर्स कार्यक्रम’लाई आगामी वर्षमा थप विस्तार गरेकोमा आवश्यक सहजीकरण गरी सामुदायिक विद्यालयमा आलोपालो हेर्ने व्यवस्था मिलाउने सो नगरपालिकाले जनाएको छ । टोखामा हाल ८ सामुदायिक विद्यालय रहेका छन् । यस्तै, ८० वडा संस्थागत र ३ वटा वैकल्पिक विद्यालय रहेको शिक्षा शाखा प्रमुख गौतमले बताउनुभयो । रासस

यो पनि – दर्शनशास्त्र परिचय बजारमा

‘दर्शनशास्त्रको परिचय’ पुस्तक लोकार्पण गरिएको छ । डा गोविन्दशरण उपाध्यायले लेख्नुभएको दर्शनशास्त्रको परिचयात्मक पुस्तक जरो किलो प्रतिष्ठान नेपालले प्रकाशन गरेको हो । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसर पारेर मङ्गलबार पुस्तकको लोकार्पण गरिएको हो । कोभिड महाव्याधिको अवस्था रहेको कारण प्रविधिको माध्ययमबाट पुस्तक लोकार्पण गरिएको थियो । पुस्तकको लोकार्पण शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले गर्नुभएको थियो ।

दर्शनजस्तो गहन विषयमा नेपाली भाषामा पुस्तक प्रकाशन भएकाले सर्वसाधारण नेपालीले मौलिक दर्शनको महत्ता बुझ्ने अवसर पाएको प्राडा कोइरालाले बताउनुभयो । पुस्तक समीक्षा गर्नुहुँदै प्राडा आनन्दप्रसाद घिमिरेले समग्र हिमवत् खण्ड ज्ञानभूमि, तपो भूमि रहँदै आएको साक्ष प्रस्तुत गर्नुहँुदै यहाँको जाज्वल्यमान ज्ञानपरम्पराको सामान्य ज्ञान दिन पुस्तकको पहल सफल रहेको बताउनुभयो ।

पुस्तक लोकार्पण सत्सङ्ग जरो किलो महाअभियानका सङ्कल्पकर्ता तथा जरो किलो प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष डा निर्मलमणि अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो । सो अवसरमा डा अधिकारीले प्रतिष्ठानले नेपालको पुनर्जागरणका लागि अन्य गतिविधिसँगै पुस्तक प्रकाशनलाई पनि प्राथमिकतामा राखेकोे बताउनुभयो । प्रतिष्ठानले लेखकहरुको लेखकीय स्वतन्त्रतालाई पूर्ण सम्मान गरेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पुस्तकका लेखक डा गोविन्दशरण उपाध्यायले पुस्तक मौलिक चिन्तन पद्धतिको सागरको थोपा भएको बताउनुभयो । पुस्तकमा रहेका कमी कमजोरीलाई आगामी संस्करणमा सुधारिने पनि उहाँले बताउनुभयो । प्रतिष्ठानका कार्यवाहक अध्यक्ष श्रीरामप्रसाद पोखरेलले प्रतिष्ठानले धर्म, संस्कृति, भाषा, कला साहित्यका क्षेत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका कार्यहरु सम्पन्न गरिसकेको जानकारी दिनुभयो । दर्शनशास्त्रको परिचयसँगै जरो किलो प्रतिष्ठान नेपालले आठवटा पुस्तक प्रकाशन गरिसकेको र नवौँ पुस्तक पनि प्रकाशनका क्रममा रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस