‘मेमोरी किङ’ अर्पण शर्माद्वारा स्मरण शक्तिमा विश्व कीर्तिमानको दाबी


झापाका युवा प्रतिभा अर्पण शर्माले स्मरण शक्तिमा नयाँ विश्व कीर्तिमान कायम गरेको दाबी गर्नुभएको छ । ‘मेमोरी किङ’ उपनामले परिचित उहाँले विसं २०७२ मा एक मिनेटमा ४२ वटा वस्तु शुङ्खलाबद्ध स्मरण गरेर पहिलो पटक गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउनु भएको थियो । त्यसपछि नवल पञ्जियारले त्यही विधामा ५४ वटा वस्तुको स्मरण गरेर शर्माको कीर्तिमान उछिनेका थिए । अहिले शर्माले पञ्जियारको कीर्तिमान तोड्दै एक मिनेटमा ८३ वस्तुको स्मरण गर्नमा सफलता पाएको दाबी प्रस्तुत गर्नुभएको छ ।

आज विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी उहाँले यही असार २६ गते नयाँ कीर्तिमान कायम गरेको बताउनुभयो । भद्रपुरको वीरेन्द्र नमूना माध्यमिक विद्यालयको सभाहलमा असार २६ गते नेपाल प्रहरीका निरीक्षक जीवनकुमार मैनाली, लायन्स क्लब अफ भद्रपुरका अध्यक्ष योगेन्द्र पौडेल लगायतको उपस्थिति रहेको औपचारिक कार्यक्रममा शर्माले एक मिनेटमा ८३ वटा वस्तुको स्मरणको प्रस्तुति गर्नुभएको थियो ।

सो कार्यक्रम प्रस्तुतिको भिडियोलाई प्रमाणको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा पठाइएको र छानबिनपछि गिनिजको बेलायतस्थित कार्यालयले प्रमाणित गर्ने चलन रहेको उहाँले जानकारी दिनुभयो । मेची बहुमुखी क्याम्पसबाट स्नातक उत्तीर्ण गर्नुभएको शर्मा ३२ वर्षको हुनुहुन्छ । गिनिज बुकमा नाम लेखाएपछि उहाँलाई नेपाल सरकारको युवा तथा खेलकूद मन्त्रालयले २०७२ सालमा राष्ट्रिय युवा पुरस्कार, सन् २०२० मा नेपाल जेसिजले स्वर्ण पदकसहित उत्कृष्ट युवा पुरस्कार र २०७४ सलामा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले वर्ष युवा पुरस्कारले सम्मानित गरिसकेका छन् ।

विसं २०४६ माघ २३ गते पिता मोहनप्रसाद कट्टेल र माता खिना शर्माको सन्तानको रुपमा झापाको भद्रपुर नगरपालिका –८ मा उहाँको जन्म भएको थियो । सानैदेखि तीक्ष्ण दिमाग भएको उहाँ हाल मेडिटेसन तथा ब्रेन ट्रेनरको पेशामा हुनुहुन्छ ।

यो पनि – सुदूरपश्चिमका शक्तिपीठमा दर्शनार्थीको घुइँचो

साउन महिना शुरुआत भएसँगै सुदूरपश्चिमका विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको छ । साउनलाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा ‘कालो महिना’ भनिन्छ । देवीदेवता बैकुण्ठमा शयन गर्ने अर्थात् सुत्ने भएकाले यस महिनालाई कालो महिना भन्ने गरिएको पण्डित दयाकृष्ण पन्तले बताउनुभयो । शयन गरेका बेला बत्ती बालेपछि देवीदेवताको रक्षा हुनाका साथै शत्रु नलाग्ने जनविश्वास रहिआएको छ । आजदेखि भक्तजनले बिहानै उठेर नुहाइधुवाइ गरी एक महिनासम्म व्रत बसी देवीदेवताका मन्दिरमा गई पूजापाठ गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहिआएको छ । यस महिनाभरी मन्दिरमा राती जाग्राम बस्ने, भजनकीर्तन गर्ने र बत्ती बाल्ने चलन रहिआएको छ ।

बसाइँ सरेका गएकाहरु इष्टकुल देउताको मन्दिरसम्म धूप बत्ती गर्नका लागि आउन थालेका छन् । शक्तिपीठमा पूजाआजका लागि एक हप्ताअघिदेखि नै माछा, मासु, लसुन र प्याज नखाएर शुद्ध रहनुपर्ने परम्परा रहेको छ । बैतडीका सातबैनी भगवती र सातभाई केदार देवताका मन्दिर सहित जिल्लाका त्रिपुरासुन्दरी, निङ्गलाशैनी, डिलाशैनी, मेलौली भगवती मन्दिर, रौलाकेदार, सिगासधुरा दोगडाकेदार, उदयदेव मन्दिरमा भक्तजन दर्शनका लागि पुग्ने गरेका छन् ।

जिल्लाको सुर्नया गाउँपालिकामा रहेको रौलाकेदार मन्दिर, सिगास मन्दिर, दशरथचन्द नगरपालिकामा रहेको ग्वाल्लेक केदार, जगन्नाथ मन्दिर, ईश्वरी गङ्गाधाम, सिगास गाउँपालिकामा रहेको सिगास मन्दिर, शिवनाथमा रहेको शिवनाथ मन्दिर, दोगडाकेदारमा रहेको दोगडाधाम, देउलेक केदार, भिटाकेदार मन्दिरमा श्रावणको महिनाभरी दर्शनार्थीले दर्शन गर्न गर्दछन् । साउन महिना शुरु भएसँगै दोगडाधाममा भक्तजनको घुइँचो लागेको पण्डित गणेशदत्त भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “साउन महिना शुरु भएयता दैनिक ३०० को हाराहारीमा दर्शनार्थी आउने गरेका छन् ।”

यस्तै हरियो महिनाका रुपमा चिनिने साउन महिनामा नारीले हरियो मेहन्दी, चुरापोते र सारी लगाएर मनाउने गर्दछन् । साउन महिनाभरी सोमबारे बत्र बसेर शिवालयमा पूजाआजा गरेमा अविवाहित नारीले शिव जस्तै पति पाउने र विवाहित नारीको श्रीमान्को आयु बढ्ने जनविश्वास रहिआएको छ । त्यस्तै साउनमा खिर पकाएर खाने तथा पराइघर गएका चेलीबेटीलाई मीठा खाद्यान्न परिकार पकाएर दिने गरिन्छ । यससँगै साउनको महिनादेखि चाडपर्व शुरु भएकोसमेत मानिन्छ । रासस

यो पनि – देवघाटमा बोलबम मेला नहुने

हरेकवर्ष पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने बोलबम मेला यसवर्ष नहुने भएको छ । कोभिड–१९ को जोखिमका कारण तनहँु, चितवन र नवलपुरको सङ्गमस्थल पवित्रधाम देवघाटमा यो वर्ष बोलबम मेला नहुने भएको हो । देवघाट क्षेत्र विकास समितिले यस वर्ष बोलबम मेला नगर्ने निर्णय गरेको समितिका कार्यकारी निर्देशक धीरेनबाबु घिमिरेले जानकारी दिनुभयो । कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेका कारण मेला नगर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

समितिले आयोजकको रुपमा बोलबम मेला नगरे पनि स्वास्थ्य मापदण्डको पालना गरेर स्नान गर्न आउने भक्तजनलाई भौतिक दूरी कायम गर्दै स्नान गर्न भने दिन सकिने घिमिरेले बताउनुभयो । “कोरोनाको जोखिम कायमै छ, तीर्थालु नआइदिए राम्रो हुन्छ, तर श्रद्धा र भक्तिका कारण पनि भक्तजन देवघाट आउनुहुन्छ,” उहाँले भन्नुभयो, “भक्तजन आएको खण्डमा केही व्यवस्था त गर्नैपर्छ ।” घिमिरेका अनुसार भक्तजनलाई नदीमा स्नान गर्न सकिने गरी व्यवस्था मिलाइएको छ । स्नान गर्दा नदीमा डुब्न सक्ने भएकाले उद्धारका लागि डुङ्गाको व्यवस्था गरिएको छ ।

साथै शान्तिसुरक्षाका लागि तीन वटै जिल्लाका सुरक्षा निकायलाई पनि जानकारी गराइएको उहाँले बताउनुभयो । समितिले गतवर्ष कोरोना जोखिमका कारण बोलबम मेला आयोजना गरेन । तर स्नान गर्न आउने भक्तजनको सङ्ख्या उल्लेख्य रह्यो । “अन्तिम सोमबार अलि धेरै भक्तजनको भीड हुन्छ, स्नान गर्न आउनेलाई दूरी कायम गर्नुहोस् भनेर सचेतना जगाउँछौ,” उहाँले भन्नुभयो ।

देवघाटमा हरेक वर्ष साउन महिनाको हरेक सोमबार बोलबम मेला लाग्ने गर्छ । मेला भर्न लाखौं भक्तजन देवघाट आउने गर्दछन् । हरेक सोमबार बोलबम मेला लाग्ने भए पनि साउन महिनाभर देवघाट मेलामय हुने गथ्र्याे । हरेक वर्ष साउन महिनामा देवघाटमा श्रावणी बोलबम मेला एउटा विशेष उत्सवको रुपमा मनाउने परम्पराको विकास हुँदै आएको छ । मुक्तिनाथबाट बगेर आएको कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आएको त्रिशूलीको सङ्गम बेणीमा बोलबमको अवसरमा स्नान गर्नाले भगवान शिव खुशी हुने र चर्मरोग निको हुने जनविश्वास छ ।

प्रतिक्रिया दिनुहोस