कांग्रेसमा ‘डिजिटल भोटिङ’ गर्न सकिने व्यवस्था


काठमाडौँ, ५ साउन । नेपाली कांग्रेसले कोरोना महामारी रहिरहेको अवस्थामा ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधिको विकास र सुनिश्चितता गरेको छ । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीले आवश्यक ठहर गरेर निर्णय गरेको अवस्थामा हालै उक्त प्रविधिको विकास गरेको हो । यस प्रविधिमार्फत सबै जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको विभागका सचिव दिनेश थापा मगरले जानकारी दिनुभयो ।

प्रविधिमार्फत पार्टीको आगामी १४औँ महाधिवेशनमै केन्द्र र सबै प्रदेशको निर्वाचनसम्बन्धी सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमताको विकास गरिएको छ । महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । विभागको हालै सम्पन्न बैठकले ‘डिजिटल भोटिङ’ को नमूना प्रदर्शनीको आन्तरिक कार्ययोजनासमेत तय गर्नाका साथै जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनीयरहरूको नेटवर्क तयार गरिएको छ । महाधिवेशनको वैचारिक प्रचार प्रारम्भ गर्नेलगायत अन्य निर्णय पनि गरिएको उहाँले बताउनुभयो ।

विभागले यसअघि नै ‘प्रविधि मैत्री अभियान’का क्रममा पार्टीको वेबसाइटलाई आधुनिकीकरण र क्रियाशील सदस्यताको अभिलेखीकरण (डाटा इन्ट्री) को काम सफलतापूर्वक सम्पन्न गरिसकेको छ । विभागले महाधिवेशनको प्रचारलाई विगतभन्दा भिन्न र जीवन्त शैलीमा अघि बढाउने र त्यसका लागि पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग आवश्यक समन्वय गर्ने निर्णयसमेत गरेको छ ।

महाधिवेशनसँग सम्बन्धित प्रतिनिधि चयन प्रक्रिया, उम्मेदवारीका आधारलगायत विधानको व्यवस्थालाई सरलीकरण गर्दै सबै क्रियाशील सदस्यबीच पु¥याउन आवश्यक दृष्टिगत गरी केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरेर सामग्री तयार गर्न संयोजनको जिम्मेवारी विभागका सचिव मगरलाई दिइएको छ । रासस

यो पनि – नेता नेपालसँग अध्यक्ष दाहाल र यादवको भेटवार्ता

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्मा विश्वासको मत पाएपछि मन्त्रिमण्डल विस्तारका सम्बन्धमा सत्ता साझेदार दलहरुबीचको छलफल बाक्लिएको छ । यसै सन्दर्भमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुभएको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।

नेता नेपाललाई भेट्न माओवादी अध्यक्ष दाहाल र जसपा अध्यक्ष यादव कोटेश्वरस्थित उहाँकै निवासमा पुग्नुभएको थियो । नेता नेपाल निवासमा आज बिहान भएको छलफलमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, मन्त्रिमण्डल विस्तारलगायत विषयमा विचार विमर्श भएको बुझिएको छ ।यद्यपि भेटका सम्बन्धमा दुबैतर्फका नेताले सञ्चार माध्यमलाई औपचारिक प्रतिक्रिया दिएका छैनन् । यता जसपाका कार्यकारिणी समितिका सदस्य मोहम्मद इस्तियाक राईले अध्यक्ष यादवले नेता नेपालसँग समसामयिक विषयमा कुराकानी गर्नुभएको र विस्तृत विवरण दिउँसो जानकारी गराउने बताउनुभयो ।

उहाँका अनुसार जसपाको संसदीय दलको बैठक मध्यान्ह सिंहदरबारमा बस्दैछ । उक्त बैठक बस्नुअघि अध्यक्ष यादवले दलीय परामर्श गर्नुभएको हो । सत्ता साझेदारको प्रमुख घटक माओवादी अध्यक्ष ‘प्रचण्ड’ र नेता नेपालबीच पनि करीब एक घण्टा कुराकानी भएको थियो । त्यसलगत्तै अध्यक्ष यादवले पनि छुट्टै नेता नेपालसँग छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस